‘जान्नेलाई छान्ने’ नाराभित्र पैसाको सौदाबाजीः रास्वपामा टिकट किनबेचको अडियो काण्डले मच्चायो बबण्डर
राजविराज– नेपाली राजनीतिमा सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको कडा नारासहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी अहिले टिकट बाँडफाँडमा आर्थिक चलखेल भएको गम्भीर आरोपमा फसेको छ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका आरोपसँग जुधिरहेका पार्टी सभापति रवि लामिछाने नेतृत्वको दलभित्रैबाट बाहिरिएको अडियो संवादले पार्टीको नैतिक छवि र विश्वसनीयतामाथि ठूलो प्रश्नचिन्ह खडा गरेको छ।
बाहिरिएको करिब १० मिनेट लामो अडियोमा रास्वपाका सिन्धुपाल्चोकका नेता प्रमोद न्यौपाने र मधेश प्रदेशका नेता दिनेश साहु बीच प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी टिकट खरिद–बिक्री भएको विषयमा भएको संवाद सुन्न सकिन्छ। उक्त संवादमा मधेशका विभिन्न निर्वाचन क्षेत्रमा टिकट वितरणका क्रममा पैसाको प्रभाव परेको, आपराधिक पृष्ठभूमि भएका व्यक्तिलाई समेत टिकट दिइएको र पार्टीभित्रै असन्तुष्टि चुलिएको खुलासा गरिएको छ।
यस घटनाले नयाँ राजनीतिक शक्ति भनेर दाबी गरिरहेको दलभित्र पनि पुरानै राजनीतिक संस्कार र पैसाको खेल गहिरिँदै गएको संकेत दिएको विश्लेषण हुन थालेको छ। संवादमा धनुषा क्षेत्र नम्बर २ मा टिकट वितरणको प्रसंग प्रमुख रूपमा उठाइएको छ। त्यहाँ रास्वपाबाट उम्मेदवार बनेका रामविनोद यादव भर्खरै जेलमुक्त भएको र सदस्यता लिएकै दिन टिकट पाएको दाबी गरिएको छ।
उक्त निर्णयले कार्यकर्ताहरू र स्थानीय मतदाताबीच असन्तोष बढेको पृष्ठभूमिमा टिकट पैसाको चलखेलबाट वितरण भएको आरोप अडियोमा स्पष्ट रूपमा सुनिन्छ। साहुले सो क्षेत्रमा टिकट बिक्रीको मुख्य भूमिका मनिष झाले खेलेको दाबी गरेका छन्, जो धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका छन्। उनीमाथि डेढ करोड रुपैयाँ लिएर टिकट बेचेको आरोप लगाइएको छ, जसले पार्टीभित्र गम्भीर नैतिक संकट सिर्जना गरेको छ।
संवादमा अन्य केही उम्मेदवारहरूको नामसमेत उल्लेख गरिएको छ, जसमा सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार अमरेशकुमार सिंह, सिराहा क्षेत्र नम्बर ४ का तपेश्वर यादव र समानुपातिकतर्फका उम्मेदवार पुरुषोत्तम यादवसमेत टिकट खरिद प्रकरणमा जोडिएको आरोप लगाइएको छ। अडियोमा यी नामहरू उल्लेख गरिँदा पार्टीभित्र टिकट वितरण प्रक्रियामा पैसाको प्रभाव रहेको गम्भीर संकेत देखिएको छ। यसले पार्टीले सार्वजनिक रूपमा दाबी गर्दै आएको नैतिकता र व्यवहारिक राजनीतिबीचको दूरी उजागर गरेको टिप्पणी राजनीतिक वृत्तमा हुन थालेको छ।
संवादको अर्को महत्वपूर्ण पक्ष भनेको पार्टीभित्रैबाट आएको स्वीकारोक्ति हो। न्यौपानेले टिकट वितरणमा आर्थिक चलखेल भएको विषय आफूले पनि सुनेको र यसबारे पार्टीभित्र गुनासो पुगेको स्वीकार गरेको अडियोमा सुनिन्छ। उनले अहिलेको अवस्थालाई ‘जे भए पनि यसपालि यतिमै टुंगियो’ भन्ने शैलीमा व्याख्या गर्दै आगामी चुनावमा पार्टीका उम्मेदवारलाई जिताउन सहयोग गर्न आग्रह गरेका छन्।
यसले पार्टी नेतृत्वले विवादलाई तत्काल समाधान गर्नेभन्दा पनि चुनावी व्यवस्थापनतर्फ ध्यान दिएको संकेत दिएको विश्लेषण भइरहेको छ। संवादका क्रममा मधेश प्रदेशका विभिन्न जिल्लाहरू सप्तरी, बारा, पर्सा, धनुषा लगायत क्षेत्रमा टिकट वितरणमा असन्तुष्टि व्यापक रहेको दाबी पनि गरिएको छ।
अडियो सार्वजनिक भएपछि ‘जान्नेलाई छान्ने’ भन्ने नाराले चर्चा कमाएको पार्टीभित्र वास्तविकता भने पैसा हुनेलाई प्राथमिकता दिने संस्कार हावी भएको आरोप अझ तीव्र बनेको छ। नयाँ राजनीतिक विकल्पका रूपमा उदाएको दलमाथि यस्तो आरोप सार्वजनिक रूपमा पुष्टि हुने संकेत देखिएपछि पार्टीको नैतिक आधार र राजनीतिक विश्वसनीयता दुवै संकटमा परेको टिप्पणी भइरहेको छ।
विशेषगरी भ्रष्टाचारविरोधी अभियान र सुशासनको नारालाई मुख्य राजनीतिक पूँजी बनाएको दलमाथि टिकट किनबेचको आरोप लाग्नु केवल संगठनात्मक विवाद मात्र नभई राजनीतिक चरित्रकै परीक्षणका रूपमा हेरिएको छ। अडियो प्रकरणले पार्टीभित्रको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता र चुनावी रणनीतिबारे गम्भीर प्रश्न उठाएको छ।
यदि यी आरोपहरूको स्पष्ट जवाफ र अनुसन्धान भएन भने नयाँ राजनीतिक शक्तिको रूपमा बनेको छवि नै कमजोर हुने संकेत देखिएको छ। अहिले सार्वजनिक भएको संवादले एउटा कडा सन्देश दिएको छ—नेपाली राजनीतिमा परिवर्तनको नाममा आएको शक्तिले पनि यदि पुरानै शैलीमा टिकट बाँडफाँड र पैसाको प्रभावलाई स्वीकार गर्छ भने जनताले गरेको भरोसा भत्किन धेरै समय लाग्दैन।
