‘स्थिरता कहिले आउँछ?’ भन्ने प्रश्नमा प्रचण्ड आक्रोशित, धारेहात लगाउँदै पत्रकारलाई दिए जवाफ – ‘मरेपछि…’
काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्रकारले राजनीतिक स्थिरता र दलगत सहकार्यबारे सोधेको प्रश्नमा आक्रोशित भएका छन्। काठमाडौँमा सोमबार आयोजित ‘बोत्लेका १५ जना शहिदहरू’ विषयक विचार गोष्ठीमा सहभागी हुन जाने क्रममा उनले आफूलाई निरन्तर पछ्याउँदै प्रश्न गरिरहेका एक पत्रकार (युट्युबर)लाई अन्ततः ‘मरेपछि…’ भन्दै प्रतिक्रिया दिएका हुन्।
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रचण्डको अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्चा पाएको छ। भिडियोमा उनी कार्यक्रमस्थलतर्फ पैदल जाँदै गर्दा पत्रकारले लगातार राजनीतिक सहकार्य र दल परिवर्तनको विषयमा प्रश्न गरेको देखिन्छ।
पत्रकारले सुरुमा, ‘तपाईं अहिले नयाँ सहकार्य गर्दै हुनुहुन्छ, कस्तो भइरहेको छ?’ भन्ने प्रश्न गरेका थिए। त्यसको जवाफमा प्रचण्डले पछाडि नफर्कीकन छोटो प्रतिक्रिया दिँदै भने, ‘हामी धेरैसँग सहकार्य गर्दैछौं।’
त्यसपछि पत्रकारले फेरि प्रश्न गर्दै, ‘तर तपाईंले कहिले कांग्रेस, कहिले एमालेसँग सहकार्य गर्नुहुन्छ, यसको विषयमा भन्दिनुस् न,’ भनेका थिए। प्रचण्डले त्यस प्रश्नको कुनै प्रतिक्रिया नदिई अघि बढिरहे।
कार्यक्रमस्थलभित्र प्रवेश गरिसकेपछि पनि पत्रकारले मोबाइल अगाडि राख्दै अर्को प्रश्न दोहोर्याए, ‘प्रचण्डजी, सुन्नुस् न। जहिले पनि तपाईं एमाले, कांग्रेस, माओवादीमा जानुहुन्छ। तपाईंको स्थिरता चाहिँ कहिले हुन्छ प्रचण्डजी?’
त्यसपछि प्रचण्ड एकाएक पछाडि फर्किए धार रात लगाउँदै आक्रोशित भएर छोटो जवाफ दिँदै भने, ‘मरेपछि…।’ त्यसलगत्तै उनी कार्यक्रमस्थलतर्फ अघि बढेका थिए।
उक्त घटना उनी ‘बोत्लेका १५ जना शहिदहरू’ विषयक विचार गोष्ठीमा सहभागी हुन जाने क्रममा भएको हो। हालसम्म यस घटनाबारे प्रचण्ड वा उनको सचिवालयले कुनै औपचारिक स्पष्टीकरण सार्वजनिक गरेका छैनन्। पत्रकारले सोधेको प्रश्नप्रति आएको उनको प्रतिक्रियाले भने सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा विभिन्न टिप्पणीहरू जन्माएको छ।
प्रकाशित भिडियोमा देखिएको संवादबाहेक घटनासम्बन्धी थप आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन। त्यसैले घटनाको मूल्याङ्कन उपलब्ध दृश्य सामग्री र सम्बन्धित पक्षबाट सार्वजनिक अभिव्यक्तिका आधारमै सीमित छ।

