सप्तरी अदालतबाट २५ लाख ‘गायब’— आन्दोलनकारीले लगे कि कर्मचारीले लुकाए ?
राजविराज — जेन–जी आन्दोलनका क्रममा सप्तरी जिल्ला अदालतबाट झण्डै २५ लाख रुपैयाँ नकद गायब भएको खुलासा भएको छ। यो घट्नाले अदालतको व्यवस्थापन, सुरक्षा र आन्तरिक निगरानी प्रणालीमाथि गम्भीर प्रश्न उब्जिएको छ।
गत भदौ २४ गते जेन–जी समूहले प्रदर्शन गरिरहेको बेलामा दिउँसो करिब ३ बजेतिर अदालतमा आगजनी र तोडफोड भयो। तर, दर्ता र लेखा फाँट तत्काल सुरक्षित थियो। यद्यपी भोलिपल्ट बिहान पुग्दा दर्ता फाँटमा सुरक्षित राखिएको २ लाख भारतीय रुपैयाँ र लेखाबाट राखिएको २१ लाख ६७ हजार नेपाली रुपैयाँ गरी जम्मा २४ लाख ८७ हजार नगद गायब भएको पुष्टि भयो।
अदालतका सूचना अधिकारी उमेशकुमार अर्यालका अनुसार नगद चोरी भएको विवरण सर्वोच्च अदालतमा पठाइसकिएको छ, तर छानविनका लागि जिल्ला प्रहरी कार्यालयलाई औपचारिक जानकारी दिईएको छैन। ‘हामीले हाम्रा च्यानलमा विवरण पठाइसक्यौं, प्रहरीले के टिपोट ग¥यो, जानकारी छैन,’ अर्यालले भने।
अदालतभित्र सीसीटिभी भए पनि घटनाका दृश्यहरू स्पष्ट नदेखिएको जनाईएको छ। श्रेस्तेदारलाई लेखापालको नामसमेत जानकारी छैन। लेखापाल टेकनारायण यादवले आन्दोलन अघि आफु तिर्थ आत्रामा गएको र पैसा हराउँदा आफु कार्यालयमै नरहेको वताए। आफु एक दिन अघि तिर्थयात्राबाट फर्किएकाले रकमबारे जानकारी नभएको उनको दाबी छ।
त्यो रकम कार्यालय सहयोगी कामेश्वर यादवले सुरक्षित राखेको बताए। ‘नगद हराएको कुरा भोलिपल्ट मात्र सुनेँ,’ उनले भने। आन्दोलन भएको साँझ पाँच बजे आफु अदालत पुगे पनि बाहिरबाटै हेरेर फर्किएको उनले बताए।
अघिल्लो दिन प्राप्त भएको रकम भोलिपल्ट बैंकमा जम्मा गर्नुपर्ने प्रचलन रहेपनि त्यो दिन ३ बजेसम्म पनि रकम बैंकमा दाखिला नभएको पाईएको छ। यसले जिम्मेवारी तोकिएका कर्मचारीहरूको भुमिका पनि शंकास्पद देखिएको स्रोत वताउँछ।
कार्यालय सहयोगी कामेश्वर यादवसँग सम्पर्क गर्न खोज्दा उनको फोन उठेन। सप्तरीका सीडीओ टुवराज पोखरेलले अदालतभित्रै भएको नगद चोरीलाई ‘गम्भीर घट्ना’ भन्दै छानबिन आवश्यक रहेको बताए। उनले श्रेस्तेदारसँग समन्वय गरेर अनुसन्धान अघि बढाइने बताए।
जेन–जी आन्दोलनको भीड, कार्यालयभित्रको सुरक्षा कमजोरी, आन्तरिक निगरानीको अभाव र जिम्मेवार कर्मचारीहरूको अस्पष्ट भूमिकाका कारण सप्तरी जिल्ला अदालतको नगद रकम हराएको स्रोत वताउँछ।

