वन अतिक्रमण हटाउन पुगेका कर्मचारीलाई बन्धक बनाई सरकारी गाडीमा आगजनीपछि बर्दिबासमा तनाव

बर्दिबास — महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानी क्षेत्र सोमबार रातिदेखि तनावग्रस्त बनेको छ। वन क्षेत्रको अतिक्रमण हटाउन सूचना टाँस्न पुगेका वन कार्यालयका कर्मचारीलाई स्थानीयले नियन्त्रणमा लिनुका साथै डिभिजन वन कार्यालयको सरकारी गाडीमा आगजनी गरेपछि अवस्था थप जटिल बनेको हो।

घटनापछि स्थानीयले बिपी राजमार्गसमेत अवरुद्ध गरेका छन् भने दर्जनौँ सवारीसाधन र यात्रु अलपत्र परेका छन्। डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजयकुमार मिश्रका अनुसार कालापानीस्थित वन क्षेत्रमा बनेको बस्ती खाली गराउन सोमबार साँझ वन कार्यालयको टोली सूचना जारी गर्न पुगेको थियो। तर, सूचना टाँस्ने विषयलाई लिएर स्थानीय आक्रोशित बनेपछि स्थिति तनावपूर्ण बनेको हो।

स्थानीयले सब–डिभिजन वन कार्यालय गढन्ताकी वन अधिकृत स्वेता झाको नेतृत्वमा गएको सात सदस्यीय टोलीलाई रातिसम्म नियन्त्रणमा राखेका थिए। वन कर्मचारीहरूलाई नियन्त्रणमा राख्दै स्थानीयले बिपी राजमार्ग अवरुद्ध गरेका थिए भने मध्यराततिर वन कार्यालयको गाडीमा आगजनीसमेत गरिएको बताइएको छ।

इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिम्सिनाका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरेर वन कर्मचारीहरूको उद्धार गरिएको हो। राति अबेरसम्म चलेको तनावका बीच कर्मचारीहरूलाई सुरक्षित रूपमा निकालिएको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालयका प्रमुख मिश्रका अनुसार राजाबास, कालापानी र वरडाडासहित महोत्तरीका विभिन्न क्षेत्रमा करिब १ हजार १ सय हेक्टर वन क्षेत्र अतिक्रमण गरेर घर, टहरा तथा खेतीपाती गरिएको छ। पछिल्लो समय वन कार्यालयले अतिक्रमित क्षेत्र खाली गराउने प्रक्रिया अगाडि बढाउन थालेपछि स्थानीयले विरोध चर्काएका हुन।

स्थानीयवासी भने आफूहरू वर्षौँदेखि बसोबास गर्दै आएको क्षेत्रमा राज्यले एक्कासि हटाउन खोजेको भन्दै आन्दोलित बनेका छन्। उनीहरूले वैकल्पिक व्यवस्थाविना बस्ती हटाउन खोजिएको आरोप लगाउँदै सडक आन्दोलन थालेका हुन्।

सोमबार साँझदेखि सुरु भएको अवरोध मंगलबार बिहानसम्म जारी रहेको प्रहरीले जनाएको छ। राजमार्ग बन्द हुँदा काठमाडौं आउने–जाने लामो तथा छोटो दूरीका सवारीसाधन बीच बाटोमै रोकिएका छन्। यात्रुहरू समस्यामा परेका छन् भने सुरक्षा अवस्था नियन्त्रणमा लिन थप प्रहरी परिचालन गरिएको छ।

एसपी श्याम सारुमगरले साँझ आएको हावाहुरी र वर्षाका कारण समन्वयमा केही कठिनाइ भएको बताए। उनका अनुसार अहिले स्थानीयसँग वार्ता गरी सडक खुलाउने प्रयास भइरहेको छ।

वन अतिक्रमण हटाउने सरकारी अभियान र वर्षौँदेखि बसोबास गर्दै आएका स्थानीयबीचको द्वन्द्व अहिले मधेशका विभिन्न जिल्लामा चर्किंदै गएको छ। बर्दिबासको कालापानी घटनाले राज्यको संरक्षण नीति, सुकुम्बासी व्यवस्थापन र वन अतिक्रमण नियन्त्रणको प्रश्नलाई फेरि राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट