‘माचि..ने’ भन्दै सर्वसाधारणलाई अपशब्द प्रयोग गरेपछि सिरहामा सशस्त्रका डीएसपी भाईरल, कारवाहीको दायरामा

लहान– सार्वजनिक व्यवहारमै मर्यादा गुमाएर सर्वसाधारणलाई अपशब्द प्रयोग गरेको आरोपमा सिरहामा सशस्त्र प्रहरी बलका एक उच्च अधिकृत कारबाहीको दायरामा तानिएका छन्। सशस्त्र प्रहरी बल माडर, सिरहाअन्तर्गत बरियारपट्टी क्षेत्रमा कार्यरत डीएसपी विजय हमालले स्थानीयलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

हमाललाई तत्काल बर्दिबासस्थित प्रदेश कार्यालय तानिएको छ। घटना हुलाकी राजमार्गअन्तर्गत पर्ने बरियारपट्टी सीमा क्षेत्रमा आइतबार बिहान भएको थियो, जहाँ सशस्त्र प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको डिजेल नियन्त्रणमा लिएको थियो। सोही क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा पुगेका डीएसपी हमालले स्थानीय सर्वसाधारणमाथि अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौज गरेको दृश्य सार्वजनिक भएको थियो।

भिडियोमा ‘माचि..ने’ भन्दै गाली गरेको र ‘देखलेङ्गे’ भन्दै धम्क्याउँदै हिडेको देखिन्छ। यो व्यवहारले प्रहरी संगठनको अनुशासन र सार्वजनिक छविमाथि गम्भीर प्रश्न उठाएको छ। सार्वजनिक रूपमा तीव्र आलोचना भएपछि सशस्त्र प्रहरी बलले तत्काल हमाललाई बर्दिबास स्थित सशस्त्र प्रहरी बल मधेश प्रदेश बाहिनी–२ महोत्तरीमा तानेको हो।

सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले घटनाबारे औपचारिक रूपमा छानबिन सुरु गरिएको पुष्टि गर्दै तथ्यका आधारमा आवश्यक कारबाही गरिने बताएका छन्। उनका अनुसार संगठनले कुनै पनि प्रकारको अनुशासनहीनता सहन नगर्ने स्पष्ट नीति अपनाएको छ।

यो घटनाले सुरक्षा निकायका जिम्मेवार अधिकारीहरूले सार्वजनिक व्यवहारमा कस्तो सयंम र जिम्मेवारी देखाउनुपर्छ भन्ने विषयमा पुनः गम्भीर बहस जन्माएको छ। सीमावर्ती क्षेत्रमा भइरहेको अवैध कारोबार नियन्त्रण गर्नु राज्यको दायित्व भए पनि त्यसक्रममा सर्वसाधारणमाथि गरिने व्यवहार मर्यादित र कानुनी दायराभित्र हुनुपर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट