बालेनको सचिवालयकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालको पनि देखियो बारबरासँगको सम्बन्ध
काठमाडौं– प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को सचिवालयमा प्रेस तथा अनुसन्धान विज्ञको जिम्मेवारी खोजपत्रकार, लेखक र प्राज्ञिक दिपा दाहाललाई दिइएको छ। पत्रकार दाहाल दुई दशकभन्दा लामो समयदेखि रेडियो, टेलिभिजन, छापा र अनलाइन क्षेत्रमा सक्रिय रहँदै आएकी छन्।
उनी विशेषगरी खोज पत्रकारितामा विज्ञ हुन् र सामाजिक न्याय, सुशासन र भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा गहिरो अनुभव राख्छिन्। संचार, अनुसन्धान र मिडियामा प्रत्यक्ष भूमिका निर्वाह गर्ने दाहालले शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेकी छिन्।
प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उनको नियुक्ति औपचारिक भएको छ। यस नियुक्तिले सरकारको निर्णय प्रक्रिया, सञ्चार रणनीति र अनुसन्धान कार्यलाई मजबुती प्रदान गर्ने अपेक्षा गरिएको छ।
दाहालसँग पत्रकारिता अध्यापनको अनुभव पनि छ। उनी विगत सात वर्षदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पद्यमकन्या बहुमुखी क्याम्पसमा पत्रकारिता, सञ्चार कौशल र नेतृत्व विकासका विषयमा प्रशिक्षकको रुपमा सक्रिय रहँदै आएकी छन्। उनका अध्ययन, अनुसन्धान र व्यावसायिक अनुभवले उनलाई सरकारी सञ्चार तथा अनुसन्धान कार्यमा सक्षम बनाउने विश्वास गरिएको छ।
विशेष चर्चा पाएको कुरा उनको बारबरा फाउण्डेशनसँगको सम्बन्ध हो। दाहालले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा प्रकाशित समाचारका लागि उक्त फाउण्डेशनबाट खोज पत्रकारिता पुरस्कार प्राप्त गरेकी थिइन्। पुरस्कार रकम ६ लाख रुपैयाँ रहेको थियो।
बारबरा फाउण्डेशन खास गरी भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनसँग जोडिने गरेको छ। त्यस्तो आन्दोलन र त्यसमा संलग्न एनजीओ ‘हामी नेपाल’ का अध्यक्ष सुदन गुरुङको गतिविधि राजनीतिक र सामाजिक रुपमा चर्चित रहँदा, दाहालको बारबरासँगको सम्बन्धले उनको नियुक्तिमा थप ध्यानाकर्षण सिर्जना गरेको छ।
आन्दोलनपछि बनेको अन्तरिम संविधान र सरकारी संरचनामा बारबरासँग सम्बन्धित व्यक्तिहरू मन्त्री तथा उच्च पदमा पुगिसकेका छन्।

