सासूको हत्या आरोपमा बुहारी र उनकी वहिनी पक्राउ

वीरगञ्ज — पर्साको जिराभवानी गाउँपालिका–१ पिपराकी ६५ वर्षीया सायेदा श्रीवास्तवको हत्या आरोपमा प्रहरीले उनकै वुहारी पिंकीदेवी र उनकी बहिनी गायत्री श्रीवास्तवलाई पक्राउ गरेको छ। सायेदा सोमबार आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी थिईन।

प्रहरी अनुसन्धान अनुसार, लामो समयदेखि चल्दै आएको सासू–बुहारीबीचको विवाद अन्ततः सायेदाको हत्यासम्म पुगेको हो। सोमबार दिउँसो भएको भनिएको विवाद सामान्य झगडाबाट सुरु भए पनि स्थिति चाँडै नियन्त्रणबाहिर गएको स्थानीय स्रोतहरू बताउँछन्।

विवादकै क्रममा बुहारी ३० वर्षीया पिंकी र उनकी १९ वर्षीया बहिनी गायत्री मिलेर सायेदामाथि कुटपिट गरेको र चोटका कारण उनको मृत्यु भएको आशंका गरिएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

तत्कालै दुबै आरोपितलाई नियन्त्रणमा लिइएको र हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी हरिबहादुर बस्नेतका अनुसार घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान तीव्र बनाइएको छ।

मृतक सायेदाको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ। प्रारम्भिक अनुसन्धानले पारिवारिक कलह नै घटनाको मुख्य कारण हुनसक्ने संकेत गरे पनि प्रहरीले अन्य कोणबाट समेत अनुसन्धान जारी राखेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट