गरिमा हत्या प्रकरणमा नाबालकको ‘गोप्य बयान’ कसरी भयो सार्वजनिक?
काठमाडौँ— तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका एक नाबालकको गोप्य भनिएको बयानको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धानभन्दा बाहिर अर्को गम्भीर प्रश्न उभिएको छ— प्रहरी र स्वास्थ्यकर्मीको निगरानीमा रहेको नाबालकको संवेदनशील बयान रेकर्ड भएर सार्वजनिक हुने अवस्था कसरी आयो?
भिडियोमा नाबालकले घटनामा आफू मात्र नभई प्रदीप खड्का नाम गरेका व्यक्तिको समेत संलग्नता रहेको दाबी गरेका छन्। यही दाबीपछि प्रहरीले खड्कालाई समेत पक्राउ गरेको जनाएको छ। तर भिडियो सार्वजनिक हुनु स्वयंमा अनुसन्धानको गोपनीयता, नाबालकको संरक्षण र कानुनी प्रक्रियाको पालना सम्बन्धमा विवादको विषय बनेको छ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा भदौ २ गते मृत फेला परेकी थिइन्। घरबाट हराएको तीन दिनपछि बालिकाको शव भेटिएको घटनामा प्रहरीले बलात्कारपछि हत्या भएको निष्कर्षसहित अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका एक नाबालकसँग कलैया अस्पतालमा गरिएको कुराकानीको भिडियो आइतबार साँझदेखि सामाजिक सञ्जालमा फैलिएको हो। फेसबुक, एक्स, टिकटक र रेडिटलगायतका प्लेटफर्ममा पुगेको भिडियोमा नाबालकले घटनाको विवरण सुनाइरहेको देखिन्छ। भिडियोमा प्रहरी कर्मचारी तथा अस्पतालका कर्मचारीसमेत देखिन्छन्।
सबैभन्दा गम्भीर पक्ष के हो भने भिडियोमा देखिएका नाबालक अनुसन्धानको क्रममा प्रहरी नियन्त्रणमा रहेका व्यक्ति हुन्। त्यसैले उनको पहिचान खुल्ने वा बयान सार्वजनिक हुने सामग्री कसरी बाहिरियो भन्ने प्रश्न अहिले प्रहरीको आन्तरिक छानबिनको केन्द्रमा पुगेको छ।
अस्पतालको ओसीएमसी कक्षबाट बाहिरियो भिडियो
उपलब्ध विवरणअनुसार पक्राउ परेका नाबालकलाई घटनाकै दिन सिमरास्थित इलाका प्रहरी कार्यालयमा सोधपुछ गरेपछि स्वास्थ्य परीक्षणका लागि कलैया अस्पताल लगिएको थियो। अस्पतालको लैङ्गिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा उनको स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्श गरिएको बताइएको छ।
त्यही क्रममा चिकित्सकले नाबालकसँग घटनासम्बन्धी कुराकानी गरेको भिडियो रेकर्ड भएको बताइएको छ। भिडियो सार्वजनिक गर्ने व्यक्ति भने अहिलेसम्म खुलेका छैनन्। बाराका एसपी नरेन्द्र कुँवरले भिडियोको विषयमा अनुसन्धान भइरहेको बताएका छन्। उनका अनुसार भिडियो कलैया अस्पतालको जस्तो देखिए पनि कसले र कसरी बाहिर ल्यायो भन्ने विषयमा प्रहरीले बुझिरहेको छ।
‘भिडियो कलैया अस्पतालको जस्तो देखिन्छ, हामी बुझ्दै छौँ,’ कुँवरले भनेका छन्। कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राहुल मण्डलले पनि भिडियो सार्वजनिक भएको विषयमा अस्पतालले छानबिन सुरु गरेको बताएका छन्। प्रहरीसँग समन्वय भइरहेको र अस्पतालको तर्फबाट कुनै कमजोरी भएको भए अनुसन्धानमा सहयोग गर्ने उनको भनाइ छ। घटनाबारे बुझ्न अस्पतालमा आकस्मिक बैठकसमेत बोलाइएको उनले बताएका छन्।
ओसीएमसी कक्षमा प्रहरी र अस्पतालका कर्मचारीबाहेक अन्य व्यक्तिलाई प्रवेशको अनुमति नहुने बताइएको छ। यसले भिडियो खिच्ने र बाहिर पु¥याउने व्यक्ति तथा प्रक्रियाबारे थप प्रश्न खडा गरेको छ।
भिडियोमा के छ?
सामाजिक सञ्जालमा फैलिएको भिडियोमा हातमा हत्कडी लगाइएका नाबालकसँग घटनाबारे प्रश्नोत्तर भइरहेको देखिन्छ। भिडियोमा प्रहरी कर्मचारीसमेत उपस्थित छन्। एक सिभिल पोसाकमा देखिएका व्यक्तिले मोबाइलबाट दृश्य खिचिरहेको देखिन्छ।
सोधपुछका क्रममा नाबालकले घटनामा अर्को व्यक्ति पनि संलग्न रहेको दाबी गरेका छन्। उनले प्रदीप खड्का नाम गरेका व्यक्तिले आफूलाई घटनाका लागि उक्साएको र योजनामा समेत संलग्न रहेको बताएका छन्।
बालकका अनुसार सिमरामा बस्ने प्रदीपलाई उनले गाडीमा लिएर आएको र बालिकालाई चकलेटको प्रलोभन देखाएर घरतर्फ लगिएको थियो। त्यसपछि घटनामा दुवै जनाको संलग्नता रहेको उनको दाबी भिडियोमा देखिन्छ।
नाबालकले बालिका अचेत भएपछि प्रदीप त्यहाँबाट भागेको र आफूले बालिकालाई घरमै रहेको डोरीले बाँधेर तन्नामा बेरेपछि ढोका बन्द गरी त्यहाँबाट हिँडेको बताएका छन्। तर अनुसन्धानकै क्रममा रहेका नाबालकको भिडियोमा व्यक्त भनाइलाई अदालतबाट प्रमाणित तथ्यका रूपमा लिन मिल्दैन। उनको बयान अनुसन्धानको एउटा पाटो हुनसक्छ र त्यसको सत्यता अन्य प्रमाणबाट परीक्षण हुन बाँकी छ।
प्रदीपको नाम सार्वजनिक भएपछि पक्राउ
भिडियोमा नाबालकले प्रदीप खड्काको नाम लिएपछि अनुसन्धान नयाँ दिशातर्फ मोडिएको देखिन्छ। यसअघि प्रहरीले सार्वजनिक रूपमा घटनामा प्रदीप खड्काको नाम उल्लेख गरेको थिएन।
पछिल्लो विवरणअनुसार प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका घर भएका प्रदीप खड्कालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी मिनबहादुर घलेका अनुसार गरिमा हत्या प्रकरणमा हालसम्म प्रदीप खड्कासहित नौ जना नियन्त्रणमा लिइएका छन्।
यसअघि घटनामा नाबालकसहित २४ वर्षीय प्रोग्रेस चौधरी तथा उनका परिवारका सदस्यहरूलाई समेत प्रहरीले नियन्त्रणमा लिएको बताइएको थियो। प्रहरीले अनुसन्धानका क्रममा पक्राउ परेका सबै व्यक्तिको भूमिका र घटनासँगको सम्बन्धबारे छुट्टाछुट्टै अनुसन्धान गरिरहेको जनाएको छ।
पहिले ‘एक्लै’ भनेका थिए, भिडियोमा आए अर्को नाम
यो प्रकरणमा अनुसन्धानका क्रममा देखिएको एउटा महत्वपूर्ण पक्ष भनेको नाबालकको बयानमा आएको अन्तर हो। प्रारम्भिक अनुसन्धानमा उनले घटना आफू एक्लैले गरेको बताएका थिए। तर सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा भने उनले आफू मात्र नभई प्रदीप खड्का पनि घटनामा संलग्न रहेको दाबी गरेका छन्।
यही कारण भिडियो सार्वजनिक भएपछि प्रहरीले त्यसलाई अनुसन्धानको दृष्टिले समेत परीक्षण गर्नुपर्ने अवस्था आएको छ। तर अनुसन्धानकै क्रममा रहेका नाबालकको बयान सार्वजनिक हुँदा त्यसले अनुसन्धानको निष्पक्षता र प्रमाण संरक्षणमा पार्ने प्रभावबारे पनि प्रश्न उठेको छ।
‘भिडियो कसले खिच्यो?’—प्रहरीभित्रै खोजी
भिडियो सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरीसमेत दबाबमा परेको छ। मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले अनुसन्धानका क्रममा यस्तो भिडियो बाहिरिनु गम्भीर विषय भएको बताएका छन्।
‘कारबाहीका क्रममा यस्तो कार्य हुनु हुँदैनथ्यो। यो कसरी र कसको संलग्नतामा भयो भनेर हामीले खोजिरहेका छौँ,’ ढकालले भनेका छन्, ‘यसमा संलग्न जोकोहीलाई पनि आवश्यक कारबाहीको दायरामा ल्याउँछौँ।’
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी डीएसपी घलेले पनि भिडियो कसले खिचेको र कसरी सामाजिक सञ्जालमा पुगेको भन्ने विषयमा छानबिन भइरहेको बताएका छन्। यसले अनुसन्धानको अर्को पाटो घटनाका आरोपीमाथि अनुसन्धान मात्र होइन, अनुसन्धान गर्ने निकायभित्रै गोपनीयता र प्रमाण सुरक्षाको अवस्थालाई पनि सार्वजनिक बहसमा ल्याएको छ।
कानुनले अनुसन्धानरत व्यक्तिको पहिचान सार्वजनिक गर्न रोक्छ
अनुसन्धानको क्रममा रहेका व्यक्तिको पहिचान तथा उनीमाथि लागेको कसुरसम्बन्धी विवरण अनधिकृत रूपमा सार्वजनिक गर्ने विषय नेपालको कानुनी व्यवस्थासँग समेत जोडिन्छ।
वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ को दफा १७ ले अनुसन्धानको सिलसिलामा रहेका व्यक्तिलाई अभियोगपत्र दायर हुनुअघि अधिकारप्राप्त अधिकारीले कुनै पनि तरिकाले सार्वजनिक गर्न वा गराउन नहुने व्यवस्था गरेको छ।
त्यसैले भिडियोमा नाबालकको अनुहार, बयान तथा घटनासम्बन्धी संवेदनशील विवरण सार्वजनिक हुनु केवल सामाजिक सञ्जालमा फैलिएको एउटा सामग्रीको विषय मात्र नभई गोपनीयता र अनुसन्धान प्रक्रियाको कानुनी सीमासँग जोडिएको प्रश्न पनि हो।
नाबालक स्वयं घटनाको आरोपित पक्षमा रहेको अवस्थामा उनको पहिचान तथा बयान सार्वजनिक हुँदा बाल संरक्षणको दृष्टिले समेत थप संवेदनशीलता आवश्यक हुन्छ।
प्रेस काउन्सिलको आपत्ति : बयान ‘भाइरल सामग्री’ होइन
भिडियो सार्वजनिक भएपछि प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले पनि आपत्ति जनाएका छन्। उनका अनुसार गम्भीर अपराधको अनुसन्धान भइरहेको अवस्थामा अभियुक्तमाथि प्रश्न उठ्नु स्वाभाविक भए पनि अदालतको फैसला नआउँदै नाबालकको बयान सामाजिक सञ्जालमा सार्वजनिक गर्नु न्यायिक प्रक्रियाको हिस्सा हुन सक्दैन।
उनले पीडितको पीडालाई सामाजिक सञ्जालको सामग्री र अभियुक्तको बयानलाई भाइरल बनाउने विषय नबनाउन आग्रह गरेका छन्। यो टिप्पणीले घटनाको अर्को संवेदनशील पक्षतर्फ संकेत गरेको छ—अपराधको अनुसन्धान र न्यायिक प्रक्रिया तथा सामाजिक सञ्जालको ‘कन्टेन्ट’बीचको सीमा।
प्रहरी र अस्पताल दुवै छानबिनमा
अहिले घटनाको मूल अनुसन्धानसँगै भिडियो कसरी बाहिरियो भन्ने विषयमा छुट्टै खोजी भइरहेको छ। प्रहरीका अनुसार भिडियोको स्रोत, रेकर्ड गर्ने व्यक्ति, त्यसलाई बाहिर ल्याउने माध्यम तथा यसमा संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेको छ।
अस्पताल प्रशासनले पनि आफ्नो पक्षबाट छानबिन थालेको जनाएको छ। प्रहरी र अस्पताल दुवैको अनुसन्धानबाट मात्र भिडियो आधिकारिक प्रक्रियाको कुन चरणमा रेकर्ड भयो तथा कसको पहुँचबाट बाहिरियो भन्ने स्पष्ट हुने देखिन्छ।
गरिमा हत्या प्रकरणमा भने प्रहरीले अनुसन्धान जारी राखेको छ। नौ जना नियन्त्रणमा लिइएको र पछिल्लो पटक प्रदीप खड्कासमेत पक्राउ परेको प्रहरीले जनाएको छ। तर सामाजिक सञ्जालमा सार्वजनिक भएको बयान, त्यसमा उल्लेख भएका दाबी र अनुसन्धानबाट पुष्टि भएका तथ्यलाई अलग–अलग राखेर हेर्नुपर्ने अवस्था छ।
तीन वर्षीया बालिकाको हत्या जस्तो गम्भीर अपराधमा दोषी पहिचान गरी कानुनअनुसार कारबाही हुनु जति आवश्यक छ, त्यति नै आवश्यक अनुसन्धानको प्रमाण, आरोपीको कानुनी अधिकार र नाबालकको गोपनीयता सुरक्षित राख्नु पनि हो। यही कारण अहिले गरिमा प्रकरणको अनुसन्धानसँगै एउटा अर्को प्रश्नले पनि जवाफ खोजिरहेको छ—प्रहरीको नियन्त्रण र अस्पतालको सुरक्षित कक्षभित्र रहेको संवेदनशील बयान सामाजिक सञ्जालसम्म कसरी पुग्यो?

