सिंहदरबार आगजनीको छायाँ बालेनको चुनावमाः आगजनीमा देखिएकी युवती पत्नी सविनाको टिमसँगै घरदैलोमा
राजविराज — प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को चुनावी प्रचार अभियानमा नयाँ र गम्भीर विवाद जोडिएको छ।
भदौ २४ गते भएको विध्वंसात्मक घटनाका क्रममा सिंहदरबार परिसरमा तोडफोड र आगजनीको दृश्यमा देखिएकी एक युवती हाल बालेन साहकी पत्नी सविना काफ्लेको नेतृत्वमा चलिरहेको घरदैलो अभियानमा सक्रिय देखिएको दाबी सार्वजनिक भएपछि राजनीतिक वृत्तमा प्रश्न र आशंका तीव्र बनेका छन्।
हाल सुदूरपश्चिम यात्रामा रहेका बालेन साहका तर्फबाट उनकी पत्नी सविना काफ्ले र उनको टोलीले केही दिनयता झापा–५ का विभिन्न बस्तीमा पुगेर मतदाता भेटघाट र भोट माग्ने अभियान चलाइरहेका छन्। यही क्रममा सविनासँगै एक युवती निरन्तर देखिएको भन्दै सामाजिक सञ्जालमा तस्बिर र भिडियोहरू सार्वजनिक भएका छन्। ती सामग्रीमा देखिएकी युवती भदौ २४ गते सिंहदरबारको मूलगेट आसपास भएको तोडफोडका बेला उत्साहित मुद्रामा देखिएकी व्यक्ति नै भएको दाबी गरिएको छ।
भदौ २४ को घटनाका क्रममा सिंहदरबार क्षेत्र तनावग्रस्त बनेको थियो। तोडफोड र आगजनीका दृश्यहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका थिए, जसमा केही व्यक्तिहरूलाई खुलेर उक्साहटपूर्ण व्यवहार गर्दै रमाइरहेको देख्न सकिन्थ्यो। अहिले बालेन साहको चुनावी प्रचारमा देखिएकी युवती पनि त्यही दिनका तस्बिर–भिडियोमा पहिचानयोग्य रूपमा देखिएको आरोप लगाईएको छ।
यस घटनाले थप चर्को रूप लिनुको कारण बालेन साह स्वयंले विगतमा सार्वजनिक अभिव्यक्तिहरूमा ‘सिंहदरबार जलाइदिन्छु’ जस्ता उग्र भनाइ दिएका प्रसंग बारम्बार उद्धृत हुनु हो। त्यही पृष्ठभूमिमा सिंहदरबार तोडफोडमा संलग्न भएको आरोप लागेकी युवती बालेन पत्नीको टोलीसँगै घरदैलोमा देखिनुले यो केवल संयोग हो कि सुनियोजित राजनीतिक सन्देश र दबाबको रणनीति हो भन्ने प्रश्न उठाइएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार चुनावी अभियानमा विवादास्पद पृष्ठभूमि भएका व्यक्तिहरूको सक्रियता स्वयं उम्मेदवारका लागि नै जोखिमपूर्ण हुन सक्छ। अझ राज्यको केन्द्रमा रहेको सिंहदरबारमाथि भएको आक्रमणसँग जोडिएको आरोप बोकेको पात्रको उपस्थितिले मतदातामा गलत सन्देश जाने र कानुनी तथा नैतिक प्रश्न खडा हुने उनीहरूको भनाइ छ।
यद्यपि यस विषयमा बालेन साह, उनकी पत्नी सविना काफ्ले वा राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन। आरोप र तस्बिर–भिडियोको सत्यता तथा ती युवतीको भूमिकाबारे पुष्टि हुन बाँकी नै छ। तर, चुनावी माहोल चर्किँदै गएको झापा–५ मा यो प्रसंगले बालेन साहको प्रचार अभियानमाथि प्रश्नचिह्न खडा गरिदिएको छ। र आगामी दिनमा यसले कस्तो राजनीतिक प्रभाव पार्छ भन्ने चासो बढ्दै गएको छ।

