फाटेको छाताले बनाएको बालेनको छविमा श्रीमतीको झोलाले लगायो दाग, दोहोरो मापदण्ड किन ?
काठमाडौँ– प्रधानमन्त्री बनेपछि पहिलोपटक सार्वजनिक राजनीतिक कार्यक्रममा सहभागी हुन बालुवाटारबाट बाहिरिएका प्रधानमन्त्री बालेन्द्र साह (बालेन) चितवन पुगेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहमा दिएको उनको भाषणले राजनीतिक वृत्तमा चर्चा पायो।
विपक्षीका आलोचनाको जवाफ, सरकारको प्राथमिकता र आगामी शासनशैलीबारे उनले प्रष्ट संकेत दिए। तर महाधिवेशनको राजनीतिक सन्देशभन्दा चितवन यात्राका क्रममा देखिएका उनिसँग सम्वन्धित दुई दृश्यले सामाजिक सञ्जाल र सार्वजनिक बहसलाई बढी तानेको छ। एउटा– फाटेको छाता र अर्को– श्रीमती सबिना काफ्लेको झोला (ब्याग)।
चितवनमा कार्यक्रमस्थल पुग्दा परेको पानीका बीच प्रधानमन्त्री साहले सुरक्षाकर्मीले ओढाइदिने छाता अस्वीकार गर्दै आफैं हातमा लिएर मञ्चतर्फ अघि बढेको दृश्य सार्वजनिक भयो। सत्तामा पुगेपछि पनि ‘विशेष सुविधा’ नलिने नेताको छवि निर्माण गरिरहेको बालेनका लागि त्यो दृश्य प्रतीकात्मक रूपमा शक्तिशाली बन्यो। सामाजिक सञ्जालमा धेरैले त्यसलाई सामान्य नागरिकजस्तै व्यवहार गर्ने प्रधानमन्त्रीको उदाहरणका रूपमा प्रस्तुत गरे।
नेपालको राजनीतिक संस्कृतिमा नेताहरूका लागि छाता समातिदिने, झोला बोकिदिने, ढोका खोलिदिने र सामान्य कामसमेत अरूलाई लगाइदिने प्रवृत्ति लामो समयदेखि आलोचनाको विषय रहँदै आएको छ। त्यसैले प्रधानमन्त्री स्वयंले छाता बोकेको दृश्यलाई धेरैले नयाँ राजनीतिक संस्कृतिको संकेतका रूपमा व्याख्या गरे।
तर चितवन भ्रमणको अर्को दृश्यले त्यो सकारात्मक सन्देशलाई चुनौती दियो। महाधिवेशनको कार्यक्रमपछि प्रधानमन्त्री साह पत्नी र छोरीसहित काठमाडौँ फर्किए। काठमाडौँ आउने क्रममा विमानस्थलमा खिचिएको एउटा तस्वीर सार्वजनिक भयो। तस्वीरमा प्रधानमन्त्रीले छोरी बोकेका छन्। उनकी पत्नीको हातमा मोबाइल देखिन्छ। तर परिवारको झोला भने प्रधानमन्त्रीको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले बोकेको देखिन्छ।
तस्वीर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा नयाँ बहस सुरु भयो। प्रश्न उठ्यो— छाता आफैं बोक्ने प्रधानमन्त्रीको परिवारको झोला किन सुरक्षाकर्मीले बोक्नुप¥यो ? बहसको केन्द्र केवल एउटा झोला थिएन। त्यो झोलाले नेपाली राजनीतिक संस्कृतिको पुरानो प्रश्न फेरि एकपटक सतहमा ल्यायो— व्यक्ति फेरिए पनि प्रवृत्ति फेरिएको छ कि छैन ?
प्रधानमन्त्री साहले आफ्नो राजनीतिक यात्राभर परम्परागत राजनीतिक संस्कृतिको आलोचना गर्दै आएका छन्। काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा पनि उनले सादगी, जवाफदेहिता र विशेषाधिकारविरोधी छवि निर्माण गरेका थिए। तर, त्यहाँबाट हटपछि उनको रवाफिलो स्वभाव सार्वजनिक भयो। सर्वसाधारणसँग भेट नहोस र कसैसँग सामना गर्नु नपरोस भनेर उनले त छुट्टै लिफ्टको प्रयोग गर्दा रहेछन्।
उनले छोडेपछि त्यो लिफ्ट पछि सर्वसाधारणका लागि पनि खुल्ला गरियो। यद्यपी उनको वाहिर देखिएको सादगी छविका कारण उनी प्रधानमन्त्री बनेपछि पनि धेरैको अपेक्षा थियो– राज्यसत्ताको पुरानो शैलीभन्दा फरक अभ्यास देखिनेछ।
तर आलोचकहरू भन्छन्, राजनीतिक संस्कृतिको परिवर्तन केवल भाषण वा प्रतीकात्मक व्यवहारले मात्र पुष्टि हुँदैन। सत्तासँग जोडिएका साना–साना व्यवहारले पनि नेताको दृष्टिकोण झल्काउँछन्। सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले अघिल्ला प्रधानमन्त्री वा शक्तिशाली नेताहरूका परिवारले सुरक्षाकर्मीलाई झोला बोकाएको घटनाको आलोचना गर्नेहरू अहिले किन मौन छन् भन्ने प्रश्न उठाएका छन्। उनीहरूको तर्क छ— यदि विशेषाधिकारको विरोध सिद्धान्त हो भने त्यो व्यक्तिअनुसार बदलिनु हुँदैन।
यद्यपि प्रधानमन्त्री पक्षबाट यसबारे कुनै औपचारिक प्रतिक्रिया आएको छैन। तस्वीरमा देखिएको झोला कसको थियो, किन सुरक्षाकर्मीले बोकेका थिए वा त्यो सुरक्षा व्यवस्थाको नियमित प्रक्रिया थियो कि थिएन भन्ने विषय पनि सार्वजनिक रूपमा स्पष्ट गरिएको छैन।
राजनीतिक विश्लेषकहरू भने यस्ता बहसलाई प्रतीकात्मक राजनीतिसँग जोडेर हेर्छन्। उनीहरूका अनुसार आधुनिक राजनीतिमा नेताको छवि केवल नीति र निर्णयले मात्र निर्माण हुँदैन, दैनिक व्यवहारले पनि निर्धारण गर्छ। त्यसैले एउटा फाटेको छाताले जति प्रशंसा दिलाउन सक्छ, एउटा झोलाले त्यति नै प्रश्न पनि उठाउन पनि सक्छ।
चितवन भ्रमणमा प्रधानमन्त्री साहले दिएको राजनीतिक सन्देशभन्दा सामाजिक सञ्जालमा बढी चर्चित बनेका यी दुई दृश्यले एउटा रोचक यथार्थ उजागर गरेका छन्। नेपाली समाज अहिले नेताको भाषणभन्दा व्यवहारलाई नजिकबाट हेरिरहेको छ। जनताले केवल नयाँ अनुहार खोजिरहेका छैनन्, नयाँ संस्कार पनि खोजिरहेका छन्।
त्यसैले बहसको वास्तविक केन्द्र झोला वा छाता होइन। प्रश्न त्योभन्दा पनि पर छ— सत्ता बदलिएको छ, पात्र बदलिएका छन्, तर के राजनीतिक प्रवृत्ति पनि बदलिँदै छ ? यही प्रश्नको उत्तर अब प्रधानमन्त्री बालेन्द्र साहले भाषणबाट होइन, आफ्ना आगामी व्यवहारबाट दिनुपर्नेछ।


