रौतहटमा वडाध्यक्ष नै अपहरण प्रकरणमा जेल चलान, अपहरित बालिका अझै बेपत्ता

जनकपुर– रौतहटको दुर्गाभगवती गाउँपालिका–४ का वडाका वडाध्यक्ष रामानन्द प्रसादलाई अपहरण मुद्दामा अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ।

जिल्ला अदालत मकवानपुरका न्यायाधीश पूर्णिमा कोइरालाको एकल इजलासले वडाध्यक्ष रामानन्द प्रसादलाई थुनामा राखेर मुद्दा चलाउन आदेश दिएको हो। अदालतको आदेशअनुसार उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ तथा दफा ८० बमोजिम थुनुवा पुर्जी दिई मकवानपुरस्थित भीमफेदी कारागारमा पठाइएको छ।

उनीमाथि दुर्गाभगवती गाउँपालिका–४ छतौनाकी १४ वर्षीया बालिकाको अपहरण प्रकरणमा संलग्न रहेको अभियोग दर्ता भएको छ। एक जना निर्वाचित वडाध्यक्षमाथि यस्तो गम्भीर अभियोग लागेर जेल चलान हुनुले स्थानीय शासन प्रणालीको नैतिकता र विश्वसनीयतामाथि गम्भीर धक्का पुगेको विश्लेषण भइरहेको छ।

प्रहरीका अनुसार घटनामा अन्य केही व्यक्तिहरू पनि संलग्न रहेको आशंका गरिएको छ। रान्धिर यादव, अनितादेवी यादव, मनतजिर यादव, मेनुकाकुमारी यादव र काजलकुमारी यादव हाल फरार छन् र उनीहरूको खोजी तीव्र बनाइएको प्रहरीले जनाएको छ।

अझै चिन्ताजनक पक्ष भनेको गत २ पुसदेखि बेपत्ता भएकी १४ वर्षीया बालिकाको अवस्था हालसम्म अज्ञात छ। बालिकालाई छतौनाकै २० वर्षीय दिलीप नामक युवकले पुस २ गते राति मकवानपुरको हेटौँडाबाट भगाएर लगेका थिए। त्यसयता बालिका र ती युवक दुवै सम्पर्कविहीन छन्।

बालिकाका बुवा नेमलाल राय यादवले छोरी अचानक सम्पर्कविहीन भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत इलाका प्रहरी कार्यालय गंगापिपरामा जाहेरी दिएका थिए, जसबाट अनुसन्धानको औपचारिक प्रक्रिया अघि बढेको हो।

यो घटनाले स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय र राजनीतिक नेतृत्वको भूमिकामाथि गम्भीर बहस सुरु भएको छ। विशेषगरी मधेस प्रदेशमा शान्ति सुरक्षा, सुशासन र सामाजिक न्यायको नारा दिने नेताहरूको प्रतिबद्धता व्यवहारमा कति प्रभावकारी छ भन्ने प्रश्न फेरि उठेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट