सप्तरीमा तीव्र गतिको मोटरसाइकल कल्भर्टमा ठोक्किँदा दुईको मृत्यु
राजविराज– सप्तरीको महादेवा गाउँपालिका–१, चिम्टीस्थित हुलाकी सडकखण्डमा सोमबार राति तीव्र गतिमा गुडिरहेको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा अत्यधिक गति (ओभरस्पिड) का कारण मोटरसाइकल कल्भर्टमा ठोक्किएर दुर्घटना भएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी हेमराज घिमिरेका अनुसार पकरीबाट बथनाहातर्फ जाँदै गरेको स ०१–००६–प २४९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारको कल्भर्टमा ठोक्किएको थियो। ठक्करपछि मोटरसाइकल करिब १५ फिट तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक महादेवा गाउँपालिका–१ निवासी ३५ वर्षीय सन्तोष राम र पछाडि सवार स्थानीय ४५ वर्षीय शंकर राम गम्भीर घाइते भएका थिए। दुवैलाई तत्काल उपचारका लागि राजविराज स्थित एक निजी अस्पतालमा लगिएको थियो।
प्रहरीका अनुसार अस्पताल पुर्याउँदासम्म चालक सन्तोष रामको मृत्यु भइसकेको थियो। गम्भीर अवस्थाका शंकर रामलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको भए पनि उपचारकै क्रममा मध्यराति उनको पनि मृत्यु भएको डीएसपी घिमिरेले जानकारी दिए।
प्रहरीले दुर्घटनाको प्रारम्भिक कारण अत्यधिक गति रहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
पछिल्ला दिनमा हुलाकी सडकखण्डमा तीव्र गति र लापरबाहीपूर्ण सवारी सञ्चालनका कारण दुर्घटनाका घटना बढ्दै गएकाले ट्राफिक नियमको पालना र सुरक्षित गतिमा सवारी सञ्चालन गर्न प्रहरीले पुनः आग्रह गरेको छ।

