ट्राफिक प्रहरीले अब हात मिलाउन नपाउने, ‘नमस्कार’ मात्र गर्न निर्देशन
काठमाडौँ– ट्राफिक प्रहरीले अब ड्युटीका क्रममा सवारी चालक तथा अन्य सेवाग्राहीसँग हात मिलाउन नपाउने भएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस्तो निर्देशन जारी गरेको हो।
असार ९ गते जारी गरेको परिपत्रमार्फत ड्युटीमा खटिएका ट्राफिक प्रहरी कर्मचारीलाई सवारी चालक तथा अन्य सेवाग्राहीसँग हात नमिलाउन र टाढैबाट ‘नमस्कार’ गरेर सम्मान गर्न निर्देशन दिएको छ।
कार्यालयका एसपी नरेशराज सुवेदीद्वारा जारी पत्रमा ट्राफिक प्रहरीको चेकजाँच तथा अन्य ड्युटीका क्रममा सेवाग्राहीसँग हात मिलाएका दृश्यबारे सामाजिक सञ्जाल र आम नागरिकबाट विभिन्न गुनासा प्राप्त भएको उल्लेख गरिएको छ।
परिपत्रमा भनिएको छ, ‘अब उप्रान्त कुनै पनि ट्राफिक प्रहरी कर्मचारीहरूले ड्युटीको समयमा सवारी चालक लगायत अन्य सेवाग्राहीहरूसँग हात मिलाउने कार्यलाई पूर्ण रूपमा अस्वीकार गरी टाढैबाट नमस्कार मात्र भनी सम्मान गर्न–गराउन हुन निर्देशानुसार अनुरोध गरिएको छ।’
पछिल्लो समय ट्राफिक प्रहरी र चालकबीच हात मिलाउने दृश्यलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी र आशंका व्यक्त भइरहेका थिए। कतिपयले यसलाई सामान्य अभिवादनका रूपमा लिएका थिए भने केहीले ट्राफिक चेकजाँचको निष्पक्षतामाथि प्रश्न उठाउने आधार बन्न सक्ने तर्क गरेका थिए।
यही पृष्ठभूमिमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्पष्ट कार्यनिर्देशन जारी गर्दै ड्युटीका क्रममा ट्राफिक प्रहरी र सेवाग्राहीबीचको औपचारिक दूरी कायम राख्न खोजेको देखिएको छ।


