१९ वर्षीया छोरीलाई धम्की दिँदै बलात्कार गरेको आरोपमा चितवनमा बाबु पक्राउ

चितवन — आफ्नै १९ वर्षीया छोरीलाई मदिरा सेवन गरी धम्की दिँदै जबरजस्ती करणी गरेको आरोपमा चितवन प्रहरीले भरतपुरका ४५ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ। पीडित युवती स्वयं जिल्ला प्रहरी कार्यालय पुगेर दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई भदौ ४ गते पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सूचना अधिकारी इन्स्पेक्टर मनिष श्रेष्ठका अनुसार पक्राउ परेका पुरुषले प्रहरीसमक्ष छोरीमाथि बलात्कार गरेको स्वीकार गरेका छन्। घटनाबारे पीडितले दिएको निवेदनका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटना गत साउन २८ गते भएको हो। त्यस दिन आरोपित बाबुले रक्सी सेवन गरी आफुलाई धम्की दिँदै बलात्कार गरेको युवतीले प्रहरीमा दिएको निवेदनमा उल्लेख गरेकी छिन्। घटना सार्वजनिक भएपछि प्रहरीले आरोपितलाई पक्राउ गरी अदालतबाट अनुसन्धानका लागि म्याद थप गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार आरोपित पुरुषकी श्रीमती र छोरा जापानमा छन्। उनी करिब आठ महिनाअघि नेपाल आएका थिए। नेपालमा रहेकी छोरीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उनी नेपाल आएको प्रहरीको भनाइ छ।

नेपाल आएपछि बाबु र छोरी मात्रै घरमा बस्दै आएका थिए। आरोपित पुरुष केही समयपछि जापान फर्किने तयारीमा थिए। पीडित युवतीले आफूविरुद्ध भएको घटनाबारे प्रहरीसमक्ष उजुरी दिएपछि त्यसैका आधारमा आरोपितलाई नियन्त्रणमा लिएको हो। हाल घटनाको परिस्थितिसहित अन्य आवश्यक प्रमाण र विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका पुरुषमाथि प्रचलित कानुनअनुसार अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। अदालतबाट प्राप्त म्यादको आधारमा अनुसन्धान पूरा गरी घटनाको थप तथ्य सार्वजनिक गरिने प्रहरीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट