विवाहेत्तर सम्बन्धको उन्मादः रातको अन्धकारमा महिलाले घरभित्रै मच्चाईन रक्तपात, श्रीमान् र सासुको विभत्स हत्या

बारा — विवाहेत्तर सम्वन्धका कारण बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीहमा भएको आमा–छोरा हत्या प्रकरणले सिंगो समाजलाई स्तब्ध बनाएको छ। रातको अन्धकारमा घरभित्रै धारिलो हतियार प्रयोग गरी एक महिलाले आफ्नै श्रीमान र सासुको हत्या गरेकी छिन।

बुधबार बिहान करिब २ बजे स्थानीय जागरुप मण्डलको घरमा अन्धाधुन्ध खुकुरी प्रहार हुँदा उनकी ४६ वर्षीया श्रीमती सुमित्रा देवी र ३० वर्षीय छोरा रामेश्वर मण्डलको घटनास्थलमै ज्यान गएको थियो। आक्रमणमा जागरुप मण्डल स्वयं र उनकी २२ वर्षीया छोरी रिना कुमारी गम्भीर घाइते भएका छन्। दुवैको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। तालिमप्राप्त कुकुरसहित घर वरिपरि व्यापक खोजतलास र अनुसन्धान सुरु गर्दा एउटा असामान्य तथ्य फेला पर्यो। जसले प्रहरीको ध्यान तान्यो—आक्रमण भएको घरमै रहेकी बुहारी मनिता देवीलाई कुनै पनि प्रकारको चोटपटक लागेको थिएन।

यही तथ्यपछि अनुसन्धानको सुई परिवारभित्रै केन्द्रित भयो। प्रहरीको केरकारक्रममा मनिता देवीमाथि शंका गहिरिँदै गयो। अनुसन्धानका क्रममा मनिताको एक युवकसँग विवाहेत्तर प्रेम सम्बन्ध रहेको र ती युवक केही समयअघि मात्र दुबईबाट फर्किएर गाउँ आसपास देखिएको सूचना प्रहरीले पाएको थियो। सूचनाको पुष्टि हुँदै जाँदा प्रहरीले ती युवकको खोजी तीव्र बनायो।

प्रहरीले भारत भाग्नै लागेका ती युवकलाई सीमा नाकाबाट नियन्त्रणमा लिन सफल भयो। पक्राउ परेका युवकको नाम धर्मेन्द्र महतो (धिरेन्द्र महतो धानुक) रहेको बाराका प्रहरी प्रवक्ता तथा डीएसपी बिजयराज पण्डितले जानकारी दिएका छन्। घटनामा संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिइएको र उनको भूमिका तथा घटनाको योजनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि नै मनिता देवीलाई हिरासतमा राखी गहिरो सोधपुछ भइरहेको छ। एसपी कुँवरका अनुसार प्रारम्भिक अनुसन्धानले यो विभत्स हत्या मनिताकै योजनामा भएको संकेत गरेको छ। घटनाको सम्पूर्ण श्रृंखला खुलाउने प्रयास भइरहेको छ। यद्यपि हत्याको ठोस कारण र घटनाको सम्पूर्ण योजनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट