एजेण्डा मिल्ने शक्तिसँग एकताको बाटोमा जसपा नेपाल, रकम चेम्जोङको नेतृत्वमा वार्ता समिति गठन

राजविराज— आन्तरिक पुनर्संरचना, संगठन सुदृढीकरण र वैकल्पिक राजनीतिक ध्रुवीकरणको रणनीतिसहित जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले समान विचार र एजेन्डा भएका राजनीतिक शक्तिसँग कार्यगत एकता, संयुक्त मोर्चा तथा सम्भावित एकता प्रक्रियालाई तीव्र बनाउने संकेत दिएको छ।

पार्टीले यसका लागि सह–अध्यक्ष रकम चेम्जोङको नेतृत्वमा तीन सदस्यीय वार्ता तथा संवाद समिति गठन गरेको छ। पूर्वमन्त्री तथा संविधानसभा सदस्य उमेशकुमार यादवले सार्वजनिक गरेको जानकारीअनुसार गठित समितिमा पूर्वमन्त्री रेनु यादव र र नेता सुरेन्द्र झा सदस्य छन्। पार्टीभित्र वैचारिक पुनर्संयोजन र बाह्य राजनीतिक सहकार्यलाई समानान्तर रूपमा अघि बढाउने रणनीतिअन्तर्गत समिति गठन गरिएको बताइएको छ।

पार्टीको केन्द्रीय समन्वय समितिको बैठक अहिले ललितपुरको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा जारी छ। शनिबारदेखि सुरु भएको बैठक आजै सकिने कार्यतालिका छ। बैठकमा पार्टी संगठनको अवस्था, व्यवस्थापन, समायोजन, निर्वाचनको समीक्षा, जनप्रतिनिधिसँग समन्वय तथा आगामी राजनीतिक कार्यदिशाबारे गहन छलफल भइरहेको नेताहरूले बताएका छन्।

जसपा नेपालले पछिल्लो निर्वाचनपछि कमजोर बनेको सांगठनिक आधारलाई पुनर्जीवित गर्न ‘बुथ तहसम्म समीक्षा’ अभियान चलाउने निर्णयसमेत गरेको छ। पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टी संरचनासँग पुनः प्रभावकारी रूपमा जोड्ने, स्थानीय तहसम्म संगठन पुनर्गठन गर्ने तथा आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्ने विषयलाई बैठकमा प्राथमिकताका साथ उठाइएको छ।

बैठकमा सहभागी नेताहरूका अनुसार अहिलेको राजनीतिक परिस्थितिमा मधेश केन्द्रित शक्तिहरूबीच सहकार्य, ध्रुवीकरण र साझा मोर्चाको आवश्यकता बढ्दै गएको निष्कर्ष निकालिएको छ। विशेषतः सत्ता समीकरण तीव्र रूपमा फेरबदल भइरहेका बेला जसपा नेपालले आफूलाई पुनः निर्णायक शक्तिका रूपमा उभ्याउने तयारी थालेको संकेत देखिएको छ।

पार्टीभित्र पछिल्लो समय नेतृत्व, संगठन र राजनीतिक लाइनबारे विभिन्न कोणबाट बहस चलिरहेका बेला वार्ता समिति गठनलाई आगामी राजनीतिक समीकरणको पूर्वतयारीका रूपमा समेत हेरिएको छ। जसपा नेपालले प्रत्यक्ष रूपमा कससँग सहकार्य गर्ने भन्ने खुलाएको छैन, तर ‘एजेन्डा मिल्ने शक्तिसँग सहकार्य’ भन्ने वाक्यांशले नयाँ राजनीतिक ध्रुवीकरणको संकेत दिएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

तीनदिने बैठकमा नेताहरूको धारणा राख्ने क्रम जारी रहेको छ। अन्तिम समयमा संगठनात्मक र राजनीतिक प्रस्तावसहित थप निर्णय सार्वजनिक गरिने जनाइएको छ। मधेश राजनीतिमा आफ्नो प्रभाव पुनः विस्तार गर्ने लक्ष्यसहित जसपा नेपाल अहिले संगठन पुनर्गठन र राजनीतिक पुनर्स्थापनाको दोहोरो रणनीतिमा अघि बढेको देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट