पर्सामा केटी जिस्क्याएको विषयमा दुई समूहबीच झडप, १६ वर्षीय किशोरलाई गोली लाग्यो

वीरगञ्ज— पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वामा बिहीबार बेलुका दुई समूहबीच भएको झडपमा गोली चलेर एक किशोर घाइते भएका छन्। घाइते हुनेमा छिपहरमाई–३ झलमहियाका १६ वर्षीय गोलु आलम धुनिया हुन। उनको देब्रे तिघ्रामा गोली लागेको छ।

धुनियालाई बिहीबार राति नै उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लगिएको छ। अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार उनको तिघ्रामा लागेको गोली हालसम्म निकालिएको छैन र शल्यक्रिया गरी निकाल्ने तयारी भइरहेको छ।

घटना बेलुका करिब सवा ७ बजे भिस्वास्थित गाउँपालिका कार्यालयको पछाडिपट्टिको सडकमा भएको हो। प्रहरीका अनुसार वडा नं. ३ र ५ का बासिन्दाबीच गाउँकै विषयलाई लिएर झडप भएको थियो। त्यही क्रममा गोली चलेर गोलु आलम घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदीपराज पाठकले घटनामा संलग्न भएको आशंकामा स्थानीय २÷३ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए। ‘घटनाबारे हामी क्लियर भइसकेका छौं। सघन अनुसन्धान भइरहेको छ र छिट्टै परिणाम आउनेछ।’–एसपी पाठकले भने। गोली कसले प्रहार ग¥यो भन्नेबारे थप अनुसन्धान भइरहेको उनले बताए।

यसैबीच, डीएसपी हरिबहादुर बस्नेतले गोली प्रहारको घटनामा संलग्न रहेको आशंकामा तीन जना किशोरलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्। उनका अनुसार, नियन्त्रणमा लिएका सबैजना किशोरावस्थाकै रहेका छन् र गाउँमा उनीहरूको व्यवहार राम्रो नरहेको सुन्नमा आएको छ। घाइते गोलुसँग पनि बयान लिइरहेको उनले बताए।

अस्पतालमा उपचाररत गोलुले भने आफू घरतर्फ जाँदै गर्दा बाटोमा केही युवाबीच विवाद भइरहेका बेला गोली चलेर आफुलाई लागेको बताएका छन्। प्रत्यक्षदर्शीहरूले घटनाको अर्को पाटो पनि देखाएका छन। उनीहरूका अनुसार झलमहियाका किशोरी र युवतीहरू भिस्वा बजारबाट घर फर्कँदा भिस्वाका केही युवाहरूले जिस्क्याउने तथा छेडखानी गर्ने गरेका थिए। त्यही विषयलाई लिएर बिहीबार बेलुकी विवाद चर्किँदा गोलीसमेत चलेको उनीहरुले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट