जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागेपछि ठमेलमा हत्याः २२ वर्षकै उमेरमा ५ वटा मुद्दा

काठमाडौँ— जेनजी आन्दोलनको मौका छोपेर नख्खु कारागारबाट फरार भएका एक युवकले ठमेलमा अर्को जघन्य अपराध गरेको खुलासा भएको छ। दाङको राप्ती गाउँपालिका–१ घर भएका २२ वर्षीय आकाश मगर ठमेलमा चक्कु प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।

जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ मा नख्खु कारागारबाट भागेका मगरले त्यसको केही समयपछि काठमाडौंको ठमेलस्थित ह्याप्पी होटल अगाडि पर्साको ठोरी घर भएका २५ वर्षीय सुरज तामाङको हत्या गरेका थिए। घटनामा प्रयोग भएको चक्कु प्रहारको दृश्य सीसीटीभी क्यामेरामा स्पष्ट रूपमा कैद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गत असोज १३ गते आफ्ना साथीलाई कुटपिट गरेको विषयलाई लिएर आक्रोशित बनेका आकाशले सुरजमाथि चक्कु प्रहार गरेका थिए। घटनापछि उनी फरार भई गृहजिल्ला दाङ हुँदै दाङ–रोल्पा सीमाक्षेत्रतर्फ लुकेका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश कुमार बस्नेतका अनुसार, फोन लामो समय स्वीच अफ राखेका आकाशले फोन खोल्नेबित्तिकै लोकेसन ट्रयाक गर्दा दाङ र रोल्पा देखिएपछि रोल्पा प्रहरीसँग समन्वय गरिएको थियो। त्यसपछि रोल्पाको धाङ्सी क्षेत्रमा बसिरहेका बेला उनलाई नियन्त्रणमा लिइ काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार पक्राउ पुर्जीका आधारमा बारीमा हिँडिरहेका बेला आकाशलाई नियन्त्रणमा लिएर अपराध अनुसन्धान कार्यालयको टोलीलाई बुझाइएको हो।

अनुसन्धानका क्रममा आकाशको आपराधिक पृष्ठभूमि पनि सार्वजनिक भएको छ। क्राइम रेकर्ड सिस्टम (सीआरएस) अनुसार उनीविरुद्ध २०७६ कात्तिक ३ गते प्रहरी वृत्त महाराजगञ्जबाट पहिलोपटक अभद्र व्यवहारको मुद्दा चलेको थियो। त्यसपछि २०७७ कात्तिक १६ मा प्रहरी वृत्त बालाजुबाट पुनः अभद्र व्यवहारमै मुद्दा दर्ता भएको देखिन्छ।

यी मुद्दाबाट छुटेपछि आकाश लागुऔषध नियन्त्रण ब्यूरोको फन्दामा परे। २०८० साउन २२ गते उनीविरुद्ध लागुऔषध बिक्रीवितरण तथा ओसारपसार कसुरमा मुद्दा दर्ता भई काठमाडौं जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि नख्खु कारागार चलान भएका थिए। जेलमै रहँदा उनीविरुद्ध चोरीसम्बन्धी अर्को मुद्दा पनि दर्ता भएको थियो।

लागुऔषध मुद्दामै करिब दुई वर्ष कारागार बसेका आकाश जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका थिए। सोही समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि नख्खु कारागारमै रहेका थिए र उनको रिहाइपछि उत्पन्न भीडभाडका क्रममा अन्य कैदीबन्दीसँगै आकाश पनि फरार भएका थिए।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार, ‘जेलबाट भागेपछि आकाश ठमेल पुगे र सुरज तामाङको हत्या गरे। सीसीटीभी फुटेजमा छुरा प्रहार गरेको दृश्य स्पष्ट देखिन्छ।’

प्रहरी सोधपुछमा आकाशले ‘साथीलाई धम्की दिएको रिसमा, यसै जेल जाने उसै जाने भन्दै छुरी हानेको’ बयान दिएका छन्। साथै अन्य कैदीबन्दी भागेपछि आफू पनि ज्यान जोगाउन भागेको दाबी गरेका छन्।

हाल आकाशलाई काठमाडौंमा राखी हत्या र फरारसम्बन्धी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट