केपी ओलीको फेसबुक स्ट्याटसमा कमेन्ट गर्दा बालेन साहविरुद्ध निर्वाचन आयोगमा उजुरी
काठमाडौँ— नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक स्ट्याटसमा गरिएको एक टिप्पणीले काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन साहलाई निर्वाचन आयोगसम्म पु¥याएको छ।
सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिलाई निर्वाचन आचारसंहिता, प्रचलित कानून र लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत भएको ठहर गर्दै बालेन साहविरुद्ध निर्वाचन आयोगमा औपचारिक उजुरी दर्ता गरिएको हो।
निवेदक धर्मराज तिमिल्सिनाले निर्वाचन आयोगमा दायर गरेको उजुरीमा केपी शर्मा ओलीले सार्वजनिक रूपमा अघि सारेको ‘पारदर्शी, बौद्धिक र तथ्यमा आधारित पब्लिक डिबेट’ को प्रस्तावको सन्दर्भमा बालेन साहले फेसबुकमार्फत दिएको प्रतिक्रिया लोकतान्त्रिक बहसको मर्मसँग मेल नखाने उल्लेख गरिएको छ।
उजुरीमा बालेन साहले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता शब्दहरू कुनै प्रमाण, न्यायिक फैसला वा आधिकारिक तथ्यबिनै लगाइएका गम्भीर आरोप भएको दाबी गरिएको छ।
उजुरीमा यस्ता अभिव्यक्तिहरूले व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पु¥याउने, वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने र मतदातालाई भ्रमित पार्ने जोखिम रहेको उल्लेख छ। निवेदनकर्ताका अनुसार सामाजिक सञ्जालजस्तो प्रभावशाली माध्यमबाट गरिएका यस्ता टिप्पणीले निष्पक्ष, स्वतन्त्र र भयमुक्त निर्वाचन सम्पन्न गर्ने संवैधानिक उद्देश्यलाई कमजोर बनाउने मात्र होइन, लोकतान्त्रिक बहसलाई नीति र विचारको तहबाट आरोप, आक्रोश र अफवाहको तहमा झार्ने खतरनाक प्रवृत्ति हो।
निवेदनमा नेपालको संविधान, निर्वाचन आचारसंहिता र प्रचलित कानूनले निर्वाचन अवधिमा भ्रामक सूचना, घृणात्मक अभिव्यक्ति र अपुष्ट आरोपमार्फत मतदातालाई प्रभावित पार्न स्पष्ट रूपमा निषेध गरेको स्मरण गराइएको छ। त्यसैले बालेन साहको अभिव्यक्तिको तथ्यपरक छानबिन गरी आचारसंहिता उल्लङ्घन ठहर भए आवश्यक कानुनी कारबाही गर्न निर्वाचन आयोगसँग माग गरिएको छ।
यसै उजुरीमा महोत्तरीलगायतका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी प्रचारका क्रममा भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेको देखिने भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको उल्लेख गर्दै सो कार्य पनि निर्वाचन आचारसंहिता विपरीत भएको दाबी गरिएको छ। उक्त विषयमा समेत सत्यतथ्य छानबिन गरी आवश्यक कदम चाल्न आयोगसँग माग गरिएको छ।

