राजविराजमा ४ वर्षे छोराको हत्या गरी फरार रहेकी २५ वर्षीया आमा ८ महिनापछि पक्राउ

राजविराज — आफ्नै चार वर्षीय छोराको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले राजविराजकी एक महिलालाई पक्राउ गरेको छ। राजविराज नगरपालिका–१ का ४ वर्षीय बालक सौरभ साफीको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा आठ महिनापछि उनकी आमा २५ वर्षीया काजल देवी साफी पक्राउ परेकी हुन।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार काजल देवी साफीविरुद्ध ‘विषाधी खुवाई कर्तव्य ज्यान’ सम्बन्धी कसुरमा मुद्दा दर्ता छ। प्रहरी विवरणअनुसार गत वैशाख १४ गते साँझ करिब ८ बजे काजलले छोरालाई किरा मार्ने विषादी सेवन गराएको र त्यसपछि आफैंले पनि विष सेवन गरेकी थिईन।

आमा–छोरालाई तत्काल राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पु¥याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। धरानमा आईसीयू बेड उपलब्ध नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजाने क्रममा वैशाख १५ गते सौरभको मृत्यु भएको थियो। काजल भने उपचारपछि बाँचिन्।

घटनापछि काजल फरार रहेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा ससुरा मनिलाल साफीले जाहेरी दिएपछि नेपाल सरकार वादी बनेर काजलविरुद्ध मुद्दा दायर गरिएको थियो। सप्तरी जिल्ला अदालत राजविराजबाट वैशाख १९ गते पक्राउ अनुमति जारी भएपछि प्रहरीले खोजतलास तीव्र पारेको थियो।

डीएसपी डम्बर बहादुर पुरीका अनुसार काजललाई पुस १२ गते दिउँसो करिब साढे २ बजे राजविराज–१ स्थित चनौरा टोलबाट पक्राउ गरिएको हो। यद्यपि, घटनाको कारणबारे काजल र उनको परिवारले फरक दाबी गर्दै आएका छन्।

काजलले छोरा सौरभले घरमा राखिएको चामलमा किरा लाग्न नदिन प्रयोग हुने विषादीयुक्त ट्याबलेटलाई हजमोला पाचक सम्झेर खाएको दाबी गरेकी छिन्। छोराले ट्याबलेट मुखमा हाल्दै गर्दा आफूले निकाल्न खोज्दा ढिलो भएको र छोराको अवस्था गम्भीर भएपछि आवेगमा आएर आफूले पनि त्यही ट्याबलेट खाएको उनको भनाइ छ।

परिवारले भने उनले छोरालाई विष खुवाएको आरोप लगाएको छ। मनिलालका अनुसार काजलका श्रीमान् अनिल कुमार साफी चार वर्षदेखि वैदेशिक रोजगारका सिलसिलामा कतारमा थिए। त्यही क्रममा यो घट्ना भएको थियो। तर प्रहरीले भने घटना नियोजित हो वा दुर्घटनावश भएको भन्ने विषय अनुसन्धानपछि मात्र स्पष्ट हुने बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट