कसरी गोली काण्ड जस्तो गम्भिर अपराधमा मुछिए भारतका प्रख्यात खान सर ?

पटना— भारतको शिक्षा क्षेत्रमा ‘कम शुल्कमा गुणस्तरीय पढाइ’को प्रतीकका रूपमा चिनिएका फैजल खान अर्थात् खान सर अहिले एउटा गोलीकाण्डसँग जोडिएको गम्भीर आपराधिक अनुसन्धानको केन्द्रमा पुगेका छन्।

कमजोर र गरिब विद्यार्थीलाई न्यून शुल्कमा पढाएर लोकप्रियता कमाएका उनीमाथि अब हत्याको प्रयासदेखि सशस्त्र गतिविधिसम्मका आरोपमा मुद्दा दर्ता भएपछि पटनाको कोचिङ उद्योग नै तरंगित बनेको छ।

घटनाले केवल एक कोचिङ सेन्टरको सुरक्षा विवाद मात्रै उजागर गरेको छैन, बरु अर्बौं रुपैयाँको प्रतिस्पर्धा, संस्थागत वर्चस्वको लडाइँ र शिक्षा व्यवसायभित्रको शक्ति संघर्षलाई सतहमा ल्याएको छ।

घटना २ जुन २०२६ को साँझ बिहारको मुसल्लहपुर हाट क्षेत्रमा रहेको ‘खान ग्लोबल स्टडिज’ बाहिरबाट सुरु हुन्छ। त्यहाँ करिब १५ देखि २० जनाको समूहले ढुंगामुडा र तोडफोड गरेको बताइएको छ। सो क्रममा कार्ड चुनचुन घाइते भएका थिए। प्रारम्भमा खान सरले करिब ८ देखि १० राउन्ड गोली चलेको दाबी गरेका थिए, जसले घटनालाई संवेदनशील बनायो।

तर प्रहरीको ३ जुनको प्रारम्भिक विज्ञप्तिमा गोली चलेको उल्लेख थिएन। त्यसमा केवल ढुंगामुडा र कुटपिट भएको भनिएको थियो। पछि सार्वजनिक भएका सीसीटीभी फुटेजपछि घटनाको स्वरूपबारे विभिन्न दाबी र प्रतिदाबी तीव्र बने।

घटनापछि पटना प्रहरीले प्रतिस्पर्धी मानिएको ज्ञान बिन्दु कोचिङ सेन्टरका निर्देशक रोशन आनन्द, प्रिन्स गौरव र अभिषेकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। तर रोशन आनन्दले भने उल्टै यो घटनालाई खान सरकै षड्यन्त्र भएको दाबी गरेका छन्।

कदमकुआ थानामा खान सरविरुद्ध भारतीय न्याय संहिता (बीएनएक) को धारा १०९ अन्तर्गत हत्याको प्रयास तथा सशस्त्र गतिविधिको मुद्दा दर्ता भएको छ। यो धारामा दोष प्रमाणित भएमा १० वर्षसम्म कैद र जरिमाना हुन सक्छ। कानुनी रूपमा यो धारा अग्रिम जमानतसमेत कठिन हुने प्रकृतिको मानिन्छ।

तर घटनाले अझै नयाँ मोड लिन्छ, जब ४ जुनमा सार्वजनिक भिडियोमा खान सरकै सुरक्षा गार्डले गोली चलाएको देखिन्छ। त्यसपछि उनीविरुद्धको आरोप थप गम्भीर बन्छ। खान सरको कोचिङका दुई सुरक्षा गार्ड पक्राउ परेका छन् र उनीहरूले गोली चलाएको स्वीकार गरेको बताइएको छ।

यहीबीच ज्ञान बिन्दु कोचिङका आदर्श कुमारले घटनालाई योजनाबद्ध भन्दै खान सरकै निर्देशनमा गोली चलेको आरोप लगाएका छन्। तर खान सरले भने सुरक्षा कमजोरीका कारण गार्डले आत्मरक्षामा गोली चलाएको दाबी गर्दै आएका छन्।

शुक्रबार उनले आफैं भिडियोबारे स्पष्टिकरण दिँदै प्रहरी समयमा नआएकाले गार्डले प्रतिक्रिया दिएको बताएका थिए। त्यही दिन उनीविरुद्ध एफआईआर दर्ता भएको हो। घटनाको जरो २ जुनमा सीमित छैन। अनुसन्धान अनुसार यसको पृष्ठभूमि २७ मेमा बिहार प्रहरी भर्ती नतिजा सार्वजनिक भएपछि सुरु भएको देखिन्छ। त्यसपछि खान ग्लोबल स्टडिज र ज्ञान बिन्दु कोचिङबीच सफल विद्यार्थीको दाबीलाई लिएर प्रतिस्पर्धा चर्किएको थियो।

दुवै संस्थाले आफ्ना विद्यार्थी सफल भएको भन्दै सम्मान समारोहदेखि प्रचारसम्म तीव्र पारेका थिए। यही क्रममा बोर्ड र ब्यानर हटाउने÷राख्ने विवादले तनाव झन् बढाएको बताइन्छ। यही सानो विवाद विस्तारै ढुंगामुडा, तोडफोड र अन्ततः गोली चलेको अवस्थासम्म पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ।

घटनापछि ज्ञान बिन्दुका निर्देशक रोशन आनन्द पक्राउ परेपछि उनका समर्थक विद्यार्थीहरू सडकमा उत्रिएका थिए। तर नयाँ भिडियो सार्वजनिक भएपछि अनुसन्धानको दायरा खान सरतर्फ पनि सोझिएको छ।

खान सरको व्यक्तित्व भने यस घटनाभन्दा निकै फरक पृष्ठभूमिबाट आएको हो। उत्तर प्रदेशको गोरखपुरमा जन्मिएका उनी भारतीय सेनामा जाने सपना बोकेका थिए। सेनामा परिवारिक पृष्ठभूमि भए पनि शारीरिक कारणले एनडीएमा असफल भएपछि उनले शिक्षा क्षेत्रमा यात्रा सुरु गरे।

२०१९ मा ‘खान जीएस रिसर्च सेन्टर’ नामक युट्युब च्यानल खोलेपछि लकडाउनको समयमा उनी अत्यन्त लोकप्रिय बने। हाल उनका युट्युबमा करिब २२ मिलियन, फेसबुकमा २१ लाख र इन्स्टाग्राममा ११ लाखभन्दा बढी फलोअर छन्।

उनले कोचिङ व्यवसायमा महँगो शुल्कको परम्परा तोड्दै प्रति विद्यार्थी करिब २०० रुपैयाँजस्तो न्यून शुल्कमा पढाउने मोडल अपनाएका छन्। उनी आफैं भन्छन्, ‘कमजोर विद्यार्थीलाई कमजोर महसुस हुन नदिने मेरो उद्देश्य हो।’

तर यही मोडलका कारण उनी परम्परागत कोचिङ व्यवसायीहरूको निशानामा परेको आरोप उनका समर्थकहरूको छ। आलोचकहरू भने यो दाबी प्रमाणित गर्न ठोस आधार अझै नदेखिएको बताउँछन्।

खान सरले हालसम्म ७० लाखभन्दा बढी विद्यार्थीलाई पढाएको दाबी गर्दै आएका छन्। उनको लोकप्रियता केवल पढाइमा सीमित नभई प्रेरणादायी वक्तृत्व र सामाजिक सन्देशका कारण पनि फैलिएको हो। तर अहिले उनीमाथि लागेको गम्भीर आरोप, दुई कोचिङ सेन्टरबीचको वर्चस्वको लडाइँ र प्रहरी अनुसन्धानले उनको छविलाई ठूलो चुनौती दिएको छ।

हाल घटनामा संलग्न हतियार फोरेन्सिक परीक्षणका लागि पठाइएको छ भने अनुसन्धान जारी छ। प्रारम्भिक तथ्यहरूले घटनालाई पूर्ण रूपमा स्पष्ट बनाइसकेका छैनन्। यो प्रकरण अब एउटा कोचिङ सेन्टरको झडप नभई भारतको विशाल कोचिङ उद्योगभित्रको प्रतिस्पर्धा, आर्थिक दबाब र सुरक्षा व्यवस्थाको जटिलतासम्म पुगिसकेको छ। अनुसन्धानको अन्तिम निष्कर्ष भने अदालत र प्रहरी प्रतिवेदनले मात्र तय गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट