धनुषामा मतदातालाई पैसा बाँड्दै गरेका स्वतन्त्र उम्मेदवार पक्राउ, फरार तीन जनाको खोजी तीव्र

जनकपुर– प्रतिनिधिसभा निर्वाचनको माहोल तात्दै गएको बेला धनुषामा मतदातालाई प्रलोभन दिन खोजेको आरोपसहित एक जना स्वतन्त्र उम्मेदवार पक्राउ परेका छन्।

धनुषा क्षेत्र नम्बर ४ अन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका–४ को चन्द्रपुर टोलमा पैसा बाँडिरहेको गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले नगद रकमसहित उम्मेदवार राजकिशोर महरालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेशबहादुर बमका अनुसार महरालाई घटनास्थलबाट नियन्त्रणमा लिइएको हो। प्रहरी टोली त्यहाँ पुग्दा महरा नगद रकमसहित भेटिएका थिए भने उनीसँग रहेका अन्य तीन जना व्यक्ति भने प्रहरी देख्नेबित्तिकै फरार भएका थिए। फरार व्यक्तिहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट ४८ हजार ५ सय रुपैयाँ नगद बरामद गरेको छ। साथै, आर्थिक कारोबारको विवरण उल्लेख गरिएको एक डायरी पनि फेला परेको छ, जसले चुनावी गतिविधिमा अवैध आर्थिक चलखेल भएको आशंकालाई अझ बलियो बनाएको अनुसन्धान अधिकारीहरूको भनाइ छ।

प्रारम्भिक अनुसन्धानबाट मतदातालाई प्रभावित पार्ने उद्देश्यले नगद रकम वितरण गर्न खोजिएको हुनसक्ने संकेत देखिएको प्रहरीले बताएको छ। घटनापछि पक्राउ परेका उम्मेदवार महरा तथा प्रयोग गरिएको सवारीसाधनलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन निर्वाचन आयोगको कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

चुनावी प्रचारको अन्तिम चरणमा यस्तो घटना सार्वजनिक भएपछि स्थानीय स्तरमा चासो र चर्चा तीव्र बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट