प्रचण्डको ६४ लाखको घडी र गंगाको २८ लाखको ब्यागबारे वैठकमा लिखित प्रश्न उठाउने नेता को हुन ?

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी छोरी गंगा दाहालको विलासी जीवनशैलीमाथि प्रश्न उठेको छ। जेन–जी आन्दोलनपछि नेतृत्व परिवर्तन र सुशासनको चर्चा भइरहेका बेला अध्यक्षको महँगो घडी र छोरी गंगाको महंगो ब्यागको विषय चर्चामा आएको हो।

केन्द्रीय सदस्य तथा सार्क इन्चार्ज लक्ष्मण पन्तले बैठकमा लिखित प्रस्ताव पेस गर्दै अध्यक्षले लगाउने ६४ लाखको रोलेक्स घडी र गंगाले बोक्ने २८ लाखको लुई भिटन ब्यागको वैधानिकता र स्रोतबारे प्रश्न उठाएका थिए। उनले भने, ‘लामो समयदेखि अध्यक्षको रोलेक्स घडी र छोरीको लुई भिटन ब्यागको विषय मिडियामा सार्वजनिक भएको छ। यदि समाचार गलत छ भने तुरुन्तै सम्बन्धित मिडिया र सांसद सुनील शर्माविरुद्ध मानहानिको मुद्दा दायर गरौं।’

पन्तले प्रस्तावमा यदि ति सामग्री उपहारमा पाएको हो भने महँगा उपहार व्यक्तिगत रूपमा प्रयोग गर्नु नैतिक रूपमा गलत हुने तर्कसमेत प्रस्तुत गर्दै पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि उपहार बेचेर व्यक्तिगत लाभ लिएको आरोपको उदाहरण समेत स्मरण गराए। उनले पार्टीका नेताहरूको सम्पत्ति छानबिन, अजय सुमार्गीको ‘हेलो नेपाल’ प्रकरणमा राज्यलाई भएको करिब २० अर्ब नोक्सानी, जनमुक्ति सेनाको ‘पीएलए फन्ड’ को २ अर्ब ८२ करोडको हिसाबकिताब र विगत १८ वर्षमा ‘मालदार’ मन्त्रालय सम्हालेका नेताहरूले आर्जन गरेको लाभको निष्पक्ष छानबिन गर्नुपर्ने मागसमेत राखेका छन्।

यसै विषयमा अध्यक्ष प्रचण्डले बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन्। उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औंल्याए। ‘अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नुपर्छ,’ उनले भने।

बैठकमा प्रचण्डले नेताहरूको खानपान, लवाइ–खवाइदेखि जनतासँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन लिखित सुझाव पठाउन निर्देशन पनि दिएका छन्। बैठक सम्पन्न भएसँगै माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण हुनेछ र तोकिएकै मितिमा निर्वाचन गराउने वातावरण बनाउन पहल गर्ने तयारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट