विद्यालयको ८९ लाख भाडा विवादमा घेरिएका सुनसरी–२ का रास्वपा उम्मेदवार थापाको सांसद बन्ने सपना !

इटहरी — चुनावी माहोल तात्दै जाँदा सुनसरी क्षेत्र नम्बर २ को राजनीतिक मैदानमा नयाँ बहस र विवादको केन्द्र बनेका छन् लालविक्रम थापा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोशी प्रदेश महामन्त्री तथा प्रतिनिधिसभा उम्मेदवारका रूपमा चुनावी दौडमा उत्रिएका थापा सार्वजनिक छवि, आर्थिक लेनदेन र पार्टीभित्रको शक्ति संघर्षका कारण चर्चाको केन्द्रमा पुगेका हुन्।

चुनावी अभियान तीव्र बनाउँदै गर्दा पुराना आर्थिक विवादहरू फेरि सतहमा आउन थालेपछि इटहरी मात्र होईन उनको राजनीतिक यात्रामाथि नै प्रश्न उठेको छ। थापा यसअघि पनि यही क्षेत्रबाट चुनावी मैदानमा उत्रिएर सम्मानजनक मत पाएका नेता हुन्। रास्वपा राष्ट्रिय स्तरमा चर्चामा नआएको समयमै सुनसरीमा आफ्नो राजनीतिक प्रभाव विस्तार गर्न सफल भएका उनी अहिलेको चुनावलाई निर्णायक बनाउन सक्रिय देखिन्छन्। तर उनीमाथि लागेको आरोपले राजनीतिक प्रतिस्पर्धा मात्र होइन, सार्वजनिक नैतिकताको प्रश्न पनि उठाएको छ।

इटहरी–९ बुद्धचोकस्थित जनता माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर लामो समयसम्म रकम नतिरेको आरोपले उनलाई विवादको घेरामा धकेलेको छ। विद्यालय स्रोतका अनुसार थापासँग सम्बन्धित सनमुन प्लाजाले विद्यालयको करिब दुई कट्ठा जग्गा २०७६ साउन १ देखि लागू हुनेगरी भाडामा लिएको थियो। सम्झौताअनुसार मासिक १ लाख ७ हजार ५ सय १ रुपैयाँ भाडा बुझाउने र प्रत्येक दुई वर्षमा ५ प्रतिशतका दरले भाडा बढ्ने व्यवस्था गरिएको थियो।

त्यस्तै, सो जग्गामा भौतिक संरचना निर्माण गर्ने जिम्मा पनि सनमुन प्लाजाकै रहने सहमति भएको थियो। भवन निर्माण भइसकेको र अहिले भाडामा लगाइसकिएको अवस्थामा पनि विद्यालयले पाउनुपर्ने रकम भने अझै नपाएको दाबी गरिएको छ।

सम्झौता कार्यान्वयनमा समस्या आएपछि विद्यालयले २०७८ चैतमै पत्र पठाएर तीन दिनभित्र भाडा तिर्न अल्टिमेटम दिएको थियो। तर समय बित्दै जाँदा पनि रकम नआएपछि विवाद झन् चर्कियो। विद्यालयले गरेको हिसाबअनुसार २०७६ साउनदेखि २०८२ साल फागुन १ गतेसम्मको अवधिमा थापाले करिब ८९ लाख ९२ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्ने देखिएको छ।

यसमा २०७६ साउनदेखि २०७८ असार मसान्तसम्मको २५ लाख ८० हजार, २०७८ साउनदेखि २०८० असार मसान्तसम्मको २७ लाख ९ हजार, २०८० साउनदेखि २०८२ असार मसान्तसम्मको २८ लाख ३८ हजार र त्यसपछि सात महिनाको ८ लाख ६५ हजार ३ सय ७५ रुपैयाँ समावेश छ।

सम्झौता प्रारम्भमा तत्कालीन सहायक प्रधानाध्यापक पशुपति सिग्देल, हालका प्रधानाध्यापक मुकेश कोइराला, मुकेश फर्निचर उद्योग इटहरीका गणेश प्रसाद कोइराला, पुष्कर थापा र लालविक्रम थापाबीच भएको थियो। पछि उक्त सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्ने जिम्मा सनमुन प्लाजाले लिएको बताइएको छ। तर विद्यालयले पटक–पटक सूचना जारी गरेर ताकेता गर्दा पनि रकम नआएपछि विवाद राजनीतिक रंग लिन पुगेको थियो।

यो प्रकरणले रास्वपा भित्र पनि तरंग पैदा गरेको थियो। विवाद सतहमा आएपछि पार्टीका तत्कालीन कोशी प्रदेश प्रवक्ता कमलबाबु मैनालीले विज्ञप्ति जारी गर्दै थापालाई कारबाही गरिएको जानकारी दिएका थिए। तत्कालीन प्रदेश अध्यक्ष राजेश तिम्सिनाको निर्देशनमा अर्को निर्णय नआएसम्म उनलाई पार्टीका गतिविधिमा संलग्न नहुन भनिएको थियो। तर समयसँगै राजनीतिक समीकरण उल्टिएको देखिन्छ।

अहिले मैनाली र तिम्सिनालाई नै पार्टी हितविपरीत गतिविधि गरेको आरोप लगाउँदै कारबाही गरिएको छ, जसका कारण रास्वपा भित्रै शक्ति संघर्षको चर्चा चुलिएको छ। पार्टीभित्रका केही नेताहरूका अनुसार थापा फरक मत राख्ने वा आलोचना गर्नेहरूलाई कडा कारबाही गर्ने शैलीका कारण पनि विवादित बनेका छन्।

गृह नगर इटहरी र गृह जिल्ला सुनसरीमै रास्वपा कार्यकर्ताबीच मतभेद बढ्नुको कारण पनि उनको नेतृत्व शैली भएको आरोप लगाइन्छ। यसले चुनावी मैदानमा उनको छवि र रणनीतिलाई थप जटिल बनाएको छ।

आफूमाथि लागेको आरोपबारे भने थापाले पहिले नै स्पष्टीकरण दिँदै आएका छन्। उनले भवन निर्माणमा ठूलो लगानी गरेको तर कोरोना महामारीका कारण समयमै निर्माण सम्पन्न गर्न नसक्दा समस्या आएको बताएका छन्। विभिन्न निकायबाट अवरोध र प्रशासनिक झन्झटका कारण भवन समयमै भाडामा दिन नसक्दा भाडा तिर्न ढिलाइ भएको दाबी पनि उनले गरेका छन्।

तर चुनावी माहोलमा पुनः सुरु भएको यो विवादले सुनसरी क्षेत्र नम्बर २ को राजनीतिक बहसलाई तीव्र बनाएको छ, जहाँ मतदाता अब नेताको प्रतिबद्धता मात्र होइन, विगतका व्यवहारको पनि हिसाब माग्न थालेका छन्।

यही विषयमा मतदाताको प्रश्नको सामना गर्नु पर्ने डरले थपा भागी हिडेको आरोप छ। यो विषयमा जिल्ला अदालत सुनसरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा मुद्धा दर्ता भएको थियो। ती दुई निकायमा दर्ता भएको मुद्धा विचाराधिन अवस्थामा रहेको छ। बुधबार बालग्राम टोल विकास समितिले इटहरी १६ हर्दियामा आयोजना गरेको प्रत्यक्ष संवाद(ककस) कार्यक्रममा पनि उनी सहभागी भएनन्। आयोजकका अनुसार थापासमेतलाई कार्यक्रममा पत्रचार र फोन गरि सहभागीताका लागि अनुरोध गरिएको थियो।

उनले सुरुमा पार्टीको निर्देशनका कारण अन्तरक्रियामा सहभागी नहुने जवाफ दिए पनि अन्तरक्रियाको अघिल्लो साँझ सहभागि हुने वाचा गरेका थिए। तर कार्यक्रममा भने उनी सहभागी नै भएनन्। निर्धारित चुनावी घरदैलोको व्यस्तता देखाएर सो अन्तरक्रियामा सहभागी नभएको जनाईएको छ। सो टोल विकास समितिले आयोजना गरेको अन्तरक्रियामा नयाँ र पुराना दलहका १२ जना उम्मेदवारहरु सहभागी भई जनता(मतदाता)हरुको प्रश्नको सामाना गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट