सिरहामा प्रेम विवाहको निहुँमा हिंसात्मक झडपः २४ घण्टासम्म प्रहरीले चासो नदिएको पीडितको आरोप

लहान– सिरहाको सुखीपुर नगरपालिका–६ खरही टोलमा प्रेम विवाह गरेको विषयलाई लिएर दुई पक्षबीच भएको भीषण कुटाकुटले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ। घटनापछि २४ घण्टाभन्दा बढी समय बितिसक्दा पनि प्रहरीले प्रभावकारी छानबिन नगरेको पीडित पक्षले आरोप लगाएका छन्।

शनिबार दिउँसो करिब १०÷११ बजे हुल बाँधेर गाउँमा पसेको समुहले आक्रमण गर्दा प्रेम विवाह गरेका राजकिशोर यादवका काका देवप्रसाद यादव गम्भीर घाइते भएका छन्। उनको अवस्था नाजुक रहेकाले विराटनगरमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। कुटपिटमा राजकिशोरका बुबा शिवकुमार यादव पनि घाइते भएका छन्।

पीडित पक्षका अनुसार राजकिशोर यादवले करिब दुई वर्षअघि गाउँकै रामकरण यादवकी छोरीसँग प्रेम विवाह गरेका थिए। विवाहपछि सामाजिक र पारिवारिक दबाबका कारण दम्पती अहिलेसम्म गाउँ फर्कन सकेका छैनन्। उनीहरूको एक सन्तानसमेत रहेको जनाइएको छ।

स्थानीयवासीका अनुसार प्रेम विवाह गरेको केटा पक्ष आर्थिक रूपमा कमजोर र केटी पक्ष सम्पन्न भएकै कारण घटनाले उग्र रूप लिएको हो। शनिबार धारिलो हतियारसहितको समूहले राजकिशोरका घरपरिवारमाथि आक्रमण गरेको र सामाजिक सञ्जालमा कुटपिटको भिडियो सार्वजनिक भएपछि मात्र घटना बाहिर आएको हो।

घटनापछि पीडित परिवारका सदस्यहरू गाउँमै त्रसित अवस्थामा बस्न बाध्य छन्। स्थानीयवासीहरूले राजनीतिक दबाबका कारण प्रहरी–प्रशासनले ढिलाइ गरेको आरोप लगाएका छन्। प्रहरी गाउँमा नआएको र पीडितसँग प्रत्यक्ष सम्पर्क नगरेको भन्दै असन्तोष बढ्दै गएको छ।

यता जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रमेशबहादुर पालले घटनाबारे छानबिन भइरहेको बताएका छन्। उनका अनुसार दुवै पक्षका केही व्यक्ति घाइते भएका छन्। आरोपित रामकरण यादव फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

तर पीडित पक्षले भने प्रहरीले गम्भीर घटनालाई हल्का रूपमा लिएको र समयमै हस्तक्षेप नगर्दा अवस्था झन् असुरक्षित बनेको गुनासो गरेका छन्। प्रेम विवाहकै कारण भएको यस हिंसात्मक घटनाले सिरहामा सामाजिक असहिष्णुता र सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट