राजुनाथ पाण्डेलाई महेश बस्नेतको कटाक्षः ‘जनताको आँसु झार्नेहरू अहिले आफ्नै आलोचनामा भकानिए’
काठमाडौं — नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेमाथि तीखा टिप्पणी गर्दै अरूलाई पीडा दिँदा कठोर देखिने तर आफ्नै आलोचना हुँदा भावुक बन्ने ‘दोहोरो चरित्र’ प्रदर्शन गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा पाण्डे आँसु पुछिरहेको तस्बिर सार्वजनिक गर्दै बस्नेतले जनताले अब व्यक्तिको अभिनयभन्दा काम र व्यवहारका आधारमा मूल्याङ्कन गर्नुपर्ने बताएका हुन्।
बस्नेतले हजारौँ गरिब र सुकुम्बासीलाई घरबारविहीन बनाउँदा उनीहरूको आँखामा आँसु झार्नेहरू अहिले सामान्य प्रश्न उठ्दा नै भावुक बनेर ‘आँसुको नाटक’ गरिरहेको दाबी गरेका छन्।
उनले अरूलाई पीडा दिँदा कठोर र शक्तिशाली शासकको छवि प्रस्तुत गर्ने तर आफू आलोचित हुँदा भकानिने प्रवृत्ति स्वीकार्य नभएको उल्लेख गर्दै बालेन्द्र शाह (बालेन) को नाम र लोकप्रियताको आडमा आफूलाई सफल शासकका रूपमा प्रस्तुत गर्न खोजिएको आरोप पनि लगाए।
बस्नेतले यस्ता व्यक्तिलाई समयमै जनताले चिन्नुपर्ने भन्दै गोहीका आँसु र भावनात्मक प्रस्तुतिबाट प्रभावित नहुन आग्रह गरेका छन्। उनका अनुसार शासनको वास्तविक परीक्षा आँसु बगाउने क्षमताले नभई जनताको आँसु पुछ्ने क्षमताले हुने भएकाले अब जनताले व्यक्तिको अभिनय, भावुकता वा नाटक होइन, काम, क्षमता र जनताप्रतिको व्यवहारका आधारमा मूल्याङ्कन गर्नुपर्ने समय आएको छ।
बस्नेतको टिप्पणी गोकर्णेश्वर क्षेत्रमा पर्ने नेपाल ट्रस्टको जग्गामा रहेको नेपाली सेनाको विपद् व्यवस्थापन तालिम केन्द्रको पर्खाल भत्काउने विषयलाई लिएर सांसद पाण्डे र खटिएका सैनिक अधिकारीबीच भएको भनाभनको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आएको हो।
उक्त घटनामा माकलबारीबाट गोकर्णेश्वर मन्दिरतर्फ जाने सडक विस्तारका क्रममा काठमाडौं क्षेत्र नम्बर–३ का सांसद पाण्डेसहित स्थानीय जनप्रतिनिधि डोजरसहित पुगेका थिए। त्यसक्रममा सेनाको पर्खाल भत्काउने विषयमा विवाद उत्पन्न भएको भिडियो सार्वजनिक भएपछि पाण्डेमाथि सार्वजनिक रूपमा आलोचना हुँदै आएको छ।
यस विषयमा सांसद राजुनाथ पाण्डेको विस्तृत प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

