विराटनगरका सीमावर्ती क्षेत्रमा जेनजी आन्दोलन लुटपाटमा परिणत, भारतीय समूह नेपाल प्रवेश

विराटनगर– जेनजी आन्दोलन सीमावर्ती क्षेत्रमा लुटपाटमा परिणत भएको छ। भारतीय सीमा क्षेत्रबाट नेपाल प्रवेश गरेका भारतीय समूहले विराटनगरका विभिन्न स्थानमा चोरी र लुटपाट मच्चाएका छन्।

विराटनगर भन्सार कार्यालय परिसरमै भारतीय लुटेराहरूले तोडफोड र लुटपाट गरेको प्रहरीले जनाएको छ। उनीहरूले हिजो पुरानो भन्सार भवनमा आगजनी गरेका थिए भने आज बिहानै फेरि नेपाल प्रवेश गरी लुटपाट गरेका थिए।

मोरङका सीडीओ इन्द्रदेव यादवका अनुसार, भारतीय सीमा क्षेत्रबाट आएका आपराधिक मानसिकता बोकेका समूह रानीलगायत क्षेत्रमा सक्रिय छन्। प्रहरी टोलीले उनीहरूलाई खेद्दै नियन्त्रणमा लिने कार्य अघि बढाएको छ।

त्यस्तै, विराटनगर नजिकै रहेको एकीकृत जाँच चौकी (आईसीपी) मा समेत लुटपाट भएको पुष्टि भएको छ। सीडीओ यादवले भने, ‘विभिन्न समूहमा उछृंखल व्यक्तिहरू सक्रिय भएका छन्। त्यस्ता व्यक्तिलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिइरहेका छन्। स्थानीयलाई पनि प्रतिकारमा सहयोग गर्न आग्रह गरिएको छ।’

यसैबीच, विराटनगरका संवेदनशील संरचनाहरूमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ। सुरक्षा निकायले सूचना मिल्ने बित्तिकै तत्काल नियन्त्रणमा लिने तयारी मिलाएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट