गगन थापाको धमाकेदार घोषणाः अब जनता होइन, सांसद आफैँ घरदैलोमा!, अस्पतालमा उपचार पूर्ण निःशुल्क बनाउने दाबी
सर्लाही — चुनावी माहोल तातिँदै जाँदा मधेसको राजनीतिक मैदानमा ठूलो सन्देश दिन खोज्दै नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाहीको गाउँ–गाउँमा पुगिरहेका छन्।
घरदैलो अभियानका क्रममा मतदातासँग सीधा संवाद गर्दै उनले एक स्पष्ट प्रतिज्ञा गरे—अब सर्लाहीका नागरिकले आफ्ना सांसद खोज्दै धाउनुपर्ने दिन अन्त्य भयो। सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने भगवतीपुर र सिमरामा पुगेका थापालाई स्थानीय मतदाताले वर्षौंदेखि दोहोरिँदै आएको पीडा सुनाए—चुनावको बेला घरघर पुग्ने उम्मेदवारहरू जितेपछि कहिल्यै फर्केर नआउने।
यही गुनासोको बीच उनले आफूलाई परम्परागत राजनीति तोड्ने नेताको रूपमा प्रस्तुत गर्दै सर्लाहीमै स्थायी सम्पर्क कार्यालय स्थापना गर्ने घोषणा गरे। घरदैलोका क्रममा मतदातासँग घुलमिल हुँदै उनले ‘नेपाललाई नेतृत्व गर्न काठमाडौं र पहाड मात्र बुझेर पुग्दैन, मधेसको वास्तविकता बुझ्नु अनिवार्य छ’ भन्दै मधेशको सेन्टिमेन्टमा प्रहार गरे।
मधेशलाई नवुझी देशको नेतृत्व गर्न नसकिने बुझाइका कारण आफू सर्लाही आएको भन्दै उनले आफूलाई मधेससँग प्रत्यक्ष जोड्ने राजनीतिक यात्रा सुरु भएको संकेत दिए। उनले मतदातालाई सम्बोधन गर्दै भने—अब नागरिकहरूले आफ्ना समस्या लिएर सांसदको ढोका ढकढक्याउनुपर्ने अवस्था अन्त्य गरिनेछ, बरु सांसद नै नागरिकको घरदैलोमा पुग्नेछन्। उनले आफ्नो टिम र सम्पर्क संयन्त्रमार्फत नागरिकसँग निरन्तर सम्पर्क कायम राख्ने वाचा गरे।
चुनावी भाषणमै उनले ठूला नीतिगत प्रतिबद्धता पनि अघि सारे। कांग्रेस नेतृत्वमा सरकार बनेपछि देशका कुनै पनि नागरिकले अस्पताल जाँदा उपचारका लागि आफ्नो खल्तीबाट एक रुपैयाँ पनि तिर्न नपर्ने अवस्था सिर्जना गर्ने दाबी उनले गरे। स्वास्थ्य सेवा पहुँच र किसानका समस्या समाधानलाई आफूले प्राथमिकतामा राखेको बताउँदै उनले विशेषगरी उखु किसानको समस्या आफूले प्रधानमन्त्रीसमक्ष उठाइसकेको खुलासा गरे।
सर्लाहीको आर्थिक मेरुदण्ड मानिने उखु खेतीको समस्यालाई अब आफ्नो जिम्मेवारीका रूपमा लिएर समाधानतर्फ अघि बढ्ने उनको भनाइ थियो। थापाले आफ्नो निर्वाचन क्षेत्रलाई मधेसकै अग्रणी विकास क्षेत्र बनाउने लक्ष्यसमेत सार्वजनिक गरे।
सर्लाही क्षेत्र नम्बर ४ मा इन्जिनियरिङ कलेज स्थापना गर्ने पहल अघि बढिसकेको र यही क्षेत्रमा किड्नी उपचार केन्द्र निर्माण गर्ने निर्णयसमेत भइसकेको दाबी गर्दै उनले विकासको नयाँ खाका प्रस्तुत गरे। यद्यपि निर्वाचन आचारसंहिताका कारण सबै योजना खुलाउन नमिल्ने उल्लेख गर्दै उनले आगामी दिनमा सर्लाहीको पूर्वाधार, स्वास्थ्य र शिक्षामा ठूलो परिवर्तन ल्याउने संकेत दिए।
चुनावी माहोललाई थप तातो बनाउँदै उनले मतदातालाई प्रत्यक्ष अपिल गरे—अबको चुनावमा पुराना राजनीतिक समीकरणभन्दा विकास र जिम्मेवारीलाई आधार बनाएर निर्णय गर्नुपर्ने समय आएको छ। उनले मतदातालाई घरघरमा गएर सन्देश फैलाउन आग्रह गर्दै यस पटक सर्लाहीको विकासका लागि आफूलाई अवसर दिनुपर्ने बताए।
आफ्नो अभियानलाई केवल मत माग्ने अभियान नभई अधिकार र विकासको लडाइँका रूपमा चित्रित गर्दै उनले आफू सर्लाहीसँग दीर्घकालीन सम्बन्ध बनाउन आएको दाबी गरे। चुनावी मैदानमा बढ्दो प्रतिस्पर्धा र मधेसको राजनीतिक संवेदनशीलताबीच थापाको यो आक्रामक राजनीतिक प्रस्तुति सर्लाहीको चुनावी समीकरणलाई नयाँ मोडमा लैजान सक्ने संकेत देखिएको छ।
स्थानीय मतदाताले पनि परम्परागत राजनीति भन्दा फरक शैलीमा आएको यो प्रतिबद्धताप्रति चासोका साथ प्रतिक्रिया दिन थालेका छन्।
