बालेनको गोल्डस्टार प्रेम र आशिकाको मौनताः ‘जुत्ता बनाउने मालिक सदनमा’ भन्नेहरू आज किन चुप ?

राजविराज– शुक्रबार संसदमा बजेट प्रस्तुत भयो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सुनाइरहेका बेला प्रधानमन्त्री बालेन्द्र साह पूरा समय संसदमा उपस्थित थिए। तर बजेटको बहसभन्दा बढी चर्चा भने संसद् भवनको लबीमा भएको एउटा छोटो संवादले पायो।

बैठक सकिएपछि प्रधानमन्त्री साह सांसदहरूसँग हात मिलाउँदै बाहिरिँदै थिए। त्यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणासँग उनको केहीबेर कुराकानी भयो। कुराकानीकै बीचमा प्रधानमन्त्रीले आफूले लगाएको सेतो जुत्ता देखाउँदै भने, ‘मैले नेपालकै प्रडक्ट लगाएको छु नि।’

त्यो जुत्ता नेपाली ब्रान्ड गोल्डस्टारको थियो। विदुषी राणा गोल्डस्टार उत्पादन गर्ने कम्पनीकी मुख्य लगानीकर्ता तथा सञ्चालक परिवारकी सदस्य हुन्। प्रधानमन्त्रीले देखाएको जुत्ता कम्पनीको नयाँ ‘आर्क सिरिज’ अन्तर्गतको मोडल रहेको र यसको मूल्य करिब १४ सय रुपैयाँ पर्ने राणाले बताएकी छन्।

राणाका अनुसार प्रधानमन्त्रीले जुत्ता देखाउँदा उनी आफैँ आश्चर्यचकित भएकी थिइन्। ‘उहाँले रिसर्च नै गरेर जुत्ता लगाउनुभएको रहेछ,’ उनको भनाइ छ। गोल्डस्टार नेपालकै पुरानो जुत्ता ब्रान्ड हो। झण्डै ५५ वर्षदेखि सञ्चालनमा रहेको कम्पनीमा करिब तीन हजार श्रमिक कार्यरत रहेको र तीमध्ये ७० प्रतिशत महिला रहेको दाबी राणाले गरिन।

एक समय माओवादी युद्धका लडाकूहरूले प्रयोग गर्ने जुत्ताका रूपमा चिनिएको गोल्डस्टारले भारतीय नोटबन्दी र नाकाबन्दीजस्ता घटनाका बेला व्यापारिक कठिनाइ पनि भोगेको थियो। स्वदेशी उत्पादन प्रयोग गर्नु आफैँमा सकारात्मक सन्देश हुन सक्छ। तर प्रधानमन्त्रीको यो प्रतीकात्मक प्रदर्शनले अर्को बहस पनि जन्माएको छ— सरकारको निकटता अन्ततः शक्तिशाली व्यवसायिक समूहसँगै बढी देखिने हो ?

यही प्रसङ्गले राष्ट्रिय स्वतन्त्र पार्टीभित्रकै एउटा पुरानो विवादलाई पनि फेरि सतहमा ल्याएको छ। फागुन २१ को निर्वाचनअघि विदुषी राणाको नाम समानुपातिक उम्मेदवार सूचीमा परेपछि अहिलेकी सांसद आशिका तामाङले सार्वजनिक रूपमा टिप्पणी गरेकी थिइन— ‘जुत्ता हराउने मान्छे सडकमा, जुत्ता बनाउने मालिक सदनमा।’

त्यतिबेला उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा निकै चर्चित बनेको थियो। राजनीतिमा धनाढ्य र व्यवसायिक घरानाको प्रभाव बढिरहेको भन्दै आलोचना गरिएको थियो। तर समय फेरियो। आज आशिका तामाङ र विदुषी राणा दुवै एउटै दलबाट प्रतिनिधिसभा सदस्य छन्।

त्यतिबेला उठाइएको प्रश्न अहिले पनि उत्तिकै सान्दर्भिक छ कि छैन ? जुत्ता बनाउने कम्पनीका मालिक संसदमा पुग्नु गलत थियो कि त्यो केवल चुनावअघिको राजनीतिक नारामात्र थियो ? यदि त्यो गलत थियो भने अहिले किन त्यसबारे प्रश्न उठ्दैन ? र यदि गलत थिएन भने त्यसबेला गरिएको आलोचना के केवल राजनीतिक लाभका लागि थियो ?

यी प्रश्नहरूको उत्तर सम्बन्धित नेताहरूले दिन बाँकी छ। संयोग पनि यस्तो बनेको छ कि प्रधानमन्त्रीले बजेट प्रस्तुत भएको दिन सार्वजनिक रूपमा प्रशंसा गरेको ब्रान्डको प्रतिनिधित्व गर्ने व्यक्ति पनि सत्तारूढ गठबन्धनकै सांसद हुन्।

यही कारण आलोचकहरूले यस घटनालाई सामान्य संवादभन्दा बढी राजनीतिक प्रतीकका रूपमा हेर्न थालेका छन्। किनभने यही बजेटमाथि आलोचना गर्दै विपक्षी र विभिन्न विश्लेषकहरूले सरकार गरिब किसान, श्रमिक, बेरोजगार युवा र निम्न आय भएका वर्गभन्दा ठूला लगानीकर्ता तथा व्यवसायिक समूहप्रति बढी उदार देखिएको आरोप लगाइरहेका छन्।

कृषिमा दुई करोड रुपैयाँभन्दा बढी लगानी गर्न सक्नेलाई अनुदान, निजी क्षेत्रलाई थप सहुलियत, कर विवाद समाधानमा छुट तथा विभिन्न व्यवसायिक प्रोत्साहनका कार्यक्रम सार्वजनिक भइरहेका बेला प्रधानमन्त्रीले संसदभित्रै एक उद्योगी–सांसदसँग स्वदेशी ब्रान्डको जुत्ता प्रदर्शन गरेको दृश्यलाई कतिपयले प्रतीकात्मक रूपमा हेरिरहेका छन्।

निस्सन्देह, स्वदेशी उत्पादनको प्रयोग प्रशंसायोग्य विषय हो। नेपाली उद्योगको प्रवद्र्धन राज्यको दायित्व पनि हो। तर राजनीति केवल प्रतीकले चल्दैन, प्राथमिकताले चल्छ। त्यसैले प्रश्न जुत्ताको होइन। प्रश्न त्यो दृश्यले दिएको सन्देशको हो।

किनकि संसद बाहिर अझै पनि रोजगारी खोजिरहेका युवा छन्, मलको अभाव झेलिरहेका किसान छन्, भूमि र आवासको प्रतीक्षामा रहेका सुकुम्बासी छन्। र उनीहरूका बीचमा अहिले एउटा नयाँ प्रश्न घुमिरहेको छ— सत्ताले साँच्चै स्वदेशी उत्पादनलाई सम्मान गरेको हो, कि फेरि एकपटक शक्तिशाली वर्गसँगको आफ्नो सहज सम्बन्ध मात्र प्रदर्शन गरेको हो ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट