प्रेमीसँगको योजनामा भिरबाट धकेलेर हुनेवाला पतिको हत्याः शोकमा डुबेको भ्रम छर्दैथिईन आरोपित युवती

राजविराज– भारतको महाराष्ट्रमा एउटा प्रेम सम्बन्ध, एउटा तय भइसकेको विवाह र एउटा मृत्युले यतिबेला देशव्यापी बहस जन्माएको छ। हुनेवाला श्रीमान् अचानक भीरबाट खसेर मर्छन्, मंगेतर (हुनेवाला श्रीमती) शोकमा देखिन्छिन्, तर अनुसन्धान अगाडि बढ्दै जाँदा कथाले यस्तो मोड लिन्छ कि प्रहरीदेखि सर्वसाधारणसम्म सबै चकित पर्छन्।

प्रहरीका अनुसार हुनेवाला पतिको मृत्यु भएको खबरले भावविह्वल बनेकी युवतीले नै योजनाबद्ध रूपमा हत्या गरेको लगभग पुष्टि भएको छ। बयानका क्रममा उनले आफ्नो संलग्नता स्वीकार गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। युवतीले आफ्नै प्रेमीसँग मिलेर विवाह हुनुअघि नै हुनेवाला पतिको ज्यान लिने षड्यन्त्र रचेको प्रमाणहरू फेला परेको प्रहरीको दाबी छ।

१८ जुनमा लोनावलास्थित ऐतिहासिक लोहगढ किल्लामा हुनेवाला श्रीमती सिया गोयलसँग घुम्न गएका २६ वर्षीय रियल स्टेट व्यवसायी केतन अग्रवालको मृत्यु भयो। अग्रवालको मृत्यु सुरुमा दुर्घटना मानिएको थियो। तर डिजिटल प्रमाण, सम्बन्धका गोप्य पाटा र अनुसन्धानबाट खुलेका तथ्यहरूले घटनालाई भारतकै चर्चित हत्या प्रकरणमध्ये एकमा परिणत गरिदिएको छ।

पुणे प्रहरीका अनुसार अग्रवालको मृत्युलाई प्रारम्भमा ट्रेकिङका क्रममा भएको दुर्घटना मानिएको थियो। घटनास्थलको अवस्था र प्रारम्भिक विवरणका आधारमा त्यसबेला कुनै आपराधिक कोण देखिएको थिएन। तर अनुसन्धान अघि बढ्दै जाँदा प्रहरीले घटनालाई योजनाबद्ध हत्या भएको निष्कर्ष निकालेको छ।

यस प्रकरणमा केतनकी हुनेवाला पत्नी सिया गोयल र उनका प्रेमी चेतन चौधरी पक्राउ परिसकेका छन्। दुवैमाथि मिलेमतोमा हत्या गरेको आरोप छ। अनुसन्धानका क्रममा प्रहरीले सियाका भाइ साहिल गोयलसँग समेत लामो सोधपुछ गरेको थियो।

साहिलले प्रहरीलाई दिएको बयानअनुसार उनलाई केही महिनाअघि नै सिया र चेतनबीचको प्रेम सम्बन्धबारे जानकारी थियो। सियाको केतनसँग इन्गेजमेन्ट भइसकेको अवस्थामा उनले बहिनीलाई चेतनसँगको सम्बन्ध अन्त्य गर्न र विवाहबारे स्पष्ट निर्णय लिन सुझाव दिएको बताएका छन्। तर घटनाक्रम त्यस दिशामा अघि बढेन।

अनुसन्धानमा अर्को चकित पार्ने पक्ष पनि बाहिर आएको छ। प्रहरी स्रोतहरूका अनुसार इन्गेजमेन्टपछि सियाले केतनले वास्तविक कपाल नभई विग अथवा हेयर प्याच प्रयोग गर्ने गरेको थाहा पाएकी थिइन्। त्यसपछि उनी विवाहप्रति असन्तुष्ट बन्दै गएको आरोप अनुसन्धानमा उल्लेख छ।

यद्यपि, केतनका परिवारले यो दाबी अस्वीकार गरेका छन्। उनीहरूका अनुसार विवाहको कुरा अघि बढाउने क्रममा नै केतनको हेयर ट्रीटमेन्ट र हेयर प्याच प्रयोगबारे जानकारी सिया पक्षलाई दिइएको थियो। त्यसैले अहिले उठाइएको विषयलाई परिवारले वास्तविक कारण मान्न अस्वीकार गरेको छ।

घट्ना विवरण के हो ?
महाराष्ट्रको पुणे जिल्लाअन्तर्गत लोनावला नजिक रहेको ऐतिहासिक लोहगढ किल्लामा १८ जुनको बिहान सबै कुरा सामान्य देखिन्थ्यो। आफ्नो मंगेतर सिया गोयलसँग घुम्न पुगेका २६ वर्षीय व्यवसायी केतन अग्रवाल केही घण्टापछि करिब ४ सय फिट गहिरो खाडलमा मृत अवस्थामा भेटिनेछन् भन्ने कल्पना कसैले गरेको थिएन।

सुरुवाती विवरणअनुसार फोटो खिच्ने क्रममा खुट्टा चिप्लिएर उनी भीरबाट खसेको बताइएको थियो। प्रहरीले पनि घटनालाई सामान्य ट्रेकिङ दुर्घटनाकै रूपमा हेरेको थियो। तर घटनापछि केतनका परिवारले उठाएका प्रश्नहरूले अनुसन्धानको दिशा नै बदलिदियो। परिवारको दाबी थियो— अनुभवी ट्रेकर रहेका केतन सामान्य असावधानीका कारण त्यति ठूलो दुर्घटनामा पर्ने व्यक्ति थिएनन्। यही शंकापछि प्रहरीले घटनास्थल, मोबाइल डेटा, सीसीटीभी फुटेज र सम्बन्धित व्यक्तिहरूको गतिविधिमाथि गहिरो अनुसन्धान सुरु ग¥यो।

अनुसन्धानले क्रमशः एउटा फरक कथा उजागर गर्न थाल्यो। प्रहरीका अनुसार केतनकी मंगेतर सिया गोयल र उनका कथित प्रेमी चेतन चौधरीबीच प्रेम सम्बन्ध थियो। विवाह नजिकिँदै जाँदा केतन उनीहरूको सम्बन्धमा बाधक बनेको निष्कर्षमा पुगेपछि दुवैले हत्या योजना बनाएको आरोप छ।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार घटनाको दिन सिया केतनसँग लोहगढ पुगेकी थिइन् भने चेतन छुट्टै किल्ला क्षेत्रमा उपस्थित थिए। मौका मिल्नेबित्तिकै दुवैले मिलेर केतनलाई भीरबाट धकेलेको आरोप अनुसन्धानमा उल्लेख गरिएको छ।

प्रहरीका अनुसार केतनालाई मार्ने उनिहरुको यो पहिलो प्रयास थिएन। अनुसन्धानमा दुवैले यसअघि पनि लोहगढ क्षेत्रमै केतनलाई मार्ने प्रयास गरेको आशंका छ। एक पटक त भीरबाट खस्न लाग्दा केतनले झाडी समातेर आफूलाई बचाएको र घटनालाई दुर्घटनाको रूपमा ढाकछोप गरिएको दाबी समेत सार्वजनिक भएको छ।

घटनापछि सियाले प्रहरीलाई केतन फोटो खिच्ने क्रममा चिप्लिएर खसेको बयान दिएकी थिइन्। तर सीसीटीभी फुटेज, मोबाइल लोकेसन, डिजिटल सम्पर्क र अनुसन्धानका क्रममा फेला परेका अन्य प्रमाणहरूले उक्त दाबीमाथि प्रश्न उठाएको बताइएको छ।

करिब डेढ हजार वर्ष पुरानो इतिहास बोकेको, ट्रेकिङ र पर्यटनका लागि चर्चित लोहगढ किल्ला अहिले भने प्रेम, विश्वासघात र योजनाबद्ध हत्याको आरोपसँग जोडिएको घटनाका कारण भारतभर चर्चाको केन्द्र बनेको छ। एक समय प्रेमपूर्वक तय गरिएको विवाहको गन्तव्य मानिएको सम्बन्ध अन्ततः एउटा भीषण आपराधिक अनुसन्धानमा परिणत भएको छ।

अनुसन्धानको अर्को महत्वपूर्ण पाटो डिजिटल प्रमाण बनेको छ। लोनावला डिभिजनका प्रहरी उपाधीक्षक गजानन टोनपेले आरोपीहरूले अपराधअघि र अपराधपछि मोबाइलबाट व्हाट्सएप च्याट हिस्ट्री मेटाएको बताएका छन्। प्रमाण नष्ट गर्ने उद्देश्यले रिसाइकल बिनसमेत खाली गरिएको अनुसन्धानबाट खुलेको छ।

यसपछि प्रहरीले दुवै आरोपीका मोबाइल फरेन्सिक परीक्षणका लागि पठाएको छ। डिलिट गरिएका च्याट, कल विवरण र अन्य डिजिटल गतिविधि पुनः प्राप्त गर्ने प्रयास भइरहेको छ। अनुसन्धान अधिकारीहरूका अनुसार घटनाको वास्तविक योजना र भूमिकाबारे स्पष्ट चित्र डिजिटल प्रमाणबाटै आउन सक्ने अपेक्षा गरिएको छ।

हाल हिरासतमा रहेका सिया र चेतनले एकअर्कामाथि दोषारोपण गरिरहेका छन्। यही कारण अनुसन्धान टोलीले मौखिक बयानभन्दा बढी प्राविधिक र फरेन्सिक प्रमाणमा जोड दिएको छ। सरकारले यो मुद्दालाई फास्ट–ट्रयाक अदालतमार्फत अघि बढाउने निर्णय गरेको छ। चर्चित सरकारी वकिललाई विशेष लोक अभियोजक नियुक्त गरिएको छ।

तर यो प्रकरण केवल एउटा हत्या अनुसन्धानमा सीमित छैन। सामाजिक सञ्जालदेखि टेलिभिजन बहससम्म अहिले एउटै प्रश्न उठिरहेको छ— यदि विवाह गर्ने चाहना थिएन भने युवतीले सम्बन्ध अन्त्य गर्न किन सकिनन् ? किन एउटा जीवन नै समाप्त पार्ने बाटो रोजियो ?

मनोवैज्ञानिकहरूका अनुसार यस्ता घटनालाई केवल अपराधको दृष्टिले मात्र बुझ्न पर्याप्त हुँदैन। सम्बन्धभित्रको भावनात्मक दबाब, पारिवारिक अपेक्षा, असुरक्षा, आसक्ति र मानसिक अवस्थाले कहिलेकाहीँ मानिसलाई चरम निर्णयतर्फ धकेल्न सक्छ। तर कुनै पनि परिस्थिति हत्या जस्तो अपराधको औचित्य बन्न नसक्ने उनीहरूको स्पष्ट धारणा छ।

अहिलेसम्मको अनुसन्धानले एउटा कुरा भने स्पष्ट बनाएको छ— दुर्घटना ठानिएको एक मृत्युले प्रेम, विश्वास, गोप्य सम्बन्ध, डिजिटल प्रमाण र योजनाबद्ध अपराधको जटिल कथामा रूप लिएको छ। अब केतन अग्रवालको मृत्युको अन्तिम सत्य अदालतमा प्रस्तुत हुने प्रमाण, फरेन्सिक प्रतिवेदन र न्यायिक प्रक्रियाबाट मात्रै स्थापित हुनेछ।

तर १८ जुनमा लोहगढ किल्लाको भीरमा भएको त्यो एक मृत्युले आधुनिक सम्बन्ध, तय विवाह, व्यक्तिगत स्वतन्त्रता, गोप्य प्रेम सम्बन्ध र अपराधबीचको सीमारेखाबारे भारतभर नयाँ बहस सुरु गरिसकेको छ। अहिलेको सबैभन्दा ठूलो प्रश्न भने अझै बाँकी छ— के यो साँच्चै प्रेमको अन्त्य थियो, कि प्रेमकै नाममा रचिएको एउटा योजनाबद्ध अपराध ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट