गौर तनावको विस्फोटः दुई समुदायबीच उग्र झडपपछि कर्फ्यु, हवाइ फायर र अश्रुग्यास प्रहार

रौतहट— रौतहटको सदरमुकाम गौर एकाएक अशान्त बनेको छ। गौर नगरपालिका–६ स्थित सनगढा (सवगढा) गाउँमा दुई समुदायबीच सुरु भएको विवाद शनिबार उग्र झडपमा परिणत भएपछि स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ।

बढ्दो तनाव र सम्भावित हिंसात्मक अवस्थालाई नियन्त्रणमा लिन दिउँसो १ बजेदेखि कफ्र्यू लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। स्थानीय स्रोतका अनुसार विवाद धार्मिक गतिविधिसँग जोडिएको विषयबाट सुरु भएको हो।

मस्जिदमा प्रार्थना भइरहेका बेला हिन्दू समुदायका केही व्यक्तिले बाजा बजाएको विषयलाई लिएर असन्तुष्टि बढ्दै गएपछि दुई पक्षबीच विवाद चर्किएको बताइएको छ। सुरुमा सामान्य भनिएको विवाद क्रमशः झडप, ढुंगामुढा, तोडफोड र आगजनीसम्म पुगेपछि सुरक्षा अवस्था संवेदनशील बनेको थियो।

घटनापछि शुक्रबार बिहानैदेखि गौर क्षेत्र तनावग्रस्त बनेको थियो। प्रशासनले तत्काल हस्तक्षेप गर्दै दुवै पक्षबीच संवादको प्रयास गरे पनि शनिबार बिहानदेखि पुनः ढुंगामुढा सुरु भएपछि स्थिति झनै नियन्त्रणबाहिर जाने संकेत देखिएको थियो। यही अवस्थालाई मध्यनजर गर्दै प्रशासनले कफ्र्यू घोषणा गरेर कडा सुरक्षा व्यवस्था लागू गरेको हो।

सीडीओ दिनेश सागर भूसालका अनुसार कफ्र्यूको दायरा गौर क्षेत्रका प्रमुख प्रवेशद्वार र संवेदनशील क्षेत्रहरूलाई समेटेर तोकिएको छ। प्रशासनले जारी गरेको सूचनाअनुसार पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालयसम्म कफ्र्यू लागू गरिएको छ। उनका अनुसार अवस्था असामान्य बन्दै गएको र हिंसात्मक गतिविधि थप फैलिन सक्ने संकेत देखिएकाले यस्तो कदम चालिएको हो।

झडप बढ्दै गएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले हवाइ फायर र अश्रुग्यासका सेलहरू प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ। गौर नगरपालिका वडा नम्बर ४, ५ र ६ क्षेत्रमा झडप केन्द्रित भएको जानकारी प्राप्त भएको छ। प्रदर्शनकारीहरूले केही सवारीसाधनमा आगजनी गरेका छन् भने केही घरमा तोडफोड भएको र केही व्यक्ति सामान्य घाइते भएको प्रहरी स्रोतले जनाएको छ।

कफ्र्यू लागू भएसँगै क्षेत्रमा कडा सुरक्षा घेरा कायम गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासमेत परिचालन गरेर संवेदनशील क्षेत्रहरूमा निगरानी बढाइएको छ। सुरक्षा निकायले स्थिति सामान्य बनाउन लगातार गस्ती र निगरानी गरिरहेको बताइएको छ।

यसअघि शुक्रबार दुई समूहबीच भएको झडपपछि प्रशासनको पहलमा साँझ दुवै पक्षबीच ६ बुँदे सहमति भएको थियो। सामाजिक सद्भाव कायम राख्ने, संयमता अपनाउने तथा आगामी निर्वाचनको वातावरण बिग्रन नदिन दुवै पक्ष सहमत भएका थिए। तर, शनिबार बिहानैदेखि पुनः ढुंगामुढा सुरु भएपछि उक्त सहमतिको प्रभाव कमजोर भएको देखिएको छ।

प्रशासनले कफ्र्यू अवधिभर कुनै पनि व्यक्तिलाई घरबाहिर निस्कन, भेला जुलुस गर्न, सभा प्रदर्शन गर्न तथा सवारीसाधन सञ्चालन गर्न पूर्ण रूपमा निषेध गरिएको स्पष्ट पारेको छ। सर्वसाधारणलाई अफवाहमा नलाग्न, संयमता अपनाउन र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट