इटहरीमा छोरी–ज्वाईँको झगडा मिलाउन खोज्दा सासुको ज्यान गयो, हत्या गरेर भागेका ज्वाईँ विहानै पक्राउ

इटहरी– छोरीको अवस्था बुझ्न र घर–परिवारको झगडा मिलाउन भोजपुरबाट सुनसरीको इटहरी आएकी एक महिलाको आफ्नै ज्वाइँको हातबाट ज्यान गएको छ। इटहरी उपमहानगरपालिका–९, बीपी चोकमा ५६ वर्षीया पविमाया बयलकोटीको ज्वाइँ गणेश साह गुप्ताले गएराति हत्या गरेका हुन्।

भोजपुरको दिङ्ला–१ घर भएकी पविमाया बयलकोटी र उनका पति उपचारका लागि केही दिनअघि इटहरी आएका थिए। उपचारपछि सोमबार घर फर्किने तयारीमा रहेका उनीहरू आइतबार साँझ छोरी भेट्न ज्वाइँ गणेशको डेरामा पुगेका थिए। सो क्रममा घरभित्र लामो समयदेखि चल्दै आएको छोरी–ज्वाइँबीचको विवाद र घरेलु तनावको विषय उठेको थियो।

प्रहरीका अनुसार गणेश साह गुप्ता दिनहुँ मादक पदार्थ सेवन गर्ने र त्यसकै कारण घरमा झगडा हुने गरेको थियो। सासु पविमायाले ज्वाइँलाई बानीव्यवहार सुधार्न आग्रह गर्दै, यस्तै अवस्था दोहोरिए छोरीलाई माइती लैजाने चेतावनी दिएपछि गणेश आक्रोशित बनेका थिए।

त्यसैक्रममा गणेशले पानी तान्ने कल (ह्याण्डपम्प) को डन्डीले पविमायाको टाउकोमा प्रहार गरेका थिए। गम्भीर घाइते भएकी पविमायालाई तत्काल उपचारका लागि विराटनगरस्थित विराट अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले जानकारी दिए।

घटनापछि फरार भएका गणेश साह गुप्तालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानमा छोरी–ज्वाइँबीच बारम्बार झगडा हुने र त्यसलाई सम्झाउन खोज्दा सासुको हत्या भएको खुल्न आएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ भने मृतकको शव पोस्टमार्टमका लागि पठाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट