‘अलविदा’ लेखिएको सुसाइड नोट, सात जनामाथि दुर्ब्यवहारको आरोपः कामु व्यवस्थापक गम्भीर अवस्थामा भेटिईन

काठमाडौँ– ‘अलविदा’ शीर्षकसहित करिब ७ देखि ८ पेज लामो सुसाइड नोटसहित मकवानपुरको हेटौँडा बचत तथा ऋण सहकारी संस्थाभित्र कायममुकायम व्यवस्थापक बन्द कोठाभित्र गम्भीर अवस्थामा फेला परेपछि तनावको अवस्था सृजना भएको छ। नोटमा सहकारीभित्रका सात जना पदाधिकारी तथा कर्मचारीको नाम उल्लेख गर्दै लामो समयदेखि आफूलाई मानसिक रूपमा यातना, दबाब, गालीगलौज र चरित्र हत्या गरिएको आरोप छ।

शुक्रबार मध्याह्न करिब १२ बजे सहकारी कार्यालयभित्रै बन्द कोठामा उनी अचेत अवस्थामा भेटिएकी थिईन। ढोका फुटाएर उनको उद्धार गरिएको थियो। उनले विष सेवन गरेको जनाईएको छ। उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिए पनि अवस्था जटिल भएपछि चितवनको भरतपुरस्थित सीएमसी अस्पताल रिफर गरिएको थियो। घटनापछि उनी आत्महत्या प्रयासमा पुगेको आशंका गरिएको छ।

परिवारका अनुसार नोटमा सहकारीका निवर्तमान अध्यक्ष इन्द्रबहादुर बस्नेत, वर्तमान अध्यक्ष राजु वाइबा, राजन थापा, कृष्णप्रसाद दाहाल, कुलप्रसाद त्रिपाठी, नवराज खतिवडा र सुशील सुवेदीसहित सात जनाको नाम उल्लेख छ। नोटमा आफूलाई कार्यस्थलमै निरन्तर दबाब दिइएको, गैरकानुनी काम गर्न बाध्य पार्न खोजिएको, प्रशासनिक निर्णयमा हस्तक्षेप गरिएको र व्यक्तिगत रूपमा अपमान तथा धम्की दिइएको विवरण उल्लेख गरिएको परिवारको दाबी छ।

परिवारका सदस्यले पीडितले विष सेवन गर्नुअघि ‘अलविदा’ लेखेर अन्तिम अभिव्यक्ति छोडेको र त्यसपछि नै घटना भएको बताएका छन्। उनीहरूका अनुसार पीडितले घटनाअघि आफन्तलाई खबर गर्न संकेतसमेत गरेकी थिइन्। परिवारले यो घटनालाई सामान्य मानसिक तनाव मात्र नभई कार्यस्थलमा भएको दीर्घकालीन दुव्र्यवहारको परिणाम भएको दाबी गरेको छ।

यता सहकारीका वर्तमान अध्यक्ष राजु वाइबाले भने आरोप अस्वीकार गरेका छन्। उनका अनुसार कर्मचारीलाई तीनवटा जिम्मेवारी दिइएको थियो र प्रशासनिक पुनः व्यवस्थापन तथा सफ्टवेयर पहुँच सम्बन्धी निर्णय प्रक्रियामा असहमति उत्पन्न भएको थियो। कार्यसमितिको निर्णयअनुसार प्रशासन प्रमुखको जिम्मेवारी परिवर्तन गर्ने विषय मात्र विवाद बनेको र कुनै प्रकारको दुव्र्यवहार नभएको उनको दाबी छ। उनले उजुरीमा नाम मुछिएका अन्य व्यक्तिहरूलाई समेत अनावश्यक रूपमा आरोपित गरिएको बताएका छन्।

घटनापछि पीडित पक्षले प्रहरीको अनुसन्धान ढिलाइप्रति असन्तुष्टि जनाएको छ। उनीहरूले उजुरी दर्ता भए पनि आरोपितहरूलाई तत्काल नियन्त्रणमा लिएर सोधपुछ नगरिएको र राजनीतिक संरक्षणका कारण प्रक्रिया अघि नबढेको आरोप लगाएका छन्। तर जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी पुष्कर बोगटीले भने पीडितको स्वास्थ्य अवस्था सामान्य भएपछि दुवै पक्षसँग छलफल गरी अनुसन्धान अघि बढाइने बताएका छन्।

हेटौँडा बचत तथा ऋण सहकारी संस्था जिल्लाकै ठूलो सहकारीमध्ये एक हो। जहाँ ७ हजारभन्दा बढी सेयर सदस्य आबद्ध छन्। संस्थाको आर्थिक विवरणअनुसार ७३ करोड रुपैयाँभन्दा बढी कुल कारोबार, ५५ करोडभन्दा बढी कर्जा लगानी र ५ करोडभन्दा बढी सेयर पुँजी रहेको देखिन्छ। तर पछिल्ला वर्षदेखि संस्थाभित्र पदाधिकारीबीच निरन्तर विवाद, नेतृत्व संघर्ष र आर्थिक पारदर्शितामाथि प्रश्न उठ्दै आएको छ।

सहकारीभित्र करिब पाँच वर्षअघि खरिद गरिएको एटीएम मेसिनको विषयमा समेत अनियमितताको आरोप लाग्दै आएको छ, जुन अहिले प्रयोगविहीन अवस्थामा रहेको बताइन्छ। यही आर्थिक हिसाबकिताब, सफ्टवेयर पहुँच र प्रशासनिक नियन्त्रणको विवादले पछिल्ला दिनमा संस्थाभित्र शक्ति संघर्ष चर्किएको र त्यसको असर शुक्रबारको घटनासम्म पुगेको अनुमान गरिएको छ।

अहिले ‘अलविदा’ लेखिएको सुसाइड नोट, त्यसमा उल्लेख गरिएका आरोप र सहकारी नेतृत्वबीचको प्रतिआरोपले घटनालाई थप जटिल बनाएको छ। उपचाररत कर्मचारीको अवस्था र प्रहरी अनुसन्धानको नतिजाले मात्रै यो विवादको वास्तविकता स्पष्ट पार्ने देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट