मल खोज्दै सीमापार पुगेका किसान दाजुभाइ ३८ दिनपछि जेलमुक्तः हातमा मल होइन, हत्कडी र तारिख पत्र
सर्लाही — खेतमा धान र उखु जोगाउन दुई बोरा युरिया मल किन्न सीमापारि पुगेका सर्लाहीका दुई किसान दाजुभाइको हातमा मल होइन, भारतीय जेलको हत्कडी पर्यो। असार १७ गते पक्राउ परेका बलरा–५ का ६० वर्ष आसपासका नागेन्द्रप्रसाद सिंह र ५५ वर्षीय सुरेशप्रसाद सिंहले ३८ दिन भारतीय जेलमा बिताएपछि शुक्रबार राति मात्रै घर फर्किन पाए।
उनीहरू अहिले पनि अदालतको तारिखका लागि भारत धाउनुपर्ने कानुनी झमेलाबाट मुक्त भएका छैनन्। शुक्रबार राति करिब साढे ८ बजे भारतको सीतामढीस्थित डुमरा जेलको ढोका खुल्दा कैदीहरू एकपछि अर्को गर्दै बाहिरिए। त्यही भीडमा आफ्ना श्रीमान् सुरेशको प्रतीक्षामा थिइन् रेनु सिंह। जेलबाट बाहिर निस्किएका सुरेशको अनुहारमा रिहाइको खुसीभन्दा लामो जेल बसाइको थकान र आक्रोश बढी देखिन्थ्यो।
आफन्तहरूमाझ उनले आफूहरूलाई तस्करीको आरोपमा फसाइएको दाबी गर्दै प्रश्न गरे, ‘यसको इन्साफ कसले गर्ने?’ सुरेशकी श्रीमती रेनुले पनि घटनाप्रति आक्रोश पोखिन्। उनका अनुसार मलको अभावका कारण सीमापारि पुगेका किसानलाई नै तस्करको आरोप लगाएर जेल हालिएको हो।
३८ दिनपछि घर फर्किएका सुरेश शनिबार बिहान भने फेरि आफ्नै खेत हेर्न पुगे। बलरा–५ अर्नाहास्थित खेतमा उनी र उनका दाजु नागेन्द्रले आधा–आधा भागमा उखु र धान रोपेका छन्। ढिलो गरी रोपाइँ सकिएको खेतमा अझै युरिया मल हाल्न नपाएको उनीहरूको गुनासो छ।
‘हामीलाई तस्कर होइन, किसान भनेर बुझिदिनुस्,’ सुरेशले भने, ‘सरकारले समयमा मल दिएको भए भारतसम्म जानुपर्ने थिएन। दुई बोरा मलका लागि ३८ दिन जेल बस्नुप¥यो। अब एक बोरा मलका लागि कसैले पनि जेल बस्नु नपरोस्।’
यो घटना असारको दोस्रो साता नेपालमा मलको अभाव चुलिएका बेला सुरु भएको थियो। असार १७ गते धान रोपाइँका लागि मल खोज्दै सिंह दाजुभाइ भारतको सोनवर्षा बजार पुगेका थिए। उनीहरूले भारतमै नागरिकता प्रमाणित गर्ने आधार कार्ड भएका व्यक्तिबाट प्रतिबोरा ४ सय भारतीय रुपैयाँमा दुई बोरा मल किनेको बताएका छन्।
भारतमा मल वितरणमा कोटा प्रणाली लागू रहेकाले आधार कार्ड भएका स्थानीयबाहेक अन्यले मल किन्न नपाउने व्यवस्था छ। यही क्रममा नेपाल फर्किंदै गरेका सिंह दाजुभाइलाई सीमा स्तम्भ नम्बर ३२३÷२९ नजिक भारतीय सशस्त्र सीमा बल (एसएसबी) को ५१औँ वाहिनीको गस्ती टोलीले नियन्त्रणमा लिएको उनीहरूको भनाइ छ।
सिंह दाजुभाइको आरोप भने त्यतिमै सीमित छैन। उनीहरूका अनुसार आफूहरूसँग रहेको दुई बोरा मलसँगै सीमाक्षेत्रको पोस्टमा पहिले नै नियन्त्रणमा लिइएका थप ६ बोरा मल जोडेर जम्मा आठ बोरा बनाइएको थियो। त्यसपछि आफूहरूलाई आठ बोरा मल तस्करी गरेको आरोप लगाइएको उनीहरूको दाबी छ।
‘हामीसँग दुई बोरा मात्रै थियो। बाँकी छ बोरा पहिल्यै समातेर राखिएको रहेछ,’ सुरेशले भने, ‘त्यसमध्ये छ बोरा डीएपी एक महिलाको भएको सुनिएको थियो। त्यही मलसमेत राखेर हाम्रो फोटो खिचियो र आठ बोरा तस्करी गरेको मुद्दा लगाइयो।’
भारतीय पक्षले भने फरक विवरण प्रस्तुत गरेको छ। सोनवर्षा प्रखण्ड कृषि पदाधिकारी विश्वास भाजनले सोनवर्षा थानामा दायर गरेको एफआईआरमा दुई जनाले साइकलमा दुई बोरा र अन्य छ जनाले टाउकोमा बोकेको मल बरामद भएको उल्लेख छ। एफआईआरअनुसार टाउकोमा मल बोकेका व्यक्तिहरूले मल छाडेर भागेका थिए।
तर ती व्यक्ति को थिए, उनीहरूको परिचय के थियो र उनीहरू कहाँ गए भन्ने विवरण एफआईआरमा खुलाइएको छैन। बरामद आठै बोरा मल सिंह दाजुभाइसँग सम्बन्धित रहेको दाबी गर्दै उनीहरूविरुद्ध गैरकानुनी तस्करीको मुद्दा अघि बढाइएको थियो।
असार १७ गते एफआईआर दर्ता भएपछि भोलिपल्ट असार १८ गते उनीहरूलाई सीतामढीस्थित डुमरा जेल पठाइएको थियो। नागेन्द्रले आफूहरू खेतका लागि मल ल्याउन साइकलमा गएको र थप छ बोरा कसको थियो भन्नेबारे आफूहरूलाई कुनै जानकारी नभएको बताए। ‘हामी आफ्नो खेतका लागि मल ल्याउँदै थियौँ। अरू छ बोरा कसको थियो, कसले त्यहाँ छाड्यो, हामीलाई थाहा छैन,’ उनले भने, ‘सम्पूर्ण दोष हामीमाथि थोपरेर झुटो मुद्दा लगाइयो।’
सिंह दाजुभाइले एसएसबी र स्थानीय कृषि अधिकारीले आफूहरूमाथि झुटो मुद्दा लगाएको आरोप लगाएका छन्। उनीहरूले एसएसबीको ५१औँ वाहिनीका जोगिन्दर शर्माले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको भनिएको स्वीकारोक्तिसमेत अस्वीकार गरेका छन्।
उक्त प्रतिवेदनमा सिंह दाजुभाइले सोनवर्षाका पसलबाट मल खरिद गरेर नेपाल लैजाने र त्यसबापत पसल सञ्चालकबाट २–३ सय रुपैयाँसम्म लिने गरेको स्वीकार गरेको उल्लेख छ। तर जेलबाट छुटेपछि दुवै दाजुभाइले यस्तो कुनै बयान आफूहरूले नदिएको दाबी गरेका छन्।उनीहरूका अनुसार सुरक्षाकर्मीले आफूहरूले नबोलेका कुरा बयानमा लेखेर सहीछाप गराएका थिए।
एफआईआरमा जफत गरिएको भनिएको मल सोनवर्षा बजारस्थित न्यु कुशवाहा बीज भण्डारको जिम्मा लगाइएको उल्लेख छ। जेलमा बिताएका ३८ दिनले भने उनीहरूको मानसिक अवस्था नराम्ररी प्रभावित भएको छ। सुरेशका अनुसार जेलभित्रको खाना निकै सामान्य थियो। रोटी तथा भिण्डी र घिरौलाको तरकारी दिने गरिएको उनले बताए।
‘जेलमा खाना र अरू कुराबारे बोल्ने अवस्था पनि हुँदैन रहेछ,’ उनले भने, ‘हामी त झन् नेपाली थियौँ।’ मुद्दाबाट तत्कालका लागि जेलमुक्त भए पनि दाजुभाइको कानुनी झन्झट सकिएको छैन। सीतामढीस्थित डुमरा व्यवहार अदालतका मुख्य न्यायाधीश अखिलेशकुमार झाको एकल इजलासले बुधबार दुवैलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर अदालती प्रक्रिया पूरा गर्न समय लाग्दा उनीहरू शुक्रबार राति मात्रै जेलबाट बाहिरिन पाए।
उनीहरूको जमानत भारतीय सम्धी बालेश्वर सिंह र तपेश्वर सिंह बसेपछि रिहाइ सम्भव भएको हो। अब मुद्दाको तारिखका लागि उनीहरूलाई समय–समयमा भारत जानुपर्नेछ। यस घटनालाई सीमावर्ती क्षेत्रमा किसानले भोगिरहेको दोहोरो समस्याको उदाहरणका रूपमा हेरिएको छ। एकातिर खेतीको मुख्य समयमा नेपालमा मलको अभाव हुन्छ, अर्कोतिर सीमापारिबाट घरायसी वा खेती प्रयोजनका लागि थोरै परिमाणमा सामान ल्याउँदा पनि सुरक्षाकर्मीको कारबाहीमा पर्ने जोखिम सीमावर्ती बासिन्दाले भोग्दै आएका छन्।
बलरा–५ का वडाध्यक्ष मनोज मेहताका अनुसार मल अभाव र सीमाक्षेत्रमा हुने कडाइको बीचमा सामान्य किसान सबैभन्दा बढी प्रभावित भइरहेका छन्। राज्यले यस विषयमा गम्भीरता नदेखाए सिंह दाजुभाइको जस्तै घटना दोहोरिन सक्ने उनको भनाइ छ।
सिंह दाजुभाइको मुद्दामा भारततर्फबाट पैरवी गरेका अधिवक्ता किरणकुमार चौधरीले पनि सीमावर्ती क्षेत्रमा साना परिमाणका सामान ओसारपसार गर्ने स्थानीयमाथि कडाइ बढेको बताए। उनका अनुसार दुई देशबीच ‘रोटीबेटी’को सम्बन्धको चर्चा हुने गरे पनि सीमावर्ती जनजीवनमा त्यसको व्यवहारिक अनुभूति कमजोर हुँदै गएको छ।
‘सीमाक्षेत्रका स्थानीयले सय रुपैयाँको सामान लैजाँदा पनि खोस्ने र दुःख दिने अवस्था छ,’ चौधरीले भने, ‘मलको विषयमा पक्राउ परेका सिंह दाजुभाइ पनि त्यही परिस्थितिको परिणाम हुन्। आगामी दिनमा सुधार आवश्यक छ।’ सिंह दाजुभाइको कथा एउटा मुद्दाको कानुनी परिणाममा सीमित छैन। उनीहरू राज्यका गोदाम र सहकारीका ढोका चहार्दा–चहार्दै मल नपाएपछि सीमापारिको बजार पुगेका थिए। खेतमा मल हाल्ने सामान्य आवश्यकता उनीहरूलाई भारतीय सुरक्षाकर्मीको नियन्त्रण, एफआईआर, जेल र अदालतसम्म पु¥याउने कारण बन्यो।
धान रोपाइँका लागि खेत तयार थियो। मलको जोहो गर्न निस्किएका दुई किसानको गन्तव्य खेतका गरा हुनुपर्ने थियो। तर उनीहरूको बाटो डुमरा जेलतर्फ मोडियो। ३८ दिनपछि घर फर्किएका उनीहरू अहिले फेरि त्यही खेतमा छन—तर हातमा मल छैन, बरु अदालतको तारिख पत्र छ र मनमा एउटै डर छ—खेती गर्न चाहने किसान फेरि मल खोज्दै सीमापारि जाँदा उसको गन्तव्य खेत हुन्छ कि जेल ?

