भ्याक्सिनेटरको पारिश्रमिकबाट २० प्रतिशत ‘कमिसन’ लिएको आरोपमा सप्तरीको भेटेरिनरी कार्यालय प्रमुख र चालकविरुद्ध मुद्दा

राजविराज — भ्याक्सिनेटरहरूले कानुनबमोजिम पाउनुपर्ने पारिश्रमिक रकम भुक्तानी दिएबापत २० प्रतिशत ‘कमिसन’ स्वरूप घुस लिएको आरोपमा सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा. राम पवित्र दास र सवारी चालक भोगेन्द्र यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले बुधबार सार्वजनिक गरेको विवरणअनुसार डा. दास र यादवले पशु खोप कार्यक्रम सम्पन्न गरेका भ्याक्सिनेटरहरूलाई भुक्तानी उपलब्ध गराइदिने नाममा कम्तीमा २० प्रतिशत रकम घुसस्वरूप माग्दै बार्गेनिङ गरेको तथा सेवाग्राहीलाई बाध्यतामा पारी १ लाख ३२ हजार ३५० घुस लिएको आरोप लगाइएको छ।

आयोगका अनुसार उक्त विषयमा प्राप्त सूचना तथा उजुरीका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो। त्यसपछि गरिएको अनुसन्धानमा कार्यालय प्रमुख र चालकबीच मिलेमतो तथा योजनाअनुसार सेवाग्राहीसँग अवैध रकम असुलिएको देखिएको आयोगको निष्कर्ष छ।

अनुसन्धानबाट कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका डा. दासले आफ्नो कार्यालयबाट पशु खोप कार्यक्रम सञ्चालन गर्न नियुक्त गरिएका भ्याक्सिनेटरहरूको कानुनी पारिश्रमिक भुक्तानी गराइदिने प्रक्रियालाई प्रभावमा पार्दै घुस मागेको र त्यसमा चालक भोगेन्द्र यादवको समेत संलग्नता रहेको अख्तियारले जनाएको छ।

आयोगले दुवै जनाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (१) को देहाय (ग) अन्तर्गतको कसुर भएको ठहर गर्दै रु. १ लाख ३२ हजार ३५० बिगो कायम गरी सोही ऐनबमोजिम कैद तथा बिगोबराबर जरिवानाको मागदाबी सहित बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

यो मुद्दामा अदालतबाट अन्तिम फैसला आउन बाँकी रहेकाले आरोपितहरू कानुनी रूपमा दोषी ठहर भइसकेका छैनन्। अख्तियारले भने अनुसन्धानबाट संकलित प्रमाणका आधारमा अभियोजन अघि बढाएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट