सप्तरीमा प्रहरीको ‘क्लिन अप’— एकै दिन १४ फरार अभियुक्त पक्राउ

राजविराज– सप्तरीमा प्रहरीले सोमबार एकै दिन १४ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले विभिन्न मुद्दामा अदालतबाट फैसला भइसकेपछि लामो समयदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको हो।

पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यसहित सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत प्रहरीले फरार अभियुक्तहरूको सूक्ष्म पहिचान, निगरानी र खोजतलासलाई तीव्रता दिएको थियो।

यही क्रममा घरेलु हिंसा, कुटपिट, जालसाजी तथा चेक अनादर जस्ता विभिन्न प्रकृतिका मुद्दामा दोषी ठहर भई सजाय तोकिएका व्यक्तिहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार पक्राउ परेकामध्ये अधिकांशलाई जरिवाना तथा कैद सजाय तोकिएको थियो भने केहीले लामो समयदेखि अदालतको आदेश बेवास्ता गर्दै फरार जीवन बिताइरहेका थिए।

पक्राउ पर्नेमा राजविराज नगरपालिका–३ का राम बिलास साह चेक अनादर मुद्दामा तीन हजार रुपैयाँ जरिवाना तोकिएका व्यक्ति हुन भने मानराजा क्षेत्रका विशम्बर प्रसाद यादव जालसाजीसम्बन्धी अभियोगमा समातिएका छन्। यस्तै, जोगिनिया क्षेत्रका राम प्रसाद मुखिया र बिनोद मुखियालाई कुटपिट मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, अग्निसाइर कृष्ण सवरण गाउँपालिकाका विभिन्न वडाबाट राम कुमार चौधरी, नविन कुमार चौधरी, बसन्त चौधरी, सूर्य नारायण सिंह, हिरण चौधरी, सूर्य नारायण चौधरी, विवेक पौडेल, उर्मिला चौधरी, नारायण चौधरी र राम सागर चौधरी लगायतका व्यक्तिहरू घरेलु हिंसा मुद्दामा दोषी ठहर भई फरार रहेका अवस्थामा नियन्त्रणमा लिइएको हो।

तीमध्ये केहीलाई तीन महिनासम्म कैद सजाय तोकिएको थियो भने धेरैलाई तीन हजारदेखि दस हजार रुपैयाँसम्म जरिवाना निर्धारण गरिएको थियो। प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्दै फरार अभियुक्तविरुद्धको अभियान अझ सशक्त बनाइने स्पष्ट पारेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट