रोनाल्डोले फेरी बनाए विश्वकपको नयाँ इतिहासः उज्बेकिस्तानमाथि पोर्चुगलको ५–० को सानदार जित

काठमाडौँ– उद्घाटन खेलमै निराशाजनक बराबरीपछि आलोचनाको घेरामा परेका क्रिस्टियानो रोनाल्डोलाई धेरैले उमेरसँगै उनको प्रभाव घट्दै गएको संकेतका रूपमा व्याख्या गरेका थिए। तर, विश्व फुटबलका सबैभन्दा चर्चित सुपरस्टारमध्ये एक रोनाल्डोले मंगलबार राति मैदानमै त्यस्ता सबै प्रश्नको जवाफ दिए।

उज्बेकिस्तानविरुद्ध दुई गोल गर्दै उनले पोर्चुगललाई ५–० को शानदार जित दिलाए। यति मात्र होइन, विश्वकप इतिहासमै ६ वटा फरक संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेर अर्को ऐतिहासिक अध्यायसमेत लेखे।

अमेरिकाको ह्युस्टनस्थित रंगशालामा भएको खेलमा ४१ वर्षीय रोनाल्डो सुरुदेखि नै आक्रामक देखिएका थिए। खेलको छैटौं मिनेटमै जोआओ कान्सेलोको उत्कृष्ट क्रसलाई हाफ–भलीमार्फत जाली चुमाउँदै उनले पोर्चुगललाई अग्रता दिलाए। पहिलो गोलसँगै रोनाल्डोले सन् २००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६ गरी लगातार ६ वटा विश्वकप संस्करणमा गोल गर्ने असम्भवजस्तै मानिएको कीर्तिमान आफ्नो नाममा लेखाए।

पहिलो हाफ सकिनुअघि ब्रुनो फर्नान्डेजको पासलाई सदुपयोग गर्दै उनले व्यक्तिगत दोस्रो गोल थपे। पहिलो हाफमै उनको अर्को प्रहार उज्बेकिस्तानका डिफेन्डरले गोललाइनबाट क्लियर नगरेको भए ह्याट्रिकसमेत पूरा हुने सम्भावना थियो।

समूह चरणको पहिलो खेलमा डीआर कंगोसँग १–१ को बराबरी खेलेपछि रोनाल्डो र पोर्चुगल दुवै आलोचनाको केन्द्रमा थिए। तर, उज्बेकिस्तानविरुद्धको प्रभावशाली प्रदर्शनपछि रोनाल्डोले मैदान छोड्ने क्रममा क्यामेरातर्फ फर्केर बारम्बार ‘आई एम ब्याक, आई एम ब्याक’ भन्दै प्रतिक्रिया दिए। उनको त्यो अभिव्यक्तिलाई आलोचकप्रतिको प्रत्यक्ष जवाफका रूपमा हेरिएको छ।

खेलपछि रोनाल्डोले व्यक्तिगत कीर्तिमानभन्दा टोलीको सफलतालाई प्राथमिकता दिने आफ्नो पुरानो धारणा दोहोर्याए। ‘मैले आई एम ब्याक भन्नुको अर्थ आलोचकहरूले यो नबिर्सिऊन् कि म विगत २३ वर्षदेखि निरन्तर यस्तै स्तरमा खेलिरहेको छु। व्यक्तिगत कीर्तिमान महत्वपूर्ण हुन्छन्, तर मेरो मुख्य उद्देश्य सधैँ टोलीलाई जिताउनु हो,’ उनले भने।

यो खेलसँगै रोनाल्डोले पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि आफ्नो नाममा पारेका छन्। उनले पोर्चुगिज फुटबलका महान् खेलाडी युसेबियो को पुरानो कीर्तिमानलाई पछि पारे।

विश्व फुटबलमा पछिल्लो दुई दशकदेखि जारी रोनाल्डो–मेसी प्रतिस्पर्धाले फेरि नयाँ चर्चा पाएको छ। यसअघि प्रतियोगितामा लियोनेल मेसी, एर्लिङ हालान्ड र किलियन एमबाप्पे ले गोल गर्दै आफ्नो प्रभाव देखाइसकेका थिए। अब रोनाल्डोले पनि इतिहास रच्दै आफू अझै विश्व फुटबलको शीर्ष स्तरमै रहेको सन्देश दिएका छन्।

पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेज ले रोनाल्डो र मेसीबीचको प्रतिस्पर्धाले फुटबललाई नै नयाँ उचाइमा पु¥याएको बताए। ‘रोनाल्डो राष्ट्रिय टोलीका लागि एउटा प्रतीक हुन्। मैदानभित्र मात्र होइन, ड्रेसिङ रूममा पनि उनी आदर्श पात्र हुन्। गोल मात्रै होइन, उनले सिर्जना गर्ने अवसर र टोलीमा दिने नेतृत्व पनि उत्तिकै महत्वपूर्ण छ,’ मार्टिनेजले भने।

उनले रोनाल्डोको क्षमतामाथि आफूले कहिल्यै शंका नगरेको पनि बताए। ‘उनी पनि सामान्य मानिस हुन् र भावना व्यक्त गर्न सक्छन्। तर, मैले काम गरेका खेलाडीहरूमध्ये उनीजस्तो हरेक दिन अझ धेरै मेहनत गर्न तयार रहने खेलाडी निकै कम छन्,’ उनले थपे।

उज्बेकिस्तानका प्रशिक्षक तथा सन् २००६ मा इटालीलाई विश्वकप जिताएका पूर्वकप्तान फाबियो कानाभारो ले पनि रोनाल्डोको व्यावसायिकता र गोल गर्ने क्षमताको प्रशंसा गरे। ‘रोनाल्डोविरुद्ध खेल्दा एक सेन्टिमिटर पनि ठाउँ दिनु हुँदैन। अवसर पाए भने उनले गोल गरिहाल्छन्। उनी अत्यन्तै व्यावसायिक खेलाडी हुन्,’ कानाभारोले भने।

विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले समेत रोनाल्डोको ऐतिहासिक उपलब्धिप्रति बधाई दिएका छन्। मंगलबारको प्रदर्शनसँगै रोनाल्डोले अर्को उमेरसम्बन्धी कीर्तिमान पनि आफ्नो नाममा लेखाए। ४१ वर्ष १३८ दिनको उमेरमा गोल गर्दै उनी विश्वकप इतिहासमा दोस्रो सबैभन्दा बढी उमेरमा गोल गर्ने खेलाडी बने। यो सूचीमा शीर्ष स्थान भने क्यामरुनका रोजर मिला का नाममा छ, जसले ४२ वर्ष ३९ दिनको उमेरमा विश्वकप गोल गरेका थिए।

यो खेल रोनाल्डोको २४औं विश्वकप खेलसमेत थियो। उनीभन्दा बढी विश्वकप खेल्ने खेलाडीमा मेसी (२८ खेल) र जर्मनीका लोथार म्याथ्याउस मात्र छन्। रोनाल्डोको पहिलो विश्वकप गोल सन् २००६ मा आएको थियो भने पछिल्लो गोल २०२६ मा। दुई गोलबीचको २० वर्ष ११ दिनको दूरी विश्वकप इतिहासकै दुर्लभ उपलब्धिमध्ये एक हो, जुन कीर्तिमान उनले मेसीसँग साझेदारी गरेका छन्।

कहिल्यै नरोकिने गोलको भोक, दुई दशकभन्दा लामो निरन्तरता र कीर्तिमानमाथि कीर्तिमान थप्ने क्षमताले रोनाल्डो फेरि एकपटक प्रमाणित गरेका छन—उमेर बढ्न सक्छ, तर महानताको मापन उमेरले होइन, प्रदर्शनले गर्छ। ह्युस्टनको रात त्यसैको अर्को प्रमाण बन्यो, जहाँ ४१ वर्षे स्ट्राइकरले दुई गोल मात्र गरेनन्, आलोचकलाई लक्षित गर्दै विश्व फुटबललाई फेरि सुनाए—‘आई एम ब्याक।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट