झापामा बाँसको लठ्ठीले हानेर एक युवकको हत्या, फरार रहेका आरोपित आज विहान पक्राउ

दमक — झापाको बिर्तामोडमा सामान्य झगडा हत्यामा परिणत भएको छ। बिर्तामोड नगरपालिका–५ कंचनजंघा एफएम नजिक सोमबार साँझ भएको झगडामा ३० वर्षीय युवकको मृत्यु भएको हो। बाँसको प्रहारबाट गम्भीर घाइते भएका युवकलाई अस्पताल पु¥याउने क्रममा चिकित्सकले मृत घोषणा गरेका छन्।
मृतक बिर्तामोड–५ का जगन राजवंशी हुन्। उनी आफ्ना दाजुसँग ग्रिलको काम गर्दै आएका थिए। सोमबार साँझ झगडा हुँदा बिर्तामोड–५ कै २६ वर्षीय हेमकुमार चौधरीले बाँसको लठ्ठीले टाउकोमा प्रहार गरेपछि राजवंशी ढलेका थिए। गम्भीर घाइते अवस्थाका राजवंशीलाई आफन्तहरूले तत्कालै उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पु¥याएका थिए, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि फरार रहेका चौधरीलाई प्रहरीले आज बिहान शिवसताक्षी नगरपालिका–७ ब्याङडाँडाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले प्रारम्भिक अनुसन्धानमा चौधरीले बाँसको लठ्ठीले प्रहार गरेको पुष्टि भएको बताए। उनले भने, ‘घटनाको वास्तविक कारण पत्ता लगाउने काम भइरहेको छ। प्रारम्भिक रूपमा व्यक्तिगत विवादका कारण झगडा भएको अनुमान गरिएको छ।’
राजवंशी परिवारले न्यायको माग गर्दै दोषीमाथि कडा कारबाही गर्न आग्रह गरेको छ। मृतकका दाजुले भने, ‘साधारण झगडाले मेरो भाइको ज्यान गयो। दोषीले कडा सजाय पाउनु पर्छ।’