राजविराज कारागारबाट भागेका २०५ कैदीवन्दी मध्ये २ जना मृत भेटिए

राजविराज — जेन–जी आन्दोलनको अराजक माहौलमा भदौ २५ गते राजविराज कारागारमा भएको आगजनीपछि भागेका २०५ कैदीबन्दी मध्ये दुई कैदी मृत भेटिएका छन्। सप्तरीको बलानबिहुल–४ का ५० वर्षीय तुरन्तलाल बरही र सप्तकोशी नगरपालिका–१० का ४० वर्षीय सन्तोष तामाङ मृत फेला रहेका हुन्।

बरही भदौ २६ गते विष्णुपुर–६ रञ्जितपुरमा मृत फेला परे भने तामाङ भदौ २७ गते राजगढ–३, नर्घो पूवारीकट्टीस्थित रुखमा झुन्डिएको अवस्थामा भेटिएका थिए। प्रारम्भिक अनुसन्धान अनुसार दुवैले आत्महत्या गरेको प्रहरीले जनाएको छ। तर, उनीहरूको मृत्युलाई सामान्य आत्महत्या भनेर बुझ्न सकिन्छ वा अझ गहिरो कारण लुकेको छ भन्ने प्रश्न अझै खुला छ।

तामाङलाई कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय दिइएपछि २०७५ पुस १५ मा कारागार चलान गरिएको थियो। बरही पनि त्यस्तै मुद्दामा कैद काटिरहेका थिए। लामो सजाय भोगिरहेका दुबै कैदी आन्दोलनको मौकामा कारागारबाट भागेका थिए। तर केही दिनमै मृत भेटिनुले घटनालाई शंकास्पद बनाएको छ।

यस घटनामा भगौडाहरूले भोग्नुपरेको मानसिक दबाब, प्रहरीको चाप, समाजमा पुनः पहिचान हुने डर र आत्मसमर्पण गरेपछि थप सजायको आशंकाले उनीहरूलाई निराश बनाएको अनुमान गर्न सकिन्छ। बरही र तामाङको मृत्यु यस्तो मानसिक संकटको चरम परिणाम पनि हुनसक्छ।

तर, यसलाई मात्र व्यक्तिगत निर्णय भनेर टार्न सकिँदैन। जेन–जी आन्दोलनकै भीडमा जेलमा आगजनी भएर कैदी भाग्नु आफैंमा सुरक्षा संयन्त्रको ठूलो कमजोरी हो। अहिलेसम्म भागेका कैदीमध्ये १०३ जना पक्राउ परेका छन् भने करिब एक सय जना अझै फरार छन्। बाँकी फरार कैदीहरू कुन अवस्थामा छन ‘फेरी अपराधमा संलग्न छन्, लुकेर बसिरहेका छन्, वा बरही र तामाङझैँ निराशामा परेका छन’ भन्ने विषय अझै अनुत्तरित छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट