केपी ओलीको सुरक्षा दस्ताका कमाण्डर पासाङ शेर्पा धुम्बाराहीबाट पक्राउ

काठमाडौँ— नेकपा एमालेका केन्द्रीय सदस्य तथा अध्यक्ष केपी ओलीको सुरक्षा दस्ताका कमाण्डर पासाङ शेर्पा बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार शेर्पालाई मंगलबार धुम्बाराहीबाट नियन्त्रणमा लिइएको हो।

शेर्पा एमालेको जनजाति महासंघका अध्यक्षसमेत हुन् र आदिवासी÷जनजाति आन्दोलनमा सक्रिय रहेका उनी मिक्वाखोला–५, ताप्लेजुङका मूल निवासी हुन्। उनले राजनीतिक जीवनको क्रममा डा. बाबुराम भट्टराईको पार्टीमा संलग्न भए, पछि माओवादी केन्द्रमा प्रवेश गरे र अन्ततः एमालेमा आए।

शेर्पाविरुद्ध जिल्ला अदालत काठमाडौंले बहुविवाह मुद्दामा २३ चैत २०७९ मा एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उनले अदालतको आदेशबिरुद्ध उच्च अदालत पाटनमा अपिल गरे पनि उच्च अदालतले पनि जिल्ला अदालतको फैसला सदर गरेको थियो। यस फैसलाको कार्यान्वयनका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

शेर्पाको मुद्दा एमाले सचिवालयमा पनि उठेको थियो। सचिव योगेश भट्टराईले सांस्कृतिक विचलन र बहुविवाह मुद्दा लाग्ने नेतालाई केन्द्रीय सदस्य र महासंघ अध्यक्ष पदबाट निलम्बन गर्नुपर्ने माग उठाएका थिए। तर अध्यक्ष केपी ओलीले यसलाई सामान्य विषय भन्दै पासाङको पक्षमा अडान लिए।

पार्टीमा विवादास्पद भाषण र गतिविधिहरूमा समेत संलग्न रहेका शेर्पा ओलीविरुद्ध बोल्ने नेताहरूमाथि ‘विदेशी दलाल’ भन्ने आरोप लगाउने र विगतमा नाङ्गो खुकुरी नचलाएको, संविधानसभा सदस्य हुँदा दलाइ लामासँग भेट गरेका चर्चित पात्र हुन्।

शेर्पा केन्द्रीय सदस्य र सुरक्षा दस्तामा कमाण्डरको भूमिका निर्वाह गर्दै आएका थिए। यसबीच अदालतको फैसला कार्यान्वयनपछि पक्राउ परेका उनी अहिले प्रहरी नियन्त्रणमा छन्। प्रहरीले बताएअनुसार शेर्पा अदालतको फैसलाअनुसार कारागार पठाइनेछन्। यस घटनाले एमालेभित्र राजनीतिक विवाद र नेतृत्वको संरचनामा चर्को बहस सिर्जना गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट