रास्वपामा पहिरो झन् तीव्रः जिल्ला सभापति महेन्द्रसिंह ठकुरी कांग्रेसमा प्रवेश

नवलपरासी– नेपालको नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको दलभित्र पछिल्लो समय देखिएको असन्तुष्टि र आन्तरिक हलचल झन वढेर विस्फोट हुन थालेको छ। जिल्ला तहदेखि केन्द्रसम्म संगठन विस्तार गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी अहिले आफ्नै नेताहरूको पलायनको सामना गरिरहेको छ, जसले पार्टीको भविष्य र संगठनात्मक स्थायित्वबारे गम्भीर प्रश्न खडा गरेको छ।

यही क्रमको पछिल्लो घटनामा नवलपरासी जिल्ला सभापति महेन्द्रसिंह ठकुरीले पार्टी परित्याग गर्दै खुला रूपमा नयाँ राजनीतिक यात्रा सुरु गरेका छन्। ठकुरीले आज औपचारिक रूपमा पार्टी छाड्दै नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।

नवलपरासीको बर्दघाटमा आयोजित कांग्रेसको चुनावी सभामा उनलाई पार्टीमा स्वागत गरिएको छ। कार्यक्रममा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई पार्टीमा स्वागत गर्दै संगठन विस्तार र आगामी चुनावी रणनीतिमा नयाँ ऊर्जा थपिएको बताएका छन्। कांग्रेसले यसलाई केवल एक व्यक्तिको प्रवेश नभई नयाँ राजनीतिक सन्तुलनतर्फको संकेतका रूपमा प्रस्तुत गरेको छ।

नवलपरासीमा रास्वपाको संगठन निर्माणमा सक्रिय भूमिका खेलेका ठकुरीको पार्टी परित्यागलाई सामान्य घटना मात्र मानिएको छैन। स्थानीय स्तरमा संगठन विस्तार, कार्यकर्ता परिचालन र चुनावी तयारीमा संलग्न नेता अचानक पार्टीबाट बाहिरिनुले पार्टीभित्र गहिरिँदो असन्तुष्टि र रणनीतिक अन्योलको संकेत दिएको विश्लेषण भइरहेको छ।

पछिल्लो समय रास्वपाबाट नेताहरूको बहिर्गमन निरन्तर देखिन थालेपछि राजनीतिक वृत्तमा ‘नयाँ पार्टीभित्र पुरानो समस्या’ दोहोरिन थालेको टिप्पणी हुन थालेको छ। ठकुरीको बहिर्गमन एक्लो घटना भने होइन। केही दिनयता विभिन्न जिल्लामा रास्वपाबाट सामूहिक रूपमा नेता–कार्यकर्ताहरू बाहिरिने क्रम बढ्दै गएको छ।

हिजो मात्रै दाङमा दुई दर्जन क्षेत्रीय नेताहरूले पार्टी छाडेको घोषणा गरेका थिए। त्यस्तै यसअघि मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा, संस्थापक सदस्य उर्मिला भुर्तेल तथा डा. प्रणय राणलगायतका नेताहरूले समेत पार्टीबाट दूरी बनाइसकेका छन्। यसरी चुनावको मुखमा लगातार नेताहरू बाहिरिन थालेपछि पार्टीको संगठनात्मक संरचना र नेतृत्व शैलीबारे बहस चर्किएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार नयाँ आशा र परिवर्तनको नारासहित उदाएको पार्टीमा यदि संगठन व्यवस्थापन, नेतृत्व समन्वय र कार्यकर्ताको अपेक्षा सम्बोधन गर्न नसकिए भने यस्ता पलायनहरू अझ बढ्न सक्छन्।

अहिले देखिएको क्रमले आगामी चुनावी समीकरणमा पनि प्रभाव पार्न सक्ने संकेत देखिएको छ। विशेषगरी जिल्ला र प्रदेश तहका प्रभावशाली नेताहरू पार्टी छाड्दै जाँदा त्यसको असर प्रत्यक्ष रूपमा स्थानीय राजनीति र चुनावी गणितमा पर्ने निश्चित मानिएको छ।

यो पनि,

चुनावको मुखमा नेता पलायनको रोगले हल्लियो राष्ट्रिय स्वतन्त्र पार्टीः ठुलो राजनीतिक संकटमा रवि लामिछाने


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट