एक फेसबुक स्टाटसले राजविराज तीन दिन ठप्प! सार्वजनिक माफीपछि टुंगियो आन्दोलन र विवाद (फोटो फिचर)
राजविराज– सप्तरी सदरमुकाम राजविराजमा विगत तीन दिनदेखि जारी आन्दोलन शुक्रबार औपचारिक रूपमा टुंगिएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीमा दिनभर चलेको सर्वपक्षीय छलफलपछि आठ बुँदे सहमति जुटेसँगै आन्दोलन स्थगित गरिएको हो।
आन्दोलनको कारण बनेको घटना राजविराज नगरपालिका–१ का अफरोज आलमसँग जोडिएको थियो। आलमले सामाजिक सञ्जाल फेसबुकमार्फत हिन्दु धर्मका आराध्यदेव भगवान श्रीकृष्णप्रति आपत्तिजनक र नकारात्मक टिप्पणी गरेको पोस्ट भाइरल भएपछि हिन्दु समुदाय आक्रोशित बनेको थियो। त्यसपछि विभिन्न हिन्दु धार्मिक संगठनहरूको आह्वानमा राजविराजसहित जिल्लाका विभिन्न बजारमा आन्दोलन सुरु भएको थियो।
आन्दोलनका क्रममा शुक्रबार राजविराज र आसपासका क्षेत्रका बजार, पसल, यातायात सेवा तथा शैक्षिक संस्था पूर्ण रूपमा बन्द गरिएका थिए। हिन्दु सम्राट सेना र बजरंग दलको नेतृत्वमा गरिएको बन्दका कारण जनजीवन प्रभावित बनेको थियो।
घटनापछि जिल्ला प्रशासन कार्यालय सप्तरीमा दुबै पक्षबीच बैठक बसेको थियो। करिब चार घण्टा लामो छलफलपछि आठ बुँदे सहमति भएको प्रशासनले जनाएको छ। सहमतिअनुसार अफरोज आलमले लिखित तथा मौखिक रूपमा सार्वजनिक माफी मागेका छन् र भविष्यमा यस्ता गतिविधि नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सहमति पत्रमा सबै पक्ष, वर्ग र समुदायले सामाजिक सद्भाव कायम गर्ने, सामाजिक सञ्जालमा पोस्ट, कमेन्ट र सेयर गर्दा कुनै पनि व्यक्ति, समुदाय, जात वा वर्गको आस्था र प्रतिष्ठामा चोट पुग्ने सामग्री नगर्ने र सहमति उल्लंघन भए कानुनअनुसार कारबाही गर्ने उल्लेख छ। साथै घटनासँग सम्बन्धित विषयमा कानुनी प्रक्रिया अघि बढाइने पनि सहमतिमा उल्लेख गरिएको छ।
यस आन्दोलनलाई थप चर्काएको अर्को घटना बुधबार साँझ बजरंग दल सप्तरीका जिल्ला अध्यक्ष आकाश यादवमाथि कुटपिट भएको आरोप थियो। उक्त घटनापछि आन्दोलन झनै उग्र बन्दै गएको थियो। आन्दोलनकारीहरूले सामाजिक सञ्जालमा हिन्दु धर्म प्रति घृणा फैलाएर पोस्ट गर्ने व्यक्ति र कुटपिटमा संलग्नमाथि तत्काल कारबाहीको माग गर्दै बिहीबारदेखि टायर बालेर प्रदर्शनसमेत गरेका थिए।
आठ बुँदे सहमति सार्वजनिक भएपछि बजरंग दल र हिन्दु सम्राट सेनाले सम्पूर्ण बन्द, हडताल र प्रदर्शनका कार्यक्रम स्थगित गरिएको घोषणा गरेका छन्। जिल्ला प्रशासनले जिल्लामा शान्ति–सुरक्षा कायम गर्न सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ।
तर सहमति लगत्तै केही असन्तुष्ट आन्दोलनकारीहरूले उक्त सहमति नमान्ने भन्दै जिल्ला प्रशासन कार्यालय परिसरमै ढुंगामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो। उनिहरु आपसमै कुटाकुट गर्न थालेपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गरेको छ।
स्थिति बिग्रिन नदिन सडकमा नेपाली सेना समेत परिचालन गरिएको थियो भने प्रशासनले संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाउँदै बाक्लो सुरक्षा व्यवस्था मिलाएको थियो। हाल अवस्था सामान्य बन्दै गएको प्रशासनको भनाइ छ।


