मोरङमा बर्डफ्लूको त्रासः पाँच पोल्ट्री फार्म प्रभावित, कुखुरा नष्ट गर्ने अभियान तीव्र

विराटनगर— मोरङमा कुखुरामा लाग्ने घातक बर्डफ्लू संक्रमण फैलिरहेको फेला परेको छ। संक्रमण फैलिएको चर्चाले ५ वटा पोल्ट्री फार्म प्रभावित भएका छन्। संक्रमण फैलिन नदिन सरकारी निकायहरूले व्यापक नियन्त्रण अभियान अघि बढाएका छन् र कुखुरा पालक किसानहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख अजयकुमार साहका अनुसार आइतबार विराटनगर महानगरपालिका–४ स्थित दाहाल कृषि फर्ममा बर्डफ्लू संक्रमण पुष्टि भएको हो। यससँगै मोरङमा पुष्टि भएका संक्रमित फार्मको संख्या पाँच पुगेको छ। यसअघि सुन्दरहरैँचा–४ को हलेसी महादेव कृषि फार्म, उर्लाबारी–८ को अठियावारी कृषि फार्म, कटहरी–२ को ई टु जेड पोल्ट्री फार्म र कटहरी–६ को कामख्या पोल्ट्री फार्ममा संक्रमण देखिएको थियो।

संक्रमण पुष्टि भएसँगै प्रभावित क्षेत्रहरूमा कुखुरा, अण्डा, दाना, ओछ्यान र सम्पूर्ण सामग्री नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ। सरकारी टोलीले प्रभावित क्षेत्रमा मरेका पन्छी तथा मलमूत्रलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्दै, खाल्डो खनेर गाड्ने र औषधीय घोल प्रयोग गरी निसंक्रमण गर्ने काम जारी राखेको छ। यसरी गरिएको डिसइन्फेक्सनले संक्रमण अन्य क्षेत्रमा फैलिनबाट रोक्ने विश्वास गरिएको छ।

विशेष गरी विराटनगरको दाहाल कृषि फर्मको हकमा विस्तृत प्राविधिक प्रतिवेदन तयार गर्न प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आवश्यक अनुमति र प्रक्रिया पूरा भएपछि त्यहाँका सम्पूर्ण कुखुरा नष्ट गर्ने तयारी भइरहेको जनाइएको छ। अन्य चार स्थानमा भने संक्रमित कुखुरा नष्ट गर्ने कार्य पूरा भइसकेको छ।

बर्डफ्लू संक्रमण देखिन थालेपछि जिल्लाभरका पोल्ट्री किसानहरूमा त्रास बढेको छ। संक्रमण तीव्र र अत्यन्तै संक्रामक भएकाले समयमै नियन्त्रण नगरेमा ठूलो आर्थिक क्षति निम्तिन सक्छ। त्यसैले पशु सेवा कार्यालयले किसानहरूलाई कुखुरामा असामान्य लक्षण देखिएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ।

विशेषज्ञहरूले जैविक सुरक्षा (बायोसिक्योरिटी)का मापदण्ड कडाइका साथ पालन गर्न जोड दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट