सुधन गुरुङको स्पष्टोक्ति: म कुनै विदेशी एजेण्ट होइन, संविधानकै बाटोबाट परिवर्तन ल्याउँछु

काठमाडौँ— जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले आफु विदेशी एजेण्ट नभएको प्रस्ट्याएका छन्। जेन–जी आन्दोलनका शहीदहरूको सम्झनामा बिहीबार माइतीघर मण्डलामा आयोजित सभामा बोल्दै उनले आफनो सफाई दिएका हुन।
‘कहिले भुटानी एजेन्ट, कहिले भारतीय एजेन्ट भनिन्छ, तर म त तपाईंहरू जस्तै साधारण नागरिक हुँ,’ उनले भने। हामी नेपालका संयोजकसमेत रहेका गुरुङले राजनीतिक दलहरूले नयाँ पुस्ताको एकतालाई तोड्न सुरु गरेको दाबी गरे। ‘जेन–जीहरूलाई कमजोर बनाउने उनीहरूको रणनीति थियो, तर हामीले उनीहरूको चाल बुझिसकेका छौं,’ गुरुङले भने।
उनका अनुसार, पुराना राजनीतिक दलहरू अहिले युवालाई दल–दलमा बाँडेर आफ्नो अस्तित्व जोगाउन खोजिरहेका छन्। ‘अब उनीहरूलाई भन्न चाहन्छु — हामीले तपाईंहरूको नाटक बुझिसकेका छौं’ उनले भने–‘यो पुस्ता कुनै पार्टीको होइन, देशको हो।’
गुरुङले राजनीतिक दलहरूलाई विभाजनकारी खेल रोक्न चेतावनी दिंदै भने, ‘अब कुनै दल होइन, नागरिक भएर सोच्ने समय आएको छ। एउटै झण्डा मुनि बसौं र देश विकास गरौं। ‘अहिले हामीलाई छुट्याउनको लागि त नेपालीहरूलाई नै छुट्याउनुपर्छ, त्यो तागत उनीहरूसँग छैन।’
उनले अबको लडाइँ सडकमा होइन, संविधान र कानुनकै दायरामा हुने पनि वताए। ‘उनीहरूले बनाएको संविधान पढ्दैछु, त्यसकै आधारमा अब हामी हान्छौं। उनीहरूले सिकाएको कानुनकै प्रयोग गरेर उनीहरूलाई नै कानुनभित्र थुन्नेछौं,’ उनले भने।
आन्दोलनको गतिलाई लिएर आलोचना हुने क्रमबारे पनि उनले स्पष्ट जवाफ दिएका छन्। ‘यो आन्दोलन क्षणिक होइन, ८० वर्षसम्म बिगारिएको संरचना सुधार्न समय लाग्छ। सिंहदरवारभित्र कस्तो भद्रगोल छ भन्ने तपाईंहरूले बाहिरबाट बुझ्न जरुरी छ।’– गुरुङले भने।
उनको भनाइ अनुसार, यो आन्दोलन शक्ति प्रदर्शनको होइन, चेतनाको आन्दोलन हो। ‘धैर्य धारण गर्नुपर्छ, विधिको बाटोमा हिँड्नुपर्छ। हामी संविधानको बाटोबाटै परिवर्तन ल्याउँछौं। पुराना नेताहरूले नागरिकलाई अन्धो विश्वासमा राख्दै आएको आरोप लगाउँदै उनले भने, ‘नराम्रो को हो भने ती नेताहरू हुन् जसले देश बिगारे। अब नागरिकले सोच बदल्नुपर्छ। भोट बदलौं, सोच बदलौं, अनि देश बदलौं।’