राजविराज बजारमा शंकास्पद रुपमा हिँडडुल गर्ने ९ जना पक्राउः रोहिंग्या भएको आशंका

राजविराज — सप्तरीको राजविराज नगरपालिका क्षेत्रभित्र शंकास्पद रूपमा हिँडडुल गरिरहेका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका ब्यक्तिहरु भारतीय नागरिक भएको प्रहरीले वताए पनि उनिहरु वंगलादेशी रोहिंग्या भएको आशंका छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई राजविराज नगरपालिका क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत, पश्चिम बंगाल घर भएका लातिफर मियाँ (५२), तुरू मियाँ (४९), इकरामुल मियाँ (३५), सिराजुल मियाँ (४५), असरफुल मियाँ (३१), जयानाल मियाँ (४०), इजाजुल मियाँ (३७), सहाजहान मियाँ (२३) र राहुल मियाँ (३१) छन्।

सोधपुछ र कागजात परीक्षणका क्रममा ती व्यक्तिहरू भारतको पश्चिम बंगाल राज्यका स्थायी बासिन्दा रहेको र हाल राजविराज नगरपालिका–१२, सिंगियौनस्थित ‘गरिमा ईटा उद्योग’ मा कामदारका रूपमा कार्यरत रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार अनुसन्धानपछि उक्त ईटा उद्योगका सञ्चालक राजेन्द्र प्रसाद भट्टराईलाई बोलाई कामदारहरूको परिचय खुल्ने कागजात झिकाईएको थियो। आवश्यक कागजात र विवरण पुष्टि भएपछि ती नौ जनालाई उद्योग सञ्चालकको जिम्मा लगाईएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बर बहादुर पुरीका अनुसार सीमा क्षेत्र र बजार क्षेत्रमा शंकास्पद गतिविधि देखिएमा नियमित रूपमा चेकजाँच र निगरानी गरिँदै आएको छ। ‘सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै शंकास्पद देखिएका व्यक्तिहरूमाथि सोधपुछ गरिएको हो। अनुसन्धानपछि कुनै आपराधिक गतिविधि नदेखिएपछि सम्बन्धित उद्योग सञ्चालकको जिम्मा लगाइएको छ’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट