निजगढमा चलिरहेको ट्याक्टरमाथि रुखको हाँगा खस्दा एकको मृत्यु
सिमरा — बाराको निजगढमा सोमबार साँझ आएको भीषण हावाहुरीले एक जनाको ज्यान लिएको छ। तीव्र हावाहुरीका बीच सडक किनारको रुखको ठूलो हाँगा चलिरहेको ट्याक्टरमाथि खस्दा ट्याक्टरमा सवार एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा निजगढ नगरपालिका–४ निवासी ५५ वर्षीय साइला भनिने देवबहादुर अर्याल छन्। इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार सिंगौलबाट निजगढतर्फ आउँदै गरेको ना ७ त ५१५० नम्बरको ट्याक्टरमाथि अचानक रुखको हाँगा भाँचिएर खसेको थियो।
हावाहुरीका कारण एक्कासि खसेको भारी हाँगाले ट्याक्टरलाई थिच्दा अर्याल गम्भीर घाइते भएका थिए। घटनालगत्तै स्थानीय र प्रहरीले उद्धार गरी उनलाई उपचारका लागि निजगढस्थित सामुदायिक अस्पताल पु¥याएका थिए। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
मृतक अर्यालको शव हाल निजगढ सामुदायिक अस्पतालमा राखिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाइने प्रहरीले जनाएको छ। घटनामा ट्याक्टरमा सवार नुवाकोटको सूर्यगढी गाउँपालिका–१ लज्याङ घर भई हाल निजगढ–५ बागदेव बस्दै आएका ३२ वर्षीय कृष्ण घलान घाईते भएका छन्। प्रहरीका अनुसार उनको अवस्था सामान्य छ।
ट्याक्टर चालक निजगढ नगरपालिका–४ पुरानो टोल निवासी ५० वर्षीय बुद्धमान बल भने सकुशल छन्। घटनापछि अनुसन्धानका लागि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

