धनुषाको दुहबीमा तस्कर र सशस्त्र प्रहरीबीच भीषण झडप, छ जना प्रहरी घाइते

जनकपुर — भारतीय सीमासँग जोडिएको धनुषाको विदेह नगरपालिका–२ दुहबीमा बिहीबार राति तस्करहरूको समूह र सशस्त्र प्रहरी बलबीच भीषण झडप भएको छ। सशस्त्र प्रहरीले तस्करीको सामग्री नियन्त्रणमा लिन प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको हो।
सशस्त्र प्रहरीको टोली स्थानीय एक घरमा तस्करीको सामान बरामद गर्न पुगेको थियो। त्यही क्रममा तस्करहरूलाई स्थानीयवासीले संरक्षण दिँदै सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए। आक्रमणबाट छ जना सशस्त्र प्रहरी घाइते भएका छन्।
उनीहरूलाई तत्काल जनकपुरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरी उपचार थालिएको सशस्त्र प्रहरी बलका एसपी निर्मल खड्काले जानकारी दिए। सुरक्षाकर्मीमाथि भीडको आक्रमण बढेपछि आत्मरक्षाका लागि प्रहरीले १२ राउण्ड अश्रुग्यास र ४ राउण्ड हवाई फायर गरेको उनको भनाई छ।
तस्करीको सामान नियन्त्रणमा लिने स्थिति नरहेपछि प्रहरी टोली फिर्ता भएको एसपी खड्काले जानकारी दिए।
यता नेपाल प्रहरी भने यस घटनाबारे अनविज्ञ रहेको जनाएको छ। धनुषा प्रहरीका एसपी नरहरि रेग्मीले ‘तस्करसँग सामान्य विवाद भएको जानकारी मात्रै पाएको’ बताए।
दुहबी भारतीय सीमाक्षेत्र दसगजासँग जोडिएको संवेदनशील नाका हो। यस नाकाबाट हुने अवैध तस्करी नियन्त्रणमा कडाइ गर्न खोज्दा सुरक्षाकर्मीमाथि पटक–पटक आक्रमण हुँदै आएको प्रहरीले जनाएको छ।