पूर्वी नेपालमा नक्कली नोटको आतंकः खुद्रा सामान किन्न र बाँकी तिर्न हजारका नक्कली नोट चलाउने हुसेन पक्राउ

विराटनगर — मोरङको रंगेलीमा सामान्य दैनिक किनमेल र उधारो भुक्तानीको बहानामा नक्कली नोट चलाउने प्रयास सार्वजनिक भएपछि स्थानीय बजार तरंगित बनेको छ। सामान्य खुद्रा कारोबारजस्तो देखिने गतिविधिभित्र लुकेको नक्कली नोटको खेल प्रहरीले भण्डाफोर गरेको छ भने यसमा संगठित गिरोह संलग्न हुनसक्ने आशंकासहित अनुसन्धानलाई तीव्र बनाइएको छ।

नक्कली एक हजार दरका नोट प्रयोग गरेको आरोपमा रंगेली नगरपालिका–२ का ४५ वर्षीय सहमद हुसेन मंगलबार राति पक्राउ परेका छन्। प्रहरीले दिएको जानकारी अनुसार हुसेनले रंगेलीस्थित नवीन पुरीले सञ्चालन गरेको डिस्टिलरी पसलबाट रेडबुल खरिद गर्ने क्रममा एक हजार दरको नक्कली नोट दिएका थिए। त्यस्तै, उज्वल ढकालले सञ्चालन गरेको किराना पसलमा उधारो रकम तिर्दा पनि उनले उस्तै किसिमको नक्कली नोट प्रयोग गरेको खुलेको छ।

पसलमा आएको नोटको कागज, छाप र बनावट अस्वाभाविक देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना पाउनासाथ सक्रिय भएको प्रहरी टोलीले राति करिब ८ बजे हुसेनलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक सोधपुछकै क्रममा उनले घरमा पनि नक्कली नोट हुनसक्ने संकेत दिएपछि इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटीको नेतृत्वमा टोलीले थप खोजतलास अघि बढाएको थियो।

खानतलासीका क्रममा हुसेनले प्रयोग गर्दै आएको प्रदेश १–०१–००४ ह ०६३७ नम्बरको सीटी सफारीको चालक सिटको डिकीभित्र एक हजार दरका दुईवटा नक्कली नोट फेला परेका छन्। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार हुसेनको शरीरबाट पनि अर्को एक हजार दरको नक्कली नोट बरामद गरिएको छ। यसअघि पसलहरूमा प्रयोग गरिएको नोटसमेत जोड्दा प्रहरीले हालसम्म पाँचवटा नक्कली एक हजार दरका नोट नियन्त्रणमा लिएको छ।

हुसेनलाई इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानले यो गतिविधि एक व्यक्तिमा सीमित नभई संगठित गिरोहसँग जोडिएको हुनसक्ने संकेत देखाएको प्रहरीको भनाइ छ। हुसेनले नक्कली नोट कहाँबाट ल्याए, कसले उपलब्ध गरायो र यसमा अरू को–को संलग्न छन् भन्ने विषयमा विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले नक्कली नोटको स्रोत पहिचान गर्दै त्यसको जालोसम्म पुग्ने प्रयास गरिरहेको जनाएको छ। एसपी कटवालले शंकास्पद नोट देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट