धादिङको सभामा आशिका तामाङले ‘म भ्रष्टाचार गर्न आएको हुँ’ भनेपछि तात्यो राजनीति

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ क्षेत्र नम्बर–१ की उम्मेदवार आशिका तामाङले चुनावी सभामा बोलेको एक वाक्यले अहिले सामाजिक सञ्जाल तताएको छ।

सुशासन र भ्रष्टाचार अन्त्यको नारासहित मैदानमा उत्रिएकी उम्मेदवारले ‘म भ्रष्टाचार गर्न धादिङ आएकी हुँ’ भन्ने अभिव्यक्ति दिएपछि कार्यक्रमस्थल केहीबेर स्तब्ध बनेको थियो। उक्त अभिव्यक्ति पार्टी सभापति रवि लामिछाने स्वयं उपस्थित रहेको कार्यक्रममा आएको थियो, जसले घटनालाई झन् चर्चित बनायो।

धादिङको गल्छी चोकमा आयोजित स्वागत तथा चुनावी सभामा बोल्दै गर्दा आशिका तामाङ अत्तालिँदै बोलेकी थिईन। त्यस क्रममा उनको ध्यान के बोल्दैछु भन्ने भन्दा पनि फाईलमा भएको कुरा पढ्न तर्फ देखियो। उनले सम्भवतः ‘धादिङमा सुशासन स्थापना गर्न र भ्रष्टाचार अन्त्य गर्न आएकी हुँ’ भन्न खोजेकी थिइन्, तर भाषणका क्रममा ‘अन्त्य’ शब्द छुटेपछि उनको भनाइ उल्टो अर्थ लाग्यो।

सभामा उपस्थित कार्यकर्ता र स्थानीयहरूबीच तत्कालै फुसफुसाहट सुरु भयो, धेरैले भएन दिदी भन्ने प्रतिक्रिया जनाए। त्यति हुँदा पनि उनले होस पाईनन्। निकै समय पछि सँगै रहेको सभापति रवि लामिछानेले उनको हातबाट माईक खोसेर ‘अरु नेताले त्यसो भन्छन्, तर आशिकाले भन्दिनन्’ भन्दै आशयलाई सुधार गरे।

कार्यक्रमस्थलमै स्थिति सम्हाल्ने प्रयास भयो। सभामा उपस्थित पार्टी नेतृत्वले तुरुन्तै स्पष्ट पार्दै उक्त अभिव्यक्ति जिब्रो चिप्लिएको परिणाम मात्र भएको बताए। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति लामिछानेले तत्काल शब्द सच्याउँदै आशिका तामाङ धादिङमा भ्रष्टाचार रोक्न र जिल्लाको विकासका लागि आएको स्पष्ट सन्देश दिएका थिए।

तर राजनीतिक भाषणमा आएको सानो त्रुटि पनि कहिलेकाहीँ ठूलो राजनीतिक विवादको कारण बन्न सक्छ भन्ने उदाहरण यो घटनाले देखायो। त्यो भीडीओ अहिले सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको छ र आलोचना तथा व्यंग्यको विषय बन्न पुगेको छ।

घटनापछि विवाद थप फैलिन नदिन आशिका तामाङ स्वयंले सार्वजनिक रूपमा माफी मागिन्। सामाजिक सञ्जालमार्फत उनले दिएको स्पष्टिकरणमा आफू अत्यधिक थकान र हतारोको अवस्थामा भाषण गर्न पुगेकाले शब्द उच्चारणमा त्रुटि भएको स्वीकार गरेकी छन्। उनले आफूले व्यक्त गर्न खोजेको सन्देश सुशासन स्थापना र भ्रष्टाचार अन्त्य नै रहेको दोहो¥याउँदै, शब्द छुट्दा उल्टो अर्थ लाग्ने वाक्य बनेकोप्रति खेद व्यक्त गरिन्।

उनले आफ्नो सन्देशमा छोटो समयमै मन्तव्य तयार पारेर पढ्दा आँखाबाट अन्तिम शब्द छुटेको र त्यसैले अनपेक्षित रूपमा विवादास्पद वाक्य निस्किएको बताएकी छिन्। उनले एकपटक गल्ती भएको स्वीकार गर्दै अबदेखि सार्वजनिक भाषण गर्दा अझ बढी सजग रहने प्रतिबद्धता पनि जनाएकी छन्।

तर, राजनीतिक प्रतिस्पर्धा चर्किरहेको बेला एउटा शब्दले नै नेताको छवि, पार्टीको सन्देश र जनधारणा प्रभावित पार्न सक्ने तथ्य फेरि एकपटक उजागर भएको छ। विपक्षी दलका कार्यकर्ताले उक्त अभिव्यक्तिलाई राजनीतिक हतियार बनाउँदै आलोचना गरेका छन् भने समर्थकहरूले यसलाई सामान्य जिब्रो चिप्लिने घटना भन्दै बचाउ गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट