निर्वाचनको मुखैमा रुपन्देही–१ का उम्मेदवार हजारीलाल मालीलाई वज्रपातः युएईमा छोराको मृत्युको खवरले परिवार विछिप्त

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम तयारी गरिरहेका वेला रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार हजारीलाल मालीका छोराको २७ वर्षीय अजयको युएई (संयुक्त अरब इमिरेट्स)मा निधन भएको खबर आएपछि परिवार शोकमा परेको छ।

नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल)का तर्फबाट उम्मेदवार रहेका मालीका छोरा अजय वैदेशिक रोजगारीका सिलसिलामा १४ महिनाअघि युएई पुगेका थिए। उनी त्यहाँको अबुधावीस्थित गोल्डेन डुनेस कन्स्ट्राक्टिङ एलएलसी कम्पनीमा कार्यरत थिए। यसैक्रममा उनको निधनको खवर आएपछि तिलोत्तमा नगरपालिका–७ सेमराबजारस्थित माली परिवारमा शोकको छाया परेको हो।

दुई दिदीबहिनीपछि जन्मिएका अजय हजारीलालका एक मात्र छोरा थिए। एक दिदीको विवाह भइसकेको भए पनि परिवारको आशा र भरोसाको केन्द्र अजय नै थिए। निर्वाचनको मुखैमा यस्तो दुःखद समाचार आउँदा उम्मेदवार हजारीलाल विछिप्त बनेका छन्।

मृतकका काका सागर मालीका अनुसार केही दिनअघि इरान–अमेरिका तनावका कारण त्यहाँ त्रासपूर्ण वातावरण बनेपछि अजय केही समय सम्पर्कविहीन भएका थिए। त्यसपछि परिवार चिन्तित भइरहेका बेला फागुन १७ गते बिहान हृदयाघातका कारण उनको मृत्यु भएको खबर प्राप्त भएको हो। परिवारले मिसाइल आक्रमणपछि उत्पन्न भएको मानसिक तनाव र भयावह परिस्थितिले हृदयाघात भएको हुनसक्ने आशंका व्यक्त गरेको छ।

विदेशमा रहेका आफन्त र साथीहरूमार्फत आएको जानकारीअनुसार अजयसँग नजिकै बस्ने बर्दियाका साथी विशाल बस्नेतले घरमा खबर पु¥याएका थिए। तर घटनापछि उनी स्वयं पनि सम्पर्कविहीन भएको र मोबाइल बन्द रहेको जानकारी परिवारले पाएको छ।

यसले परिवारको चिन्ता अझ बढाएको छ। अहिले माली परिवारको सबैभन्दा ठूलो समस्या अजयको शव नेपाल ल्याउने प्रक्रियामा आएको जटिलता बनेको छ। ‘छोराको मृत्युको पीडा त छँदैछ, त्यसमाथि शव कसरी नेपाल ल्याउने भन्ने चिन्ताले परिवार झन् पीडामा छ,’ काका सागर मालीले भनेका छन्।

उनका अनुसार त्यहाँ रहेका नेपालीहरू पनि त्रासको वातावरणमा रहेका कारण कानुनी प्रक्रिया अघि बढाउन सहज अवस्था छैन। यसैबीच, पूर्वमन्त्री छविलाल विश्वकर्माले युएईस्थित नेपाली दूतावाससँग समन्वय सुरु गरिएको बताएका छन्।

उनका अनुसार नेपाली राजदूत तेजबहादुर क्षेत्रीसँग कुराकानी गरेर शव नेपाल पठाउने प्रक्रिया अघि बढाइएको छ, तर त्यहाँको परिस्थितिका कारण केही ढिलाइ भइरहेको जानकारी आएको छ।

निर्वाचन प्रचारको अन्तिम घडीमा आएको यो दुःखद समाचारले रुपन्देही क्षेत्र नम्बर १ का मतदाता, स्थानीय बासिन्दा र माली परिवारसँग सम्बन्धित सबैलाई स्तब्ध बनाएको छ। विदेशमा रोजगारीका लागि गएका नेपाली युवाहरूले भोगिरहेको जोखिम र असुरक्षा पुनः उजागर भएको भन्दै स्थानीयले गहिरो चिन्ता व्यक्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट